NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कांग्रेसलाई बहुमत पुग्न नदिन के–के गर्दैछन् प्रचण्ड र नेपाल ?

एउटै चुनाव चिह्नमा लड्नेसम्मको तयारी

काठमाडौं । सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले समाजवादी केन्द्र बनाउने गरी तयारीलाई तीव्रता दिएका छन् । सरकारले मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गर्ने तयारी गर्दै गर्दा गठबन्धनमै आवद्ध कांग्रेसका बाहेकका दल अर्कै तयारीमा जुटेका हुन् ।

चुनाव अगावै समाजवादी र वामपन्थीबीच एकता वा गठबन्धन बनाउने गरी छलफल अगाडि बढेको माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिए । गजुरेलका अनुसार तत्काल माओवादी, एकीकृत समाजवादी, वामदेवको नेकपा एकता राष्ट्रिय अभियान र बाबुराम समूहको समाजवादी केन्द्र बनाउने सहमति भएको छ । तर यसले मूर्त रुप पाएको छैन ।

‘चुनावअघि समाजवादी केन्द्र बनाउनेगरी छलफलअघि बढेको छ । यसको मतलब कांग्रेससँग सहकार्य तोड्ने भनेको होइन । चुनावी तालमेलको विषयमा कांग्रेसले कस्तो प्रस्ताव ल्याउँछ, त्यो हेर्न बाँकी छ’, उनले भने, ‘माओवादी र एकीकृत समाजवादीबीच सहकार्य र एकता गरेर जाउँ भन्ने विषयमा छलफल सकारात्मक छ । समाजवादी केन्द्र बनाउने विषयमा बाबुराम र वामदेव सकारात्मक छन् । समाजवादी केन्द्र बनाउने विषयमा उपेन्द्रजीसँग पनि छलफल भइरहेको छ । केही दिनमा हामी निष्कर्षमा पुग्ने छौं ।’

साउन ३ गते माओवादी केन्द्रको संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको शीर्ष नेताहरूको बैठकमा प्रचण्डले समाजवादी केन्द्र बनाउने प्रस्ताव राखेका थिए । प्रचण्डको प्रस्तावमा माधव नेपाल, झलनाथ खलान, वामदेव गौतमले सहमति जनाएका थिए । शीर्ष नेताबीचको बैठकअघि प्रचण्डले जसपाबाट निष्कासित नेता बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।

लगत्तै साउन ५ मा ललितपुरमा आफ्नै नातेदारको घरमा प्रचण्डले भट्टराईसँग भेट गरी निर्वाचनअघि पार्टी एकताको प्रस्ताव राखेका थिए । प्रचण्डको प्रस्तावप्रति सकारात्मक देखिएका भट्टराई अहिले पार्टी पुनर्गठनको तयारीमा रहेका छन् । यसअघि निर्वाचन आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम र विधान संशोधन गरी नेकपा समाजवादी पार्टी गठन गर्न लागेका छन् । भट्टराई समूहका अधिकांश नेताहरूले माओवादीसँग मिलेर जान दबाब दिएका छन् ।

सम्भव भएसम्म तीन पार्टीबीच एकताको प्रयास गर्ने र तत्काल एकता सम्भव नभए एकता वा तालमेल संयोजन समिति बनाएर निर्वाचनमा जाने गरी छलफल भएको नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

‘हामी अहिले पार्टी पुनगर्ठनको तयारीमा छौं । एउटै समाजवादी केन्द्र बनाएर जाने विषयमा कसैको दुईमत छैन’, श्रेष्ठले भने, ‘यसै विषयमा निर्णय लिन हामीले छिट्टै भेला बोलाउँछौं । नेकपा समाजवादी गठन भएपछि एकता वा सहकार्य के हुने विषयमा टुंगो लाग्नेछ ।’

नेकपा एकताका लागि अभियान चलाएका गौतम तत्काल एमालेसहितको वामपन्थी एकताको सम्भावना नदेखेपछि एमालेबाहेको वामपन्थीबीच एकताका लागि निकै सक्रिय रहेका छन् । सोमबार साँझ प्रचण्डलाई भेट्न खुमलटार पुगेका गौतमले समाजवादी केन्द्र बनाउने विषयमा गम्भीर छलफल गरेका छन् ।

सोमबार दुई शीर्ष नेताबीच गम्भीर छलफल भएको छ । चुनावअघि नै माओवादी, एकीकृत समाजवादी र हाम्रो पार्टीबीच एकता वा सहकार्य गर्ने विषयमा भेटवार्ता सकारात्मक छ’, गौतमका स्वकीय सचिव दीपक टमटाले भने, ‘वामपन्थी र समाजवादीबीच एकता आवश्यक रहेको दुवै नेताले महशुस गर्नुभएको छ । समाजवादी केन्द्र बनाउने विषयमा प्रचण्ड, माधव, बाबुरामलगायत नेताहरू सकारात्मक देखिएका छन् ।’
एमालेबाहेकका वामपन्थीबीचमा एउटै समाजवादी केन्द्र बनाउने विषयमा छलफल सकारात्मक भएको एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ बताउँछन् ।

‘कांग्रेससँग सिट बाँडफाँटअघि नै समाजवादी केन्द्र बनाउने विषयमा माओवादी र हामी सकारात्मक छौं । कांग्रेस कसरी प्रस्तुत हुन्छ, त्यो उसको विषय हो । सरकारमा सहभागी वामपन्थी दलहरूबीच एकता वा चुनावी सहकार्यको विषयमा निष्कर्षमा पुग्छौं’, श्रेष्ठले भने ।
समाजवादी केन्द्र बनाउने विषयमा जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको माओवादीका नेता गजुरेलको भनाइ छ । पार्टीबाट बाबुराम समूह अलग्एिपछि यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने तयारीमा यादव रहेका छन् । एउटै समाजवादी केन्द्र बनाउनेसम्म नपुगेपनि आगामी निर्वाचनमा सत्तापक्षभित्रै समाजवादी गठबन्धन बनाएर जान यादव सकारात्मक रहेको उनी निकट एक नेताको भनाइ छ ।

‘वामपन्थी र समाजवादी शक्तिबीच एकता नभएपनि गठबन्धन गरेर जान हामी सकारात्क छौं’, यादव निकट एक नेताले भने, ‘अहिले हामी पार्टी पुनर्गठनको तयारीमा रहेकाले यस विषयमा कुनै निष्कर्षमा पुगेका छैनौं । एकता नभएपनि समाजवादी गठबन्धन बनाउन हामी सकारात्मक छौं ।’

एउटै चिन्हबाट चुनाव लड्ने तयारी

प्रचण्ड, माधव, भट्टराई र वामदेवबीच आगामी निर्वाचनमा एउटै चिन्हबाट चुनाव लड्नेबारे घनिभूत छलफल भएको छ । अघिल्लो निर्वाचनमा माओवादी आफ्नै चुनाव चिन्ह गोलाकारभित्र हँसिया हथौडा लिएर निर्वाचन लडेका थिए । माधव र वामदेव एमालेबाटै सूर्य चिन्हबाट चुनाव लडेका थिए । स्थानीय तहमा एकीकृत समाजवादीले कलम चिन्हबाट निर्वाचनमा भाग लिएका थिए । वामदेवले निर्वाचनमा भाग नै लिएनन् । भट्टराईले जसपाको छाता चिन्हबाट चुनावमा भाग लिएका थिए । शीर्ष नेताहरूको छलफलमा आगामी निर्वाचनमा समाजवादी केन्द्रको साझा चिन्ह बनाउने विषयमा छलफल भएको चार वटै पार्टीका नेताहरूले स्वीकार गरेका छन् ।

‘साझा चुनाव चिन्हको विषयमा शीर्ष नेताहरूबीच छलफल भएको छ । गठबन्धनबीच आ–आफ्नै चुनाव चिन्ह लिएर जाँदा समस्या देखियो । मतदाताहरू अलमलिएर धेरै मत बदर भएका छन्’, माओवादीका नेता गजुरेलले भने, ‘अब यस्तो कमजोरी नदोहोर्याउन आगामी निर्वाचनमा एउटै चिन्ह लिएर जान्छौं । माओवादीकै चुनाव चिन्ह लिने वा कुनै एक साझा चिन्न लिने भन्नेमा छलफल जारी छ ।’

गठबन्धन दलहरूमध्ये माओवादीले प्रयोग गरेको चुनाव चिन्न लोकप्रिय रहेकाले त्यही चिन्ह लिएर जान पनि सकिने एकीकृत समाजवादीका एक नेताले बताए । माओवादीले प्रयोग गरेको चिन्हमा एकीकृत समाजवादी, बाबुराम समूह र वामदेव समूह पनि सकारात्मक देखिएको गजुरेलेको भनाइ छ ।

कांग्रेसलाई बहुमत ल्याउन नदिने रणनीति

स्थानीय तहको निर्वाचबाट ३२९ सिट जितेर सत्ता नेतृत्वकर्ता दल कांग्रेस हौसिएको छ । यसैले संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन बनाएर जाने र आफूलाई पहिलो दल बनाउने निर्णय उसले गरिसकेको छ । संघ र प्रदेशको निर्वाचनमा गठबन्धनको सहयोगमा बहुमत ल्याउने रणनीति कांग्रेसको छ । आगामी निर्वाचनमा १६५ मध्ये ६० प्रतिशत सिट आफूसँग राखेर ४० प्रतिशत सिट गठबन्धनका अन्य दललाई दिन तयार देखिएको छ । तर कांग्रेसको रणनीतिबाट तर्सिएका प्रचण्ड–माधवले आगामी निर्वाचनमा बहुमत ल्याउन नदिने गरी सिट बाँडफाँटअघि नै समाजवादी केन्द्र बनाएर कांग्रेसलाई दबाब दिने रणनीति बनाएका छन् ।

गठबन्धनको सहयोगमा कांग्रेसले बहुमत ल्याए आगामी दिनमा अफूहरूको राजनीति सकिने त्रास प्रचण्ड–माधवमा देखिएको छ । माओवादी, नेकपा एसभित्रै कांग्रेससँग भन्दा पनि एमालेसँगै चुनावी तालमेल गर्न दबाब दिइरहेका छन् । वामदेवले त कांग्रेसले बहुमत ल्याए नेपालको कम्युनिष्ट आन्दोलन नै समाप्त हुने चेतावनी दिएका छन् । सिट बाँडफाँट अघि नै वामपन्थी र समाजवादी शक्तिबीच एकता वा गठबन्धन बनाउन सकिए कांग्रेसलाई गलाउन सकिने निष्कर्षमा उनीहरू पुगेका छन् । यद्यपि कांग्रेसले समाजवादी केन्द्र गठनबारे आधिकारिक धारणा सार्वजनिक नगरेपनि नेता रामचन्द्र पौडेलले प्रचण्ड–माधवको गतिविधिप्रति शंका व्यक्त गरेका छन् ।

‘कम्युनिष्टहरू मिलेर कांग्रेसलाई एक्ल्याउने तयारी भइरहेको छ । कांग्रेसलाई एक्ल्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागिपरेका छन् । यसमा कांग्रेस सचेत हुन जरुरत छ ।’, गतहप्ता काठमाडौंको एक कार्यक्रममा पौडेलले भनेका थिए ।

स्थानीय तहको निर्वाचनपछि कांग्रेस ठूलो दलमा स्थापित भएपछि कांग्रेसको घमण्ड बढ्दै गएको प्रचण्ड–माधवको बुझाइ छ । माधव नेपालले त हाम्रै ढाडमा टेकेर कांग्रेसले हामी माथि नै बुर्कुसी मार्ने डर भएको अभिव्यक्ति दिएका छन् ।

आगामी राजनीतिक भविष्यलाई लिएर तनावमा रहेका प्रचण्ड–माधव कांग्रेस र एमालेलाई बहुमत आउन नदिने गरी शक्ति सञ्चय गरी सत्ताको साँचो आफ्नै हातमा लिने रणनीति छन् । समाजवादी केन्द्र बनाएर चुनावी तालमेल कांग्रेस वा एमालेसँग गर्दा बढीभन्दा बढी सिट हत्याउने रणनीति उनीहरूको छ । एक्लाएक्लै बार्गेनिङ गर्दा कमजोर भइने डरले उनीहरूले केन्द्र बनाएर दबाब बढाउने रणनीति लिएका हुन् ।