NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

जवाहिरी : लादेनका दाहिने हात, अलकायदाका थिंक ट्यांक

एकपछि अर्को नेताको हत्याले शिथिल बन्दै अलकायदा

काठमाडौं ।अमेरिकाले अफगानिस्तानमा गरेको ड्रोन हमलामा परी अलकायदाका नेता आयमान अल जवाहिरी मारिएका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) ले सञ्चालन गरेको आतंकवाद विरोधी अभियान दौरान जवाहिरी मारिएका हुन् ।

अधिकारीहरूका अनुसार ड्रोन हमलाको सिकार हुनुपूर्व जवाहिरी सुरक्षित घरको बालकनीमा थिए । त्यहाँ ड्रोनबाट दुईवटा मिसाइल प्रहार गरिएको थियो।

जवाहिरीको ड्रोन आक्रमणमा ज्यान गए पनि उनका परिवार भने सकुशल रहेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

बिन लादेन र जवाहिरीले नै अमेरिकामा मे ९ र ११ मा आक्रमणको योजना बनाएका थिए । अमेरिकाले जवाहिरीलाई मोस्ट वान्टेड आतंकवादी मानेको थियो ।

अमेरिकी राष्ट्रपति बाइडनले अमेरिकी नागरिकहरू विरुद्धको हत्या र हिंसाको रगतले जवाहिरीको हात लतपतिएको र उनको मृत्युसँगै अमेरिकी जनताले न्याय र शान्ति पाएको टिप्पणी गरेका छन् ।

जवाहिरीको जन्म १९ जुन १९५१ मा इजिप्टको गिजामा भएको थियो । जवाहरीले इजिप्टको कायरो विश्वविद्यालयबाट चिकित्सा पढेका थिए। उनलाई शीर्ष सर्जन मानिन्थ्यो ।

जवाहिरीको घरमा धेरै मानिसहरू डाक्टर र अनुसन्धान विद्वान छन्। अरबी र फ्रेन्च बोल्ने जवाहिरीले १९७८ मा कायरो विश्वविद्यालयमा दर्शनशास्त्रका विद्यार्थी अजा नोवारीसँग विवाह गरे। अजाको २००१ मा मृत्यु भइसकेको छ ।

यसपछि उनले उमैमा हुसैनसँग दोस्रो विवाह गरे । जवाहिरीका सात सन्तान छन्। फातिमा, उमायामा, नबिला, खाडिगा, मोहम्मद, आयशा र नवर उनका सन्नतिका नाम हुन् ।

जवाहिरीले इजिप्टको इस्लामिक जिहादको स्थापना गरेका थिए । यो संगठनले सन् १९७० को दशकमा इजिप्टमा धर्मनिरपेक्ष शासनको विरोध गरेको थियो। उनले इजिप्टमा इस्लामिक सरकार स्थापना गर्नुपर्ने माग गरे।

जवाहिरीलाई सन् १९८१ मा इजिप्टका राष्ट्रपति अनवर सदातको हत्यापछि पक्राउ गरिएको थियो । इजिप्टमा तीन वर्ष जेलमा बिताएपछि उनी साउदी अरब गए र चिकित्सा विभागमा अभ्यास गर्न थाले।

अमेरिकी आक्रमणमा ओसामा बिन लादेन मारिएपछि जवाहिरीले संगठनको नेतृत्व सम्हालेका थिए । सन् २०११ मा उनी अलकायदाको नेता बने । विश्वका धेरै ठाउँमा भएका आतंकवादी हमलामा उनको हात रहेको अनुमान छ ।

सेप्टेम्बर ११, २००१ मा, आतंकवादीहरूले चार व्यावसायिक विमानहरू अपहरण गरे। यीमध्ये दुईवटा विमान वर्ल्ड ट्रेड सेन्टरको उत्तर र दक्षिण टावरसँग ठोक्किएका थिए। यस आक्रमणमा ९३ देशका २ हजार ९ सय ७७ व्यक्तिको मृत्यु भएको थियो । आक्रमण आतंकवादी संगठन अल कायदाले गराएको थियो । यसको योजनाकार ओसामा बिन लादेन र अल–जवाहरी थिए ।

७ अगस्ट १९९८ मा धेरै देशका दूतावास बाहिर एकै पटक बम विस्फोट भयो। जसमा २२४ जनाको मृत्यु र ४५०० घाइते भएका थिए । मारिनेमध्ये १२ अमेरिकीहरू थिए । यो घटनाको योजनाकार पनि उनी जवाहिरी मानिन्छन् ।

मे २००३ मा, साउदी अरेबियाको रियादमा एकैसाथ आत्मघाती बम विष्फोट हुँदा नौ अमेरिकीहरू सहित २३ जनाको मृत्यु भयो। केही दिनपछि जवाहिरीको आवाज रहेको एउटा टेप जारी भयो।

जवाहिरीको ठेगाना लामो समयदेखि रहस्यमै रह्यो। सन् २०२० को अन्त्यदेखि अल–जवाहिरीको एक रोगबाट मृत्यु भएको अफवाह फैलिएको थियो। संयुक्त राष्ट्र संघको विश्लेषणात्मक समर्थन र प्रतिबन्ध अनुगमन टोलीको हालैको प्रतिवेदनले जवाहिरी अफगानिस्तानमा बस्ने र स्वतन्त्र रूपमा सञ्चार गर्ने गरेको पुष्टि गरेको थियो। २०२१ मा अल कायदाले जवाहिरीको मृत्युको समाचारलाई झुटो भन्दै एउटा भिडियो जारी गर्‍यो।

बिन लादेनका विश्वासपात्र

अलकायदामाथि सन् २०११ पछि अर्को धक्का लागेको छ । अमेरिकाले सन् २०११ को मेमा ओसामा बिन लादेनको हत्या गरेकाे थियाे । उनकाे हत्यापछि अलकायदाको नेतृत्व जवाहिरीको हातमा आएको थियो । तर कायदाले एक दशकअघि पाएको नेता पनि गुमाएको छ ।

बिन लादेनको हत्यापछि नेतृत्व जवाहिरीको काँधमा अायाे । तर उनकाे कालमा विश्वले थप अातंक भने भोग्नु परेन । उनकाे कार्यकालमा एकाध विज्ञप्ति जारी गर्नेबाहेक उल्लेख्य कुनै गतिविधि भएन ।

अल जवाहिरीलाई ओसामा बिन लादेनको दाहिने हात मानिन्थ्यो।यति मात्र नभएर उनी अल–कायदाको प्रमुख विचारधाराका रूपमा पनि चिनिन्थे।

अमेरिकामा सेप्टेम्बर ११, २००१ मा आक्रमण भएको थियो, जसको डिजाइनर उनै अल जिवाहिरी मानिन्छन् ।

इजिप्टमा इस्लामिक जिहादी समूह गठन गर्न पनि उनको साथ थियो ।

जवाहिरी पेसाले चिकित्सक हुन् । ७१ वर्षीय जवाहिरी खासमा नेत्र सर्जन थिए । आफ्नो विशेषज्ञताचाहिँ उनले इजिप्टमा खर्चेका थिए ।

तर इजिप्ट छाडेपछि उनको नजर आतंकवादतिर मोडियो । सन् १९८० को दशकमा इजिप्ट छाडेपछि उनी इस्लामिक चरमपन्थीमा संलग्न भए । पछि यही आरोपमा जेल पनि परे ।

जेलबाट मुक्त भएपछि उनले इजिप्ट छाडे र अातंकवादी संगठनकाे अाेत लागे । बिबिसीका अनुसार त्यसपछि नै उनले अन्तर्राष्ट्रिय जिहादी अभियानमा सहभागिता जनाएका थिए ।

यही दौरान उनकाे ओसामा विन लादेनसँग दाेस्ती जम्याे । उनी त्यहाँबाट लादेनसँगै साउदी अरब गए ।

अलकायदाले अमेरिकाविरुद्ध युद्ध घोषणा गरेको त्यसपछि नै थियो ।

बिन लादेन जीवित छँदासम्म जवाहिरीले नजिकबाट सघाएका थिए । सन् २०११ मा ओसामा बिन लादेन मारिएपछि भने अलकायदाको नेतृत्व जवाहिरीको काँधमा अायाे ।

जवाहिरीको नेतृत्वमा भने विश्वले अलकायदाको आतंक भोग्नु परेन । एकाध विज्ञप्ति जारी गर्ने औपचारिकताबाहेक अलकायदाको कुनै गतिविधि भएन । ।

अमेरिकाले अल जवाहिरीको हत्यालाई विजयको रूपमा लिएको छ । गत वर्ष मात्रै अमेरिका कुनै ठोस लक्ष्य हासिल नगरी अफगानिस्तानबाट हात उठाएर फिर्ता भएको थियो । तर अल–जवाहिरी तुलनात्मक रूपमा कमजोर भएका थिए। अब इस्लामिक स्टेटको अगाडि अलकायदाको कुनै प्रश्न नै थिएन।

काबुलमा अल–जवाहिरीको हत्याले अफगानिस्तानको महत्त्व पनि देखाउँछ।

तालिवानको आगमनसँगै इस्लामिक समूहहरूले यहाँ सुरक्षित आश्रय पाउन सक्छन्। तर अमेरिकाले जमिनमा नभए पनि टाढैबाट आक्रमण गर्न सक्ने देखाएको छ ।

लगातार कमजोर

अलकायदाले दुई दशकअघि सेप्टेम्बर ११ मा अमेरिकामा हमला गरेको थियो । तत्पश्चात चरमपन्थी संगठन अलकायदा विश्व राजनीतिमा प्रमुख विषय बन्यो ।

अमेरिकालगायत शक्तिशाली मुलुकका निम्ति त यो टाउको दुखाइको प्रमुख विषय नै बन्यो ।

अल–कायदाले तालिबान शासित अफगानिस्तानबाट गतिविधिहरू सञ्चालन गर्दै आइरहेको थियो । त्यसकै प्रतिक्रियास्वरूप अमेरिकाले तालिबान सरकार र अल–कायदालाई पराजित गर्न अफगानिस्तानमा आक्रमण गरेको थियो ।

यस उद्देश्यका लागि, अमेरिका अगस्ट ३१ अगस्ट २०२१ सम्म नाटो सेना र सहयोगीसहित अफगानिस्तानमा रह्यो । तर त्यसपछि भने ऊ पछि हट्न बाध्य भयो ।

अफगानिस्तानलाई आधार क्षेत्र बनाएर सक्रिय अलकायदा कमजोर बन्दै गएको छ । लादेनको हत्यापछि अलकायदाले आफ्ना अन्य नेताहरू पनि गुमायाे । अहिले फेरि मूल नाइके नै मारिए । यसले एक दशकपछि यो संगठनमा फेरि अर्को धक्का  दिएकाे छ ।