NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

झुट्टो प्रतिवेदन बुझाएर जनप्रतिनिधि र कर्मचारीबाट राज्यकोषको २३ लाखभन्दा बढी रकम भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टो प्रतिवेदन बुझाएर राज्यकोषबाट २३ लाख भन्दा बढी भ्रष्टाचार गर्ने जनप्रतिनिधि र कर्मचारीविरूद्ध मुदा दायर गरेको छ । मुगुका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कुलो निर्माणका क्रममा २३ लाख १० हजार पाँच सय ९६ रूपैयाँ हिनामिना भएको पाइएको हो ।

आयोगले कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा, सब इन्जिनियर राजेन्द्र शाही, तत्कालीन ना.प्रा.स.मणिचन्द्र बिक, जिल्ला समिति मुगुका तत्कालीन खरिदार विश्वास उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजसवाल, कोषाध्यक्ष उजेली नेपाली, सहसचिव सुरेश बुढा, वडा नं १० का तत्कालीन अध्यक्ष धर्मदत्त सावतविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरूबाट आयोगले २३ लाख १० हजार पाँच सय ९६ रूपैयाँ बिगो माग दाबी गरेको छ ।

आयोगका अनुसार मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिंचाई कुलो निर्माणका लागि कृषि विकास कार्यालयबाट बजेट विनियोजन भएको थियो । बजेटमा उपभोक्ता समिति र कृषि विकास कार्यालय, मुगुका कर्मचारीहरूसमेतको मिलेमतोमा भ्रष्टाचार भएको उजुरी परेको थियो । सोही उजुरीमा अनुसन्धान हुँदा उक्त कार्यमा भ्रष्टाचार भएको पाइएको हो ।

रकम असुल्न कसले के गरे ?

अनुसन्धानका क्रममा निमित्त कार्यालय प्रमुख बुढा र सब इन्जिनियर शाहीले आयोजनाको यथार्थ नापजाँच गर्नुको साटो रकम असुल्नका लागि झुट्टो प्रतिवेदन तयार पारेको पाइयो । त्यस्तै कृषि विकास कार्यालय मुगुका तत्कालिन ना.प्रा.स. बि.क र जिल्ला समन्वय समिति मुगुका तत्कालिन खरिदार उपाध्यायले आयोजनाको यथार्थ नापँजाँचको जिम्मा पाएका थिए ।

तर, उनीहरूले यथार्थ कार्य मूल्यांकनभन्दाविपरित तथ्य लुकाएर प्रतिवेदन पेश गरेको पाइएको छ ।

अर्कोतर्फ उपभोक्ता समितिका अध्यक्ष सेजुवाल, सचिव सेजुवाल, कोषाध्यक्ष नेपाली र सहसचिव बुढाले कृषि विकास कार्यालयसँग भएको सम्झौता भन्दा बढी पैसा असुल गरेका छन् । त्यस्तै रारा नगरपालिका वडा नं १० का तत्कालीन वडाध्यक्ष सावतले आयोजनाको मूल्यांकन अनुसारको काम भएको छ या छैन भन्नेबारे जानकारी नै लिएनन् । उपभोक्ता समितिको समलेमतोमा उनले हचुवाको भरमा योजनाको काम सम्पन्न भएको करार गर्दै भुक्तानी दिन सिफारिस गरेको पाइएको छ ।