NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपाल वायुसेवा निगम : जहाज संख्या १२, ग्राउण्डेड ९

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)माथि बढ्दो राजनीतिक हस्तक्षेपको असर उडानमा समेत पर्न थालेको छ । भद्रगोल व्यवस्थापनका कारण निगमका कुल १२ जहाजमध्ये ९ वटा ग्राउण्डेड भएर थन्किएका छन् ।

हाल निगमसँग अन्तर्राष्ट्रियतर्फ चारवटा जहाज छन् । जसमा वाइडबडी जहाज एयरबस ३३० र न्यारोबडी जहाज ए ३२० दुई÷दुईवटा छन् । आन्तरिकतर्फ पाँच चिनियाँ, तीन ट्विनअटर गरी कुल ८ जहाज छन् । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि कुल १२ जहाज रहे पनि आन्तरिकतर्फ एक र अन्तर्राष्ट्रियतर्फ दुई गरेर तीनवटा मात्र सञ्चालनमा रहेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् ।

आन्तरिकतर्फ आठ विमान रहेकोमा एक सातादेखि एउटा मात्रै सञ्चालनमा छ भने अन्तर्राष्ट्रियतर्फ दुई विमानले उडान भरिरहेका छन् ।

निगमका इन्जिनियरिङ विभाग प्रमुख प्रज्ज्वल श्रेष्ठ निगमको आन्तरिकतर्फ ट्विन अटर जहाजको वार्षिक मर्मतसम्भारको समय भएकाले सीमित सबै जहाजले उडान भर्न नसकेको दाबी गर्छन् ।

‘जहाज मर्मतको आफ्नै निश्चित समय हुन्छ । कुनै पाँच दिन, कुनै महिना दिन त कुनै एक वर्षमा मर्मत गरिन्छ,’ उनले भने, ‘अहिले सञचालनमा रहेके दुईमध्ये एउटा ट्विन अटरको वार्षिक मर्मतसंभारको काम भइरहेको छ । यो काम पूरा भएपछि अहिले सञ्चालनमा नरहेकाले उडान भर्छन् ।’

निजी वायुसेवा कम्पनीहरूले आन्तरिकतर्फ आफ्नो बजार हिस्सा बढाउँदै लगिरहेका बेला निगम भने एउटा मात्रै जहाजमा खुम्चिएको छ । जबकि, अहिले नै निजी कम्पनीका ४१ जहाजले नियमित उडान भर्दै आएका छन् । हाल बुद्धका १५, यती, गुण र श्रीका पाँच÷पाँच, ताराका चार, समिटका तीन तथा सौर्य र सीताका दुई÷दई जहाजले नियमित उडान गरिरहेका छन् ।

निगमको तीनमध्ये एउटा ट्विन अटर १० वर्षदेखि ग्राउण्डेड छ भने अर्को १० दिनदेखि ।

निगमसँग भएका दुई ट्विन अटर जहाज ग्राउण्डेड भएपछि एउटाले दैनिक तीनदेखि चार उडान भर्दै आइरहेको निगमकी प्रवक्ता खड्का बताउँछिन् ।

निगमसँग भएका पाँच चिनियाँ जहाज पनि दुई वर्षदेखि चलायमान अवस्थामा छैनन् । उडान भर्दा थप आर्थिक भार परेको भन्दै यी जहाज निगम व्यवस्थापनले ग्राउण्डेड गरेको हो । त्यसो त, यी जहाज व्यवस्थापन निम्ति निगम व्यवस्थापनले नयाँ–नयाँ योजना अघि सार्दै आइरहेका छन् । तर त्यसमध्ये कुनैले पनि सार्थकता पाएका छैनन् । यही अव्यवस्थापनका कारण निगम अहिले तीनदेखि चार उडानमा खुम्चिएको छ । आन्तरिक उडानको बजार हेर्दा ९७ प्रतिशत हिस्सा निजीको कम्पनीको पोल्टामा पुगेको छ भने निगमको मात्रै तीन छ ।

अन्तर्राष्ट्रियतर्फ पनि उस्तै बिजोग

अन्तर्राष्ट्रिय उडानतर्फ पनि निगमको अवस्था करिब उस्तै छ । नयाँ उडान गन्तव्य खोज्नुपर्ने निगम भएकै बजारको हिस्सासमेत जोगाउन नसक्ने स्थितिमा अहिले पुगेको छ ।

अन्तर्राष्ट्रियतर्फ निगमसँग भएका चारमध्ये दुईवटा मात्रै जहाज अहिले सञ्चालनमा छन् । निगमको ए–३२० जहाजले शनिबारसम्म उडान भर्दै आइरहेकोमा इन्जिनमा समस्या आएपछि त्यही पनि आइतबारबाट ग्राउण्डेड गरिएको छ । अर्को वाइडबडी जहाज ए–३३० गत १ जुलाइदेखि उक्त जहाज नियमित उडानमा छैन । हाल यसलाई सी चेकको लागि इन्डोनेसिया लगिएको छ ।

अन्तर्राष्ट्रियतर्फ बाँकी एक-एक वाइडबडी र न्यारोबडी जहाज यतिबेला सञ्चालनमा छन् । यी जहाजले मुस्किलले दैनिक तीन उडान गरिरहेका छन् ।

भएका जहाज ग्राउण्डेड भएर थन्किँदा अन्तर्राष्ट्रिय उडानमा निगम प्रतिस्पर्धामा बिस्तारै पछि पर्दै गएको छ । अहिले नै कतार र हिमालय एयरलाइन्सको बजार हिस्सा निगमको भन्दा ज्यादा छ ।

निगमले हाल जापान, क्वालालम्पुर, हङकङ, दुबई, दोहा र दिल्लीमा उडान गरिरहेको छ । दैनिक १५ घण्टासम्म उडान भर्न सक्ने हैसियत निगमसँग भए पनि तीन घण्टा मात्रै उडान भरिरहेको स्वयं यसका पाइलटहरू बताउँछन् ।

निगम व्यवस्थापनले बेला–बेला नयाँ गन्तव्य खोज्ने योजना अघि सार्ने गरेका छन् । नयाँ गन्तव्य पहिल्याउनु त परको कुरा उडान भइरहेका देशमा समेत कम जहाज उड्न थालेका छन् । साउदी अरेबिया, दक्षिण कोरिया र अस्ट्रेलिया अहिले नेपालीको रोजगार तथा अध्ययनको मुख्य गन्तव्य हुन् । तर यी कुनै पनि देशमा निगमको जहाज उडेका छैनन् ।

साउदी अरेबियामा हिमालय एयरलाइन्सले दैनिक दुई उडान भरिरहेको छ । निगमका एक अधिकारी निजी एयरलाइन्स पोस्न जानाजान यी देशमा उडान कटौती गरिएको बताउँछन् ।