NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

आयातमा प्रतिबन्ध लगाइएको इनर्जी ड्रिंक्स बजारमा छ्याप्छ्याप्ती

काठमाडौं । सरकारले आयात प्रतिबन्ध लगाएको रेडबुललगायत क्याफिनयुक्त पेय पदार्थ (इनर्जी ड्रिंक्स) अनधिकृत ढंगले नेपाल भित्राएर बिक्री–वितरण भइरहेको पाइएको छ । आयात प्रतिस्थापन गर्ने भन्दै सरकारले नेपालमा २०७६ सालदेखि नै रेडबुललगायतका क्याफिनयुक्त पेय पदार्थ (इजर्जी ड्रिक) आयात प्रतिबन्ध लगाउँदै आएको छ ।

सरकारले गत १३ वैशाखदेखि कुरकुरे, कुुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, जीप कार, मोटरसाइल खेलौना, तासलगायतका १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ, जुन अहिले पनि प्रतिबन्ध नै छ । यो कदमले विदेशी मुद्राको सञ्चितिमा आएको कमी सुध्रने र देशको उच्च व्यापार घाटा न्यूनीकरण हुने अपेक्षा थियो । तर खुला सीमा, फितलो भन्सार संयन्त्रलगायत अव्यवस्थापनका कारण क्याफिनयुक्त रेडबुल नेपालमा निर्वाध भित्रिरहेको छ । सरकारको निर्णयलाई चुनौती दिँदै रेडबुलको अनधिकृत कारोबार बजारमा भइरहे पनि राज्यका निकाय भने अनदेखा गरिरहेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता हरि पंगेनी आयात प्रतिबन्ध लगाइएको रेडबुल नेपाली बजारमा बिक्री वितरण भइरहेको स्वीकार गर्छन् । अनुगमनका क्रममा भेटिएका रेडबुल नियन्त्रणमा लिएर बिक्री–वितरणमा संलग्नमाथि कारबाही गरिरहेको पनि उनले बताए ।

आयात प्रतिबन्ध लगाइएका रेडबुललगायतका क्याफिनयुक्त पेयपदार्थ भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिँदा एक त देशको नियम–कानून कार्यान्वयनमा चुनौती थपिएको छ भने अर्कातिर राजस्वमा पनि गम्भीर असर परेको छ ।

‘प्रतिबन्धित वस्तु चोरी पैठारी भई नेपाल भित्रिँदा एकातिर राज्यले राजस्व गुमाएको छ भने अर्कातिर नेपाली पैसा विदेश गइरहेको छ,’ एक सरोकारवालाले भने ।

अवैध सामानको लेखाजोखा नहुने भएकाले कति मात्रामा, कुन नाका हुँदै रेडबुल भित्रियो भनेर अनुमान गर्न कठिन छ । तर जानकारहरू करोडौंको रेडबुल चोरबाटो हुँदै नेपाली बजारको पहुँचमा पुगेको बताउँछन् ।

नेपालमा थाइल्याण्ड, मलेसिया, भारतजस्ता देशबाट रेडबुल आयात हुने गरेको जानकारहरू बताउँछन् ।

बेखबर छ भन्सार विभाग

प्रतिबन्धित रेडबुललगायतका पेयपदार्थ नेपालमा बिनारोकटोक बिक्री वितरण भइरहे पनि भन्सार विभाग भने यसबारे बेखबर छ । यी पदार्थको आयातमा नै रोक लगाइएकाले भित्राउन सहज नभएको एकोहोरो रटान उसको छ ।

बजारमा रेडबुल छ्याप्छ्याप्ती बिक्री वितरण भइरहे पनि विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने आयात नै नभएको दाबी गरे । आयात प्रतिबन्ध लागेको वस्तु भन्सारबाट पास हुनै नसक्ने उनको भनाइ छ ।

‘आयात प्रतिबन्ध लागेको कुनै पनि वस्तु भन्सार विभागबाट आयात हुन सम्भव छैन,’ उनले भने, ‘विभागको तथ्यांकमा रेडबुल आयात भएको देखिन्नँ ।’

प्रतिबन्धित वस्तु अवैध रूपमा नेपाल भित्रिँदा सरकारलाई करोडौं रूपैयाँ घाटा पर्न जाने भएकाले नाकामा सुरक्षा व्यवस्था कडा पारिएको उनले दाबी गरे । यस्ता वस्तु भेटेको खण्डमा नियन्त्रणमा लिने गरेको जानकारी पनि उनले दिए ।

आयात प्रतिबन्ध लागेका वस्तुको एक त राजस्व लिन नपाउने र अर्को यस्ता वस्तु भन्सार नाका भएर आउँदै नआउने भैरहवा नाकाका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल बताउँछन् । फाट्टफुट्ट यस्ता अवैधानिक पैठारी भइरहे पनि यो निकै कम मात्रामा रहेको ठहर उनले सुनाए ।

‘भन्सार नाकाबाट वैधानिक रूपमा यस्ता प्रतिबन्धित वस्तुहरू आउँदै आउँदैनन् । बजारमा अनुगमन गर्दा आक्कलझुक्कल फेलापरेको छ भने त्यो अवैधानिक रूपमा भित्रिएको भनेर बुझुन्पर्छ,’ उनले भने, ‘हामीले पनि एक–दुईपटक त्यसरी ल्याएको थाहा पाएर कारबाहीको दायरामा लगेका थियौं ।’

उनका अनुसार, नेपाल खुला सिमाना भएको देश भएकाले भन्सार छलेर खुला नाका हुँदै प्रतिबन्धित रेडबुललगायतका पेयपदार्थ पैठारी हुनसक्छन् । यसरी पैठारी भइरहको छ भने यसको अनुगमन गर्ने अख्तियारप्राप्त सरकारी निकायले कारबाही गर्नुपर्ने उनले बताए । बजार अनुगमनको गर्ने क्षेत्राधिकार अहिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको छ ।

प्रतिबन्ध लगाएको वस्तु मात्रै नभएर भन्सार नाकाले हरेक वस्तुको चेकजाँचमा कडाइ गरेको उनले जानकारी दिए । ‘अवैधानिक वस्तु भित्रिएको छ भने त्यहीअनुसारको कारबाही गर्दै आएका छौं । भन्सार नाकामा हामी मात्रै नभएर नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएका हुन्छन् । सुरक्षाकर्मीले आकस्मिक र नियमित गस्ती गरिहेका हुन्छन्,’ उनले भने ।

अवैधानिक वस्तुको पैठरी रोक्न र थप व्यवस्थित बनाउन भन्सार कार्यालयले विभिन्न निकायसँग समन्वय गरिरहको उनले जानकारी दिए ।

भन्सार पास भइसकेपछि बजारमा अवैध वस्तु बिक्रीवितरण भइरहेको छ/छैन, त्यसको निगरानी गर्ने, अनुगमन गर्ने जिम्वेवारी भने विभागको नभएको सूचना अधिकारी खड्काले स्पष्ट पारे ।

नेपालमै उत्पादन भइरहेछ नक्कली रेडबुल

अहिले प्रतिबन्धित अन्तर्राष्ट्रिय ब्राण्ड रेडबुल आयात मात्रै भइरहेको छैन, यही नामसँग मिल्दोजुल्दो उत्पादन भइरहेका छन् । कानूनतः कुनै पनि उत्पादनको नामसँग जुधाएर उत्पादन गर्न पाइँदैन ।

तर अहिले बजारमा हेर्ने हो भने रेडबुलजस्तै देखिने फरक नामका विभिन्न ब्राण्डका क्याफिनयुक्त पेयपदार्थ उपलब्ध छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरण पोखरेल पनि नक्कली रेडबुल उत्पादन गरेर बिक्री भइरहको हुनसक्ने बताउँछन् । नेपालमा भन्सार नाका हुँदै अवैधानिक वस्तु पैठरी सहज नभएको जिकिर गर्दै उनी भन्छन्,‘बजारमा प्रतिबन्धित सामान बिक्रीवितरण भइरहको छ भने कि त अवैधानिक पैठारी भएको बुझ्नुपर्छ, कि त नक्कली रेडबुल उत्पादन गरेर बिक्री भइरहको हुनसक्छ ।’

विदेशबाट पनि रेडबुलको ठाउँमा अर्कै प्याकेजिङ भएर आएको हुनसक्ने उनले बताए । यस्तो गतिविधि भने निकै कम पाइएको उनको भनाइ छ । रेडबुलजस्ता पेयपदार्थ पैठारी गर्दा ठूलो रुपैयाँको भन्सार कर लाग्ने भएकाले पनि आयात गर्ने सम्भावना न्यून रहेको उनको दाबी छ । उनका अनुसार, थाइल्यण्डबाट भारत र भारतबाट नेपालसम्म आइपुग्दा एउटा रेडबुलको एक हजार रूपैयाँभन्दा बढी पर्न जाने अवस्था छ । ‘यति धेरै कर तिरेर नेपालमा रेडबुल भित्राउने सम्भावना निकै न्यून छ,’ उनी भन्छन् । भन्सारबाहेकको प्रयोग गरेर अन्यत्र ठाउँबाटै अवैध रुपमा भित्रिन्छ कि भनेर बेलाबेला बेलाबेला छापा मारिरहेको उनले भने ।

अनुगमनमा भेटे कारबाही गर्छौं : विभाग

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता पंगिनी क्याफिनयुक्त शक्तिबद्र्धक पेयपदार्थ आयात बन्द भएपनि नेपालमा अन्य पेयपदार्थ उत्पादन भने बन्द नभएको बताउँछन् । उनले भने, ‘विदेशमा उत्पादन भएको क्याफिनयुक्त इनर्जी ड्रिंग्स छ भने त्यसलाई प्रतिबन्ध गरिएको हो । नेपालमा उत्पादित पेयपदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाएको छैन ।’

विभागले विदेशबाट आयातीत सामान हो या होइन भनेर पसलहरूमा गएर अनुगमन गर्दै आएको छ । प्रवक्ता पंगिनी विदेशी क्याफिनयुक्त रेडबुललगायतका शक्तिबद्र्धक पेयपदार्थ भेटेमा विभागले कारबाही गर्ने सुनाउँछन् ।

क्याफिनयुक्त पेयपदार्थको बिक्री वितरण न्यूनीकरणका लागि विभागले उपत्यकाभित्र र बाहिर दैनिक अनुगमन गरिरहेको उनले जानकारी दिए । प्रवक्ता पंगेनीका अनुसार, उपत्यकाबाहिरका वाणिज्य कार्यालयहरूले पनि यसलाई निरन्तरता दिइरहेका छन् ।

अनुगमनको क्रममा त्यस्ता वस्तु बिक्रीवितरण भइरहेको भेटिएको र त्यस्ता वस्तुलाई नष्ट गर्ने गरेको उनले जानकारी दिए । ‘अनुगमनका क्रममा भेटिएका यस्ता वस्तु हामीले सञ्चारकर्मीकै रोहवरमा नष्ट गर्दै आइरहेका छौं,’ उनले भने । उनका अनुसार, स्वदेशी आयातीत हो या स्वदेशमा उत्पादन भएको हो भन्नेमा केन्द्रित भएर अनुगमन गर्ने गरिएको छ ।

बजारको स्वच्छता कायम राख्न खरो नउत्रिएको दाबी विभागमाथि लागिरहेका बेला उनले सूक्ष्म ढंगले बजार अनुगमन कार्य गरिरहेको जिकिर गरे । बजारमा क्याफिनयुक्त विदेशी पेय पदार्थ कतै बिक्रीवितरण भइरहेको भेटेमा विभागको टोलफ्री नम्बरमा सम्पर्क गरेर जानकारी दिन पनि उनले आग्रह गरे । क्याफिनयुक्त हो या होइन, यकिन गरे मात्रै उजुरी दिन उनले अनुरोध गरे ।

प्रतिबन्धित वस्तु नेपाल भित्रिनै नदिन नाकामा कडाइ गर्नुपर्ने सुझाव पनि दिए ।

क्याफिनयुक्त इनर्जी डिंग्स नेपालमै उत्पादन गर्न छुट
खाद्य तथा प्रविधि गुण नियन्त्रक विभागका सूचना अधिकारी समीक्षा बञ्जाडे नेपालमा रेडबुलबाहेक अन्य क्याफिनयुक्त पेय पदार्थ उत्पादन गरी बिक्रीवितरण गर्न छुट भएको बताउँछिन् । सरकारको उद्देश्य आयात निरुत्सहित र स्वदेशी उत्पादनलाई बढवा दिने भएकाले जुनसुकै पेयपदार्थ उत्पादनमा छुट भएको उनले जिकिर गरिन् ।

बजारमा नेपाली उत्पादनकै इनर्जी डिंग्स बिक्रीवितरण हुने भएकाले उपभोक्ताले स्वदेशी उत्पादन हो कि विदेशी हेरेर किन्नुपर्ने उनको सुझाव छ । विदेशी रेडबुललगायत क्याफिनयुकत पेयपदार्थ बजारमा भेटिएमा खबर गर्न पनि उनले अनुरोध गरिन् ।

नेपाल यस्तो मुलुक हो, जसले नुनदेखि सुनसम्म आयात गरेर अर्थतन्त्र धानिरहेको छ । कतिपय वस्तुको उत्पादनमा देश आत्मनिर्भर भए पनि आयात भइरहेको छ । यसले एकातिर व्यापार घाटा वृद्धि भइरहेको छ भने देशको अर्थतन्त्रलाई पनि संकटतिर धकेलिरहेको छ ।