NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

२१ वर्षपछि जागिरमा पुनर्बहाली

पर्वत । शिक्षा नियमावलीमा स्थायी नियुक्ति भएका शिक्षकले २० वर्ष नियमित काम गरेमा मासिक निवृत्तिभरण (पेन्सन) पाउने व्यवस्था छ । पर्वतका पाँच शिक्षक भने जागिर छाडेको २१ वर्षपछि काममा फर्किएका छन् । तत्कालीन सशस्त्र द्वन्द्वका कारण विस्थापित शिक्षकलाई सरकारको निर्णयअनुसार यसै सातादेखि काममा फर्काइएको हो ।

मन्त्रिपरिषद्को गत फागुन १६ को निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्राचार गरेपछि विस्थापित शिक्षक पुनर्बहाली निर्देशिकाको अनुसूची ३ (क) मा सूचीकरण भएका शिक्षकलाई सेवामा फर्काइएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । इकाइका अनुसार कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका रामप्रसाद लामिछाने, पैयुँ गाउँपालिका–६ सरौंखोलाका जयनारायण तिवारी, मोदी गाउँपालिका–२ देउपुरका जीवनाथ शर्मा, कुश्मा–१० पिपलटारीका नारायण लामिछाने र बिहादी गाउँपालिका–२ बर्राचौरका पुष्पानन्द गिरी पुनर्बहाली भएका हुन् ।

रामप्रसाद लामिछानेलाई कुश्मा–१२ स्थित जनज्योति आधारभूत, तिवारीलाई पैयुँ–४ को जनसेवा संस्कृत मावि, शर्मालाई मोदी–३ को लाङ्दी प्रावि र गिरीलाई बिहादी–२ को आम्बारी आधारभूत विद्यालयमा पुनर्बहाली गरिएको छ । लामिछाने २०५८ सालमा कुश्मा–१२ मा रहेको पुष्पमदन प्राविबाट, तिवारी ०५८ सालमा पैयुँ–६ को बिनु माविबाट विस्थापित भएका थिए ।

त्यस्तै, शर्मा २०६० सालमा मोदी–२ को नवज्योति थम माविबाट, गिरी २०५७ सालमा बिहादी–२ को लक्ष्मी प्राविबाट र नारायण लामिछाने ०५८ सालमा कुश्मा–१० को जनक माविबाट विस्थापित भएका थिए । पुनर्बहाली भएकामध्ये नारायण लामिछानेले गत असार १५ मा ६० वर्ष पुगेका कारण पेन्सन सुविधा पाएका छन् । उनले विद्यालय हाजिर नभएरै पेन्सन सुविधा प्राप्त गरेको शिक्षा इकाइ प्रमुख रामेश्वर लामिछानेले बताए ।

तिवारीले आउँदो भदौ २९ सम्म मात्रै सेवा गर्न पाउने व्यवस्था छ । स्वतः अवकाश हुने समयमा पुनर्बहाली भएकाले सोही उमेरसम्म भए पनि अध्यापन कार्यमा सक्रिय भएर लाग्ने तिवारीले प्रतिक्रिया दिए । शिक्षक रामप्रसाद लामिछानेका अनुसार देशैभरका विस्थापित शिक्षकको विषयमा विस्थापित अवस्थाको पनि सेवा सुविधासहित पुनर्बहाली गर्न सर्वोच्च अदालतले गत वर्ष भदौ १५ मा आदेश दिएको थियो ।

तर सरकारले पुनरवलोकनका लागि भन्दै पुनः सर्वोच्चमा निवेदन दिएकामा उक्त निवेदन गत सोमबार खारेज भएको छ । यस्तै, विस्थापित हुने बेला प्राथमिक तह तृतीय श्रेणीमा रहेका अन्य चार शिक्षक पनि पुनर्बहाली भएका छन् । उनीहरूले पनि अन्य शिक्षकसरह उमेरको हदबन्दी लाग्ने समय ६० वर्ष पूरा नहुन्जेलसम्म शिक्षण गर्न पाउने इकाइ प्रमुख लामिछानेले बताए । कान्तिपुर दैनिकमा खबर छ ।