NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

काठमाडौंका सडकका खोलाकिनार र पुलमुनिको दूरावस्था (फोटो फिचर)

काठमाडौं । असारे विकास भन्ने भनाइ त्यतिकै जनजनको मुखबाट उच्चारण भएको होइन । बजेट सकाउन हतारमा काम गर्ने र पानीमा बगाउने विकासे प्रवृत्तिलाई यस्तो उपमा दिइएको हो । यसको उदाहरण हनुमन्ते बालकुमारी च्यासलको खोला किनारमा देखिन्छ । त्यहाँ वर्षाको भेलमा पनि पर्खाल लगाउने काम धमाधम चलिरहेको छ । हिउँदमा गर्नुपर्ने कामलाई असार–साउनमा गर्दा यस्ता पूर्वाधार कति बलिया होलान् ? प्रश्नचिन्ह खडा भएको छ ।

यो बालकुमारी पुलभन्दा करिब पाँचसय मिटर भित्रको सडक हो यहाँ तस्बिरमा सडकको बीच भागमा झोलुङ्गे पुलका दुईवटा लठ्ठा छन् । यी लठ्ठाले सडकलाई तीन भागमा विभाजन गरेको छ । तर ठूलो सवारीसाधन यो बाटो गुड्न मिल्दैन

यो रुटमा चलाउन बानी नपरेका चालकका निम्ति यो ठाउँ धरापजस्तै छ । सडक विभाग वा कुन इन्जिनियरले व्यस्त सडकमा यस्तो संरचना बनाउन सुझाएका होलान् त ? अर्को प्रश्न उब्जिएको छ ।

सडक विभागले सडक निर्माण गर्दा त्यहाँ ढल, बिजुली, पानीको पाइप, उचित फुटपाथको राम्रो व्यावस्थापन गरेर सडक निर्माण गरेको हुन पर्ने हो । तर यहाँ यो बालकुमारी पुलदेखि च्यासल पुल जोड्ने सडकमा एकापट्टीको साइडमा फुटपाथ छ । तर त्यहाँ बिरुवा रोप्न वा रोपेकोलाई जोगाउन संरक्षण गर्न ठूलो गोलोढलको रिङ र बिजुलीको पोल छन् । यसले गर्दा फुटपाथमा हिड्ने पैदलयात्रीलाई सास्ती हुने गरेको छ ।

यस्तै, थापाथली र बल्खु जोड्ने बागमती नदी किनारको सडकमा फुटपाथलाई नाइटिङ्गेल स्कुलको बसले छेकिनेगरी राखिएको छ । स्कुल बस पार्किङ गरेको फुटपाथ नजिकै ललितपुर महानगरपालिकाको वडां न १ को कार्यालय छ । यस्तो भए पनि यो विषयमा महानगरको ध्यान गएको देखिँदैन । १ नम्बर वडा कार्यालय रहेको सडकमा कैयौं दिनदेखि सडकमा सरसफाइ पनि गरिएको छैन । झार र घाँस पलाएर फुटपाथ भरिएको देखिन्छ ।

सोही सडकभन्दा केही पर लामो समयदेखि थुपारिएको फोहर उठाएको छैन । फोहर फाल्दाफाल्दै बीचसडकसम्म ढाकिएको छ । फोहर नठाएपछि त्यहीँ जलाइएको छ । जसका कारण प्लाष्टिकको धुवाले स्वास फेर्न गाह्रो भएको स्थानीय बताउँछन् ।

त्यस्तै बागमती र विष्णुमती पुलको दोभानभन्दा केही माथि कालो झोलुङ्गे पुलमुनि गहिरो अन्डर पासमा वर्षा लागेदेखि पानी जमेको करिब तीन महिना भयो । जसका कारण सवारी साधन गुड्न सकेको छैन । पानीको निकास नभएका कारण पानी जम्मा हुँदा फोहर बढेको छ । पुल निर्माण गर्दा पानीको निकास कसरी गर्ने भन्ने ध्यान नदिएको देखिन्छ । यसअघि पानी जमेको यस ठाउँमा गाडी फसेर क्रेनले तान्नुपरेको थियो ।

थापाथली पुलमुनि चाहिँ पानीको निकासको व्यवस्था गरिएकाले गर्दा पानी जम्ने समस्या छैन । एउटै नगर वडामा बनेको संरचनामा पनि कतै छ, कतै मनलाग्दी गरिएको छ ।

थापाथलीकै प्रसुति अस्पतालको पछाडि रहेको सुकुम्बासी बस्तीमा बाढी पस्ने सम्भावना प्रबल छ । यसभन्दा पहिला खोला किनारमा पर्खाल लगाएर किनाराको भाग खोलाभन्दा उच्च थियो । तर अहिले सो स्थानमा पानी पर्नासाथ त्यहाँका बासिन्दा खोला बस्तीमा पस्ने हो कि भन्ने चिन्ताले सुत्न सक्दैनन् । पहिला खोलामा पानी र लेदो थियो तर अहिले माथिबाट बालुवा, गिट्टी लगायतका वस्तु बगाएर खोलाको भाग पुरिँदै आएको छ । यसले गर्दा पछि सामान्य पानी पर्दा पनि सतह बढेर पानी बस्तीमा पस्ने सम्भावना बढेको हो ।

वर्षा मौसममा खोलाले बगाउने हो कि भन्ने त्रासमा उनीहरू बस्नुपरेको छ । हिउँद महिनामा पानीको सतह कम भएपछि फोहरमैला र ढलको लेदो गन्हाएर बस्नै नसकिने अवस्था हुने स्थानीय बताउँछन् ।

शब्द/तस्बिर : अमरदीप श्रेष्ठ/नेपालवाच ।