NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सार्वजनिक कार्यक्रममा भक्कानिएर रोए धरानका मेयर हर्क (भिडियोसहित)

काठमाडौं । धरानमा खानेपानीलगायत जनजीविकाको सवाल उठाउँदा प्रारम्भमा हर्कराज राई करिब एक्लो थिए । र पनि, उनले हारेनन्, निरन्तर जनताको बोली बोलिरहे ।

धरानजस्तो परम्परागत राजनीतिक दलको पकड क्षेत्रमा स्वतन्त्र हर्कको उदय पछाडि उनको कहिल्यै नथाक्ने र नदप्ने निडर स्वभावले काम गरेको थियो  भन्दा अत्युक्ति नहोला ।

जनप्रतिनिधिका रोल मोडल बन्दै गइरहेका हर्कले अहिले आफ्नै कतिपय जनप्रतिनिधिबाट साथ र सहयोग पाएका छैनन् । हर्क जनपक्षीय मुद्दा अघि सार्दै बामे सर्न खोज्छन्, केही जनप्रतिनिधि विरोधमा आगो ओकलिहाल्छन् । हर्कले नदीजन्य वस्तुको दोहन गर्न नहुने मत राख्दा होस् या हर्नाएका धरानवासीको तिर्खा मेटाउने खानेपानी आयोजना अघि बढाउँदा, उस्तै असहयोग जारी छ ।  तथापि, हर्क दपेका छैनन् । विरोधका आवाज पन्छाएर जनताको सेवामा अविराम खटिरहेका छन् । र त भन्न थालिएको छ– जनप्रतिनिधि होऊन् त हर्कजस्तो ।

साहसी र निडर जनप्रतिनिधिको छवि बनाएका उनै हर्क धरानको एक जमघटमा सञ्चारकर्मीमाझ भक्कानिएर रुन पुगेका छन् । आफूलाई भेट्न आएका मिस धरान प्रतियोगिताका प्रतियोगीमाझ हर्क एकाएक भक्कानिएर रुन पुगेका हुन् । जुन केही अस्वाभाविकजस्तो लाग्छ ।

धरान उपमहानगरपालिका क्षेत्रभित्रका युवतीलाई लक्षित गरेर आयोजना गरिएको मिस धरान प्रतियोगिता अहिले चलिरहेको छ । यसमा सहभागी प्रतियोगी उपमहानगरपालिकाले आयोजना गरेको वृक्षरोपणमा विरुवासहित पुगेका थिए । त्यहाँ उनीहरूले मेयर साम्पाङबाट प्रेरणा लिन कार्यक्रम तय थियो । त्यही क्रममा हर्क भावुक बनेर रोएका हुन् ।

सार्वजनिक भिडियोमा हर्कले विरुवा लिएर आफूअघिल्तिर उभिएका प्रतियोगीलाई सम्बोधन गर्न सुरु गरेको देखिन्छ । प्रतियोगीलाई सफलताको शुभेच्छा प्रकट गर्दै भनाइ सुरु गरेका हर्कले रूपजस्तै हृदय पनि राम्रो रहेको विश्वास विश्वास व्यक्त गर्छन् । केहीबेर आफूले थालेको वृक्षरोपणको औचित्यबारे बोलेका उनले प्रतियोगीलाई देश र जनताका लागि काम गर्न सुझाउँछन् । यसक्रममा उनले आफ्नो गीत ‘देश सोच्न सकूँ म, देश बोल्न सकूँ’ का पंक्ति उच्चारण गर्छन् । तर उनीबीचमै भक्कानिएर पूरा गर्न सक्दैनन् ।

भक्कानिएर रुन पुगेका हर्क केही सम्हालिएर गीत पूरा गर्न खोज्छन् । तर फेरि पनि उस्तै ऐंठन हुन्छ । आफ्ना गीतका बाँकी पंक्ति गुनगुनाउँदा पनि उनी उसैगरी भक्कानिएपछि एकाएक सन्नाटा छाएको थियो । केही प्रतियोगी भने यस्तो भावुक माहोलमा पनि हाँसेको सुन्न सकिन्छ । सुनिन्छ

आफूजस्तो सानो मान्छेलाई प्रेरणा मानेर भेट्न आएका प्रतियोगीलाई हर्कले अन्तिममा प्रेरणा दिने प्रयास गर्छन् ।तर सक्दैनन् । ‘एक दिन मर्नुपर्दा पनि देशकै लागि मर्नुहोला,’  यसो भनेर भेटघाटलाई बिट मार्दा हर्कका गला उसैगरी अवरुद्ध र आँखा आँसुले टिलपिल हुन्छन् ।