NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

चितवनबाट प्रचण्ड हार्ने हिसाबकिताब यस्तो छ

काठमाडौं । वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनले राजनीतिक दलहरूलाई चुनावी तालमेल बाध्यकारी भएको देखाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय तहको मतको विश्लेषण गर्दा दलका नेतालाई जित्न गठबन्धन अपरिहार्य देखिएको हो । अन्यथा सबै दलका प्रभावशाली नेता नै पराजित हुने देखिएको छ ।

एक्लाएक्लै दलहरू चुनावमा गए माओवादी अध्यक्ष प्रचण्डदेखि कांग्रेस नेता गगन थापासम्मका नेताहरू नै पराजित हुने देखिन्छ । दलहरूले स्थानीय तहको निर्वाचनमा पाएको वडाध्यक्षको मतका आधारमा ती निर्वाचन क्षेत्रको मतको विश्लेषण गर्दा यस्तो देखिएको हो । प्रतिनिधसभाकाे चुनाव मंसिरमा हुँदैछ ।

एक्लै चुनाव लडे माओवादी अध्यक्ष प्रचण्डलाई जोखिम

प्रचण्डले २०७४ सालमा एमालेको समर्थनमा ९३३८ मतान्तरले जितेका थिए । उनले कांग्रेसको समर्थन पाएका राप्रपाका विक्रम पाण्डेलाई पराजित गरेका थिए । प्रचण्डले ४८२७६ मत ल्याएका थिए । पराजित पाण्डेले ३८९३५ मत ल्याएका थिए ।

तर स्थानीय तहको यसपटकका निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा प्रतिनिधिसभाको यो क्षेत्रमा माओवादी एक्लै तेस्रोमा देखिएको छ । माओवादीले १०९४० मत पाएको छ । तर पहिलो स्थानमा रहेको एमालेले २९७७१ र कांग्रेसले २९३४३ मत ल्याएका छन् । माओवादी निक्कै पछाडि हुँदा एक्लाएक्लै चुनाव लडे प्रचण्ड हार्ने निश्चित देखिएको छ । मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस देखिएका हुन् । यसैले आफ्नो पुरानो क्षेत्रमा चुनाव जित्न प्रचण्डलाई कांग्रेस वा एमालेको सहारा अनिवार्य भएको छ ।

यी दुई दलको सहाराविना चुनाव लड्दा प्रचण्डको हार निश्चित देखिएको हो । अघिल्लोपटक पनि एक्लै चुनाव लड्दा पराजित हुने भएर माओवादीले एमालेसँग चुनावी तालमेल गरेको थियो । यसपटकको स्थानीय तहको निर्वाचनपछि माओवादी कांग्रेससहितको सत्ता गठबन्धनसँग चुनावी तालमेलको तयारीमा छ । तालमेल गर्न नसक्दा प्रचण्डको हार निश्चित छ । यसैले उनका लागि तालमेल अनिवार्य देखिएको हो । अन्यथा चुनाव जित्ने निर्वाचन क्षेत्रको खोजीमा प्रचण्ड लाग्नुपर्ने देखिएको छ ।

चितवन ३ मा राप्रपाले स्थानीय तहको केही समय अघिको निर्वाचनमा ६१९८, नेकपा एसले ५०३७ मत प्राप्त गरेको थियो । माओवादी, राप्रपा र एसको मत जोड्दा पनि कांग्रेस र एमालेलाई भेट्याउन सक्ने देखिएको छैन ।

प्रचण्डले आफ्नो जोखिम बुझेरै कांग्रेससँग चुनावी तालमेल गर्ने नीति लिएका छन् । स्थानीय तहको निर्वाचनमा पनि सत्ता गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको थियो ।

चुनावी क्षेत्रमा आफूलाई बलियो बनाउनका लागि प्रचण्डले भरतपुरमा आफ्नै छोरी रेनु दाहाललाई कांग्रेसको सहयोगमा मेयर बनाएका थिए । प्रचण्डको क्षेत्रमा भरतपुर महानगरपालिकाका क्षेत्रसमेत पर्छन् ।