NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

राष्ट्रघाती देउवा सरकारलाई तत्काल विघटन गरी चुनावमा जानुपर्छ : महासचिव पाेखरेल

काठमाडौं । महंगी र भ्रष्टाचार अचाक्ली बढेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले सरकार विरूद्ध विरोध प्रदर्शन गरेको छ । स्थायी समिति सदस्य कृष्णगोपाल श्रेष्ठको संयोजकत्वामा गठन भएको जनपरिचालन समितिले सोमबार राजधानीमा विरोध प्रर्दशन गरेको हो ।

जनपरिचालन समितिका सदस्यहरूमा काठमाडौं उपत्यकाका भूगलबाट तीन जिल्लाका अध्यक्ष, जनवर्गीय संगठनका अध्यक्षहरू, पार्टी प्रदेश समितिका अध्यक्ष र इन्चार्ज, सम्पर्क समन्वय समितिको अध्यक्ष, उपत्यका विशेष समितिका अध्यक्ष सदस्य रहेका छन् । काठमाडौंसहित आसपासका जिल्लाहरूबाट नेता तथा कार्यकर्ता विरोधप्रदर्शनमा सहभागी भएका थिए ।

बसन्तपुरबाट दिउँसो २ बजे सुरुभएको विरोध र्याली बांगेमुढा, असन हुँदै शान्तिबाटीकामा आएर टुंगिएको थियो । विरोधसभालाई पार्टी महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए । उनले परमादेशी गठबन्धन सरकार आएपछि मुलुक आर्थिक रूपमा टाट पल्टिने अवस्थामा पुगेको आरोप लगाए ।

‘एमालेको सरकार हुँँदा मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा तल रहेको थियो । अहिले मूल्यवृद्धिदर ८.७८ प्रतिशत पुगेको छ । आज अदालत अदालत जस्तो छैन । यो सरकार जनताको सरकार होइन विदेशीको सरकार हो’, उनले भने, ‘राष्ट्रघाती देउवा सरकारलाई तत्काल विघटन गरी चुनावमा जानुपर्छ । प्रधानमन्त्री देउवा र प्रचण्डका कारण देश गम्भीर संकटमा फसेको छ । यसको ठूलो मूल्य आगामी चुनावबाट उनीहरूले चुकाउने छन् ।’

सरकार विरूद्ध काठमाडौंबाट विरोध सुरू भएको भन्दै महासचिव पोखरेलले आगामी निर्वाचनसम्म देशव्यापी प्रदर्शनको तयारी भइरहेको जिकिर गरे ।

एमालेले भन्यो, ‘यो माफियाको सरकार हो’