NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

विश्व स्तब्ध पार्ने जापानको त्यो घटना, जसका दोषीले पाए १४ वर्षपछि मृत्युदण्ड

काठमाडौं (एजेन्सी) । भीडमा अन्धाधुन्ध ट्रक र चक्कु चलाएर ७ जनाको ज्यान लिने वर्षौंअघिको घटनामा संलग्न युवकलाई जापानमा मृत्युदण्ड दिइएको छ ।

सन् २००८ मा जापानको आखिहबरको किनमेल क्षेत्रको अति व्यस्त सडकमा ट्रकले किचेर तथा चक्कुले प्रहार गरेर अति क्रुर हत्या श्रृंखला चलाएका तोमोहिरो कातो नामक ३९ वर्षीय युवकलाई मंगलबार मृत्युदण्ड दिइएको हो ।

जापानी सञ्चारमाध्यमहरूका अनुसार, टोकियोको हिरासत केन्द्रमा मंगलबार उनलाई मृत्युदण्ड दिइएको हो ।

टोकियोको जिल्ला अदालतले सन् २०११ मा अक्षम्य अपराध गरेको ठहरसहित कातोलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाले आफूमाथि न्याय नगरेको भन्दै कातोले पुनरावेदन गरेका थिए । तर सन् २०१५ मा पनि उस्तै प्रकृतिको फैसला अदालतले गरिदियो ।

अन्तर्राष्ट्रिय र स्थानीय मानवअधिकार समूहहरूको व्यापक आलोचनाबीचम जापान अझै पनि मृत्युदण्डको सजाय प्रयोग गर्ने केही विकसित देशहरूमध्ये एक हो।

गत डिसेम्बरमा मात्रै जापाले तीन जनालाई मृत्यु दण्डको सजाय दिएको थियो । बिबिसीका अनुसार, जापानमा अझै १०० जना कैदी मृत्युदण्डको प्रतीक्षामा छन् ।

सन् २०२२ मा जापानले दिएको यो पहिलो मृत्युदण्ड हो ।

यस्तो थियो विश्वलाई नै स्तब्ध बनाउने घटना

कातोले आजभन्दा १४ वर्षअगाडि सामूहिक हत्याको श्रृंखला चलाएका थिए जुन जापानको इतिहासकै क्रुर घटनामध्ये एक मानिन्छ ।

घटनाको समयमा २५ वर्षका कातोले सुरुमा पैदल यात्रीले भरिएको आखिहबरको सपिङ क्षेत्रमा ट्रक चलाएर तीन जनाको ज्यान लिएका थिए । सन्की कातो त्यतिमै रोकिएनन्, चक्कु लिएर ट्रकबाट झरे र सडक पार गरिरहेकामाथि जाइलागे । जुन प्रहारबाट तीन जनाको ज्यान गयो भने आठ जना घाइते भए ।

घटनापछि उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । कानूनी दायरामा आएपछि उनले प्रहरीसमक्ष दिएको बयान आश्चर्यजनक थियो । उनले भनेका थिए –अनलाइन बुलिङले मलाई क्रुद्ध पारेको थियो । त्यही आक्रोसका कारण यस्तो अपराध हुनपुग्यो ।’

उनको अपराधपछि जापानी समाजमा बढ्दो हत्या, अनलाइनको कूप्रभाव र युवाको मानसिक स्वास्थ्य समस्याको सहयोगमा देखिएको राज्यको असफलतामाथि ठूलो बहस सिर्जना भएको थियो ।

यो घटनापछि चक्कुको स्वामित्वसम्बन्धी कानून पनि कडा बनाइएको थियो ।