NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

दमौली अस्पतालमा सात जनालाई डेंगु देखियो

दमौली । सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेंगुको लक्षण भेटिएको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेंगुका बिरामी भेटिएका हुन् ।

पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेंगुका बिरामी पनि देखिएको दमौली अस्पतालका एमडिजिपी डा राजु रानाले बताए ।

उनका अनुसार अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी विभिन्न समस्याले उपचारका लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाइफाइड, निमोनियालगायतका बिरामी अत्यधिक मात्रमा रहेका छन् ।

बिहीबार इमर्जेन्सीमा चार र ओपिडीमा तीन डेंगुका बिरामी भेटिएको उनले जानकारी दिए । एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, कमजोरी हुने डेंगुको मुख्य लक्षण हुने डा रानाले बताए ।

अस्पतालमा व्यास नगरपालिका– १०, १२, ५ र ३ लगायतका वडाका २० देखि ४० वर्ष उमेरका रहेका छन् । त्यसमध्ये महिलाको सङ्ख्या बढी रहेको अस्पतालले जनाएको छ । दमौलीमा एकवर्ष अघि फाट्टफुट्ट मात्रमा डेंगुका बिरामी देखिने गरे पनि हिजाआज बढी देखिन थालेको अस्पतालका अहेब मदन गौतमले बताए ।

डेंगु विशेष गरी लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने लामो लुगा लगाउन र सुत्ने समयमा झुलको प्रयोग गर्नुपर्ने उनले उल्लेख गरेका छन् । डेंगु भएका बिरामीले कमजोर महसुस गर्ने हुँदा झोलिलो र तागतिलो खानेकुरा खानका लागि चिकित्सकले सुझाव दिएका छन् ।