NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

गिरीदेखि गजुरेलसम्मले दिए विवादमा आएका ‘माग्ने बूढा’लाई सुझाव

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूका आराध्यदेव शिवका विषयमा प्रहसन बनाएको निहुँमा विवादमा आएका हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बूढा’लाई वरिष्ठ हाँस्य कलाकारद्वय दीपकराज गिरीदेखि मनोज गजुरेलसम्मले सुझाव दिएका छन् ।

कमेडी हब कार्यक्रममा शिवलाई प्रहसन गरेको ट्रेलर बाहिरिएपछि सो विवादित बनेको थियो । कतिपय धार्मिक संस्थाले माग्ने बूढालाई धम्कीसमेत दिएका थिए । त्यसपछि माग्ने बूढाले सो प्रशारण नगर्ने भन्दै माफी मागेका छन् । त्यसमा उनले अन्जानवश त्रुटि भएको बताएका छन् ।

‘कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव महादेवलाई लिएर बनाइएको बिषयबस्तुप्रति दर्शक तथा शुभचिन्तकहरूले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकसमक्ष हामी क्षमा माग्दछौं,’ माग्ने बूढाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथै, हामीले सम्पूर्ण दर्शक, शुभचिन्तकको सल्लाह र परामर्शबमोजिम यो विषयवस्तुलाई युट्युब-टिकटक-फेसबुक सबैतिरबाट हटाइसकेका छौं ।’

माग्ने बूढाको यसै स्टाटसमा कमेन्ट गर्दै वरिष्ठ हाँस्य कलाकार गिरीले यस्तो बेला धमिलो पानीमा माछा मार्नेहरू सक्रिय हुने भएकाले गल्ती स्वीकार गरेर अघि बढ्नु नै उत्तम हुने सुझाव दिएका छन् ।

‘हामी कलाकारहरू आफ्नो प्रस्तुति दिने क्रममा होस् वा अभिव्यक्ति दिने क्रममा कहिलेकाँही विवादमा आउछौं यो स्वभाविक नै हो । यस्तो अबस्थामा सही र गलतको विवादतिर लाग्नुभन्दा पनि गल्ती स्वीकार गरेर अगाडि बढ्नु अति उत्तम हुन्छ,’ उनले लेखेका छन्, ‘किनकि यस्तो बेलामा धमिलो पानीमा माछा मार्नेहरू पनि सक्रिय हुन थाल्छन् र समस्या झन् चर्किन पुग्छ ! त्यसै पनि धर्म भनेको आस्थासँग सम्बन्धित कुरा भयो । त्यसैले माफी मागेको र आफूलाई सच्याउने काम गरेको एकदमै राम्रो हो ।’

यस्तै, अर्का वरिष्ठ हाँस्य कलाकार गजुरेलले पनि जात, धर्म, देश र आमाका विषयमा प्रहसन बनाउँदा धेरै विचार पुर्याउन आग्रह गरेका छन् ।

‘हामी कलाकारहरूले कलाकारिता गर्दा निम्न बिषयमा अत्यन्त गम्भीर हुनुपर्छ : जात, धर्म, देश र आमा । यी बिषयहरू मान्छेको पहिचान, आस्था, आत्मसम्मान र भावनासँग जोडिएका हुन्छन् । यिनलाई कन्टेन्ट बनाउनुअघि यसका प्रभाव र असरको गहिरो अध्ययन गर्नुपर्छ । नियत राम्रो हुँदाहुदै पनि कहिलेकाहीँ गलत अर्थ लाग्नसक्छ । यस्तो बेलामा माफी माग्नु र माफी दिनु नै बुद्धिमानी हुन्छ,’ उनले लेखेका छन्, ‘शास्त्रमा भनिएको छ– वादे वादे जायते तत्व बोध अर्थात् छलफल गर्दै जाँदा वास्तविक कुरो बुझिन्छ ।’

हाँस्य कलाकार माग्ने बूढाले यस प्रकरणबारे सफाइ दिँदै पशुपतिको सुन र महादेव भनेको शक्तिशाली कुरा हो भनेर प्रहसनमा देखाउन खोजेको बताएका छन् । तर, ट्रेलरमात्र देखाउँदा अनर्थ भएको उनको भनाइ छ ।