NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कोभिड भएर अस्पताल भर्ना भएका शेखर कोइरालाको कस्तो छ स्वास्थ्य ?

काठमाडौं । कोरोना पोजेटिभ देखिएपछि कांग्रेस नेता डा. शेखर कोइराला अस्पताल भर्ना भएका छन् । केही तराई मधेसका विभिन्न कार्यक्रममा व्यस्त रहेका कोइरालालाई शनिबार कोरोना पुष्टि भएको थियो ।

कोरोना भएपछि उनलाई शनिबार नै काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरिएको छ ।

‘दुई तीन दिन पर्साका सबै निर्वाचन क्षेत्रका कार्यक्रममा डा.साव व्यस्त हुनुभयो । काठमाडौं फर्किएपछि शुक्रबार राति अलि गाह्रो भयो । शनिबार चेक गराउँदा कोरोना संक्रमण पुष्टि भएको हो’ कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘सामान्य ज्वरो पनि देखिएको थियो । अस्पताल भर्ना भएपछि त्यो पनि कम भएको छ । अहिले अवस्था नर्मल छ ।’

थपलियाका अनुसार डा. शेखरको उपचारमा डा. प्रविन थापा, डा. विवेक शर्मा र डा. सुवास आचार्य खटिएको छ । चिकित्सकको सल्लाहमा डिस्चार्जको टुंगो लाग्ने जानकारी उनले दिए ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर बढेर गएको छ । कोरोनाबाट कांग्रेसका सहमहामन्त्रीद्वय बद्रि पाण्डे र जीवन परियार, नेता उदयशमशेर राणा पनि संक्रमित भएका छन् ।