NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

वडाध्यक्षले पाएको मतमा एमालेभन्दा कांग्रेस लोकप्रिय, कुन दलले कति मत ल्याए ?

काठमाडौं । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडागत तहमा कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ ।

मंगलबार निर्वाचन आयोगले मतपरिणामको दलगत स्थितिबारे सार्वजनिक गरेको प्रतिवेदन अनुसार कांग्रेसले लोकप्रिय मत बढी ल्याएको हो । खसेको सदर मत १ करोड १५ लाख ४० हजार ३८ मध्ये कांग्रेसले ३४.२८ प्रतिशत मत प्राप्त गरेको छ । आयोगको विवरण अनुसार वडाध्यक्षमा कांग्रेसले पाएको जम्मा मत ३९ लाख ५६ हजार १९३ रहेको छ ।

दोस्रोमा रहेको एमालेले ३३.०३ प्रतिशत अर्थात् ३८ लाख ११ हजार ६०२ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले १५ लाख २ हजार २४७ मत पाएको छ । उसले जम्मा १३.०३ प्रतिशत मत पाएको छ ।

जनता समाजवादी पार्टीले ५ लाख ७७ हजार ३८० मत प्राप्त गरी चौंथो स्थानमा रहेको छ । समग्रमा उसले ५ प्रतिशत मत प्राप्त गरेको छ ।
एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी पाँचौं स्थानमा रहेको छ । उसले ४ लाख २२ हजार ७३७ मत अर्थात् ३.६६ प्रतिशत मत पाएको छ ।

त्यस्तै छैटौंमा राप्रपाले ३.१६ प्रतिशत मत प्राप्त गरेको छ । लोसपा २.१२ प्रतिशत र सिके राउतको जनमत पार्टीले १ प्रतिशत मत ल्याइ त्रमशः सातौं र आठौं स्थानमा रहेको छ । त्यस्तै नेमकिपा ०.४२ मत ल्याइ नवौं र राष्ट्रिय जनमोर्चाले ०.३५ मत ल्याएर १० औं स्थानमा रहेको छ ।