NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

काभ्रेस्थली घटना : असमझदारीले परिवारै समाप्त

काठमाडौं । काठमाडौंका तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित पदमसालमा सोमबार बिहान एकै परिवारका चार जनाको वीभत्स अवस्थामा शव फेला प¥यो । उक्त घटनामा ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरी १३ वर्षकी आशिका र आठ वर्षका छोरा आशिकको अकालमै ज्यान गयो ।

अप्रत्यासित र गम्भीर प्रकृतिको उक्त घटनाको खास कारण सार्वजनिक हुन त बाँकी नै छ, तर पारिवारिक बेमेल (श्रीमान्–श्रीमतीको असझमदारी)ले परिवार नै समाप्त हुन पुगेको छ । घटनास्थल प्रकृति मुचुल्का, १० पृष्ठको सुसाइड नोट र स्थानीयको भनाइले सम्बन्ध बिग्रिएर घटना भएको पुष्टि हुने आधार दिएको पाइन्छ । सुसाइड नोटमा श्रीमती र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको छ । त्यसमा श्रीमतीमाथि आरोप लगाइएको छ ।

उक्त घटनास्थलबाट बरामद भएको सुसाइड नोट र घटना प्रकृति मुचुल्काको आधारमा घरमूली दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गरेको सङ्केत मिलेको घटनास्थल पुगेका प्रहरीका एक अनुसन्धान अधिकृत बताउँछन् ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई अन्य सदस्यको हत्या गरी आफैँले आत्महत्या गरेको देखिए पनि खास यही नै कारण हो भनेर अनुसन्धानपछि मात्रै भन्न सकिने बताउँछन् । अहिले प्रहरीको अनुसन्धान पनि त्यसैतर्फ सोझिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि घटनाको अनुसन्धान गरिरहेको छ ।

त्यसैले नेपाल प्रहरीले घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको शव परीक्षण गर्ने चिकित्सक (फरेन्सिक विज्ञ) डा. गोपाल चौधरी र आयुष उपाध्यायको उपस्थितिमै लास जाँच र मुचुल्का उठाएको थियो । आज परीक्षण सम्पन्नपछि परिवारले शव बुझेका छन् ।

दिनेशका दाइ राजेन्द्र र सुनिताका माइतीपक्षबाट घटनाको यथार्थ अनुसन्धान गरी सत्यतथ्य छानबिन गरी पाऊँ भनेर प्रहरी वृत्त बालाजुमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सबैको शरीरमा चक्कु अर्थात् धारिलो हतियारले हानेको पाइएको बताउनुहुन्छ । पेट छाती, टाउकोलगायतका क्षेत्रमा गहिरो चोट छ ।

घटनाको अनुसन्धान बाँकी नै रहेकाले त्यसपछि मात्रै अन्य कारण खुल्ने उनले बताए । यद्यपि श्रीमती र छोराछोरीलाई धारिलो हतियारले हानेर हत्या गरेपछि उनले आत्महत्या गरेको अनुसन्धानमा खटिएका प्रहरीको प्रारम्भिक निष्कर्ष छ । दिनेशको घाँटीमा विद्युत्को तारको डोरी बाँनिएको अवस्थामा छ । उक्त तार झ्यालमा लगेर बानिएको छ । उसले झुण्डिने प्रयाससमेत गरेको देखिएको तर आफैँलाई पनि चक्कु हानेका छन् । पेटमा शरीरको भित्र अङ्ग निस्किने गरी नै उनले चक्कु हानेको पाइएको छ ।

अर्को एउटा कोठामा वीभत्स अवस्थामा श्रीमती र छोराछोरीको शव फेला परेको छ । खाटमा छोरा र छोरीको शव तथा भुइँमा पल्टिएको अवस्थामा सुनिताको शव फेला परेको थियो । दिनेशको शव भने अर्को कोठामा भेटिएको हो । सुनिताको टाउकोमा हतियारले हानेको गम्भीर चोट छ भने हातभरि चक्कुले खोपेको र काटेको छ । त्यो उनले प्रतिकार गर्ने क्रममा हातले छेक्दा गोपेको प्रहरीले बताएको छ । बच्चाको पनि टाउकोलगायतका अङ्गमा चोट छ ।

उनीहरूको पुरानो घर गोरखाको भीमसेनथापा गाउँपालिकामा हो । दिनेशको परिवार यहाँ एकतले घर बनाएर बसेका थिए । उनी १२ वर्ष कुवेतमा रोजगारी गरेर चार वर्षअघि मात्रै फर्किएका थिए ।

त्यसपछि श्रीमान्श्रीमतीबीच झगडा हुने गरेको बताइएको छ । उनीहरुको घरेलु घटना प्रहरीसम्मै पुगेको थियो । सम्बन्धविच्छेदसम्म पुग्न लागेका बेला अन्ततः रोकिएको थियो तर झगडा भने रोकिएन । छिमेकी पटकपटक झगडा भएर मिलाउने प्रयास गरिएको सुनाउँछन् ।

हाल सुनिता बेलायत जाने तयारीमा थिइन् । त्यसका लागि उनले फेन्सी पसल बिक्री गरेको तथा सहकारीको खातासमेत बन्द गराएको अनुसन्धानमा पाइएको छ । दिनेशका तीन दाजुभाइ छन् । जेठा राजेन्द्र, माइला रमेश र उनी दिनेश, उनका अर्की आमापट्टिका दुई भाइ हाल विदेशमा रहेको प्रहरीले जनाएको छ ।

यसरी सार्वजनिक भएको थियो घटना

छोरी पढ्ने सैनिक आवासीय महाविद्यालयको स्कुल बस सदाझैँ नियमितरुपमा सोमबार बिहान पनि आयो । सधैँ समयमै सडकमा आइपुग्ने आशिका सोमबार भने आइनन् । बसका कर्मचारीले सोधखोज गरे । दिनेशका दाइ राजेन्द्रका बच्चासमेत सोही स्कुलमा पढ्ने भएकाले उनीमार्फत आशिकाको सोधीखोजी सुरु भएको थियो ।

राजेन्द्रको परिवार तथा छिमेकीबाट गरेको फोन पनि उठेन । घर हेर्दा ढोका बन्द रहेको तर फोन नउठेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । घटना अन्दाजी ९ बजेतिरको हो त्यसपछि १० बजेको हाराहारीमा प्रहरी घटनास्थल पुगेको थियो । ढोका खोलेर हेर्दा दर्दनाक अवस्थामा चारै जनाको शव भेटिएको हो ।

प्रारम्भिक अनुसन्धानमा प्रहरीले पारिवारिक झगडाले नै उक्त घटना घटेको जनाइएको छ । स्थानीयका अनुसार पनि पहिलेदेखि नै झगडा हुने गरेको थियो । भनाभन पनि हुने गरेको र छिमेकीले कहिलेकाहीँ दुवै राखेर सम्झाउने गरेका पनि थिए तर उक्त झगडा बेलैमा समाधान हुन नसक्दा जीवन समाप्त हुन पुग्यो ।

काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या