NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

कसरी बन्दैछ नेपालको चर्चित नागढुंगा सुरूङमार्ग ? [भिडियो रिपोर्ट]

काठमाडौं । नेपालकै चर्चित र पहिलो सुरूङमार्ग नागढुंगा सुरूङ मार्गको काम करिब ६२.८ प्रतिशत सकिएको छ । आयोजनाका असिस्टेन्ट रेजिडेन्ट इन्जिनियर असीम घिमिरेले ६२.८ प्रतिशत काम सकिएको जानकारी दिएका हुन् । उनका अनुसार मुख्य सुरुङ दुवैतर्फ १४१८ मिटर खनिसकेको छ । इभाकुएसन टनेल(आपतकालिन सुरुङ) १५५४ काम सकिएको छ ।

नेपाल सरकारको ६ अर्ब र जापनिज सरकारको १६ अर्ब लागानीमा निर्माणधीन नागढुंगा सुरूमार्ग २०८० को साउनसम्ममा सक्ने लक्ष्य सरकारले लिएको छ । यो सुरुङमार्ग बनेसँगै नौबिसे–काठमाडौं सडकखण्डमा देखिने वर्षौंदेखिको जामको समस्या समाधान हुने विश्वास लिइएको छ ।

२०७६ कात्तिक ४ गते शिलान्यास भएको झण्डै १४ महिनापछि २०७७ पुस ७ गतेबाट काम शुरु भएको थियो । काम सुरु भएलगत्तै विश्वव्यापी कोरोना महामारीका कारण केही महिना काम अवरोध भएपनि अहिले नियमित काम भइराखेको छ ।

नौबिसे–काठमाडौं २.६८ किलोमिटर लम्बाइ रहेको यो सुरुङमार्ग दुई लेनको हुनेछ । सुरुङमा २४ घण्टा गाडी गुड्नेछ । अर्कोतिर समानान्तर रुपमा आपतकालीन उद्धारका लागि मुख्य सुरुङसँगै एक लेनको सुरुङ खनिएको छ । भित्र प्रत्येक ३७५ मिटरको दूरीमा ७ वटा सहायक सुरुङ खन्ने काम भइरहेको घिमिरे बताउँछन् ।

मुख्य सुरुङको चौडाई करिब ११.५ मिटर र उचाई ९ मिटर रहेको छ । सानो सुरुङको चौंडाई ५ मिटर र उचाई ४.५ मिटर हुनेछ ।
‘मुख्य सुरुङबाट गाडी सञ्चालन हुन्छ । केही गरी भित्र दुर्घटना भएको अवस्थामा आपतकालीन उद्धारका लागि इभाकुएसन टनेल बनाइएको छ’, उनले भने, ‘आपतकालीन उद्धारका लागि एम्बुलेन्स, दमकल, उद्धार टोली तथा जोखिममा परेका यात्रु प्रवेश गर्न पाउँछन् । अन्यबेला यो सुरुङको ढोका बन्द हुन्छ ।’

भित्र कसरी काम हुन्छ ?

सुरुङको संरचना बनाउँदा पहिला मेसिनले खन्ने काम गर्छ । खन्न नसक्ने ठाउँमा सैनिकको रोहबरमा ब्लास्टिङ गरिनेछ । ब्लास्टिङ भइसकेपछि पहिलो सेफ्टी सर्केटिङको काम हुने इज्जिनियर घिमिरे बताउँछन् ।

‘एचबिम राख्ने काम सकिएपछि हर्स सुजको आकारमा रिब राख्ने राख्ने र दुई रिबबीच सककिट राख्ने काम हुनेछ । त्यसपछि ३, ४ र ६ मिटरको रकबोल्ट राखेपछि ढलान गरिन्छ । त्यसपछि वाटरपु्रफ मेमरेन गरिसकेपछि लाइनिङ कंक्रिटसहित फिनिसिङ हुन्छ । यसैगरी बाँकी काम गर्दै जान्छौं’, सुरुङ निर्माणको प्रक्रियाबारे उनले भने ।

सुरूङमा कस्ता गाडी गुड्छन् पाउँछन् ?

यो सुरुङमा पेट्रोलिय पदार्थ बोकेको गाडी जान पाउँदैनन् । त्यस्तै ओभर साइजको गाडी पनि जान पाउँदैनन् । ओभर लोड बोकेको गाडी जान पाउँदैनन् । त्यसैगरी दुई पांग्रेसवारी साधनले प्रवेश पाउँदैनन् । सुरूङबाट पैदलयात्री पनि हिड्न पाउँदैनन् ।

सुरुङ सञ्चालनमा आएपछि सडक विभाग, यातायात व्यवस्था विभाग, सुरक्षा निकायलगायतका प्रतिनिधि रहने गरी दुवैतर्फ टिम रहने इन्जिनियर घिमिरे बताउँछन् ।

भिडियोमा हेर्नुहोस् कसरी बन्दैछ यो सुरुङमार्ग ?

भिडियाे : अमरदीप श्रेष्ठ/नेपालवाच 

ताजा अपडेट

नेपालवाच विशेष