NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

खोला मिचेर घर बनाउन नगरपालिकाकै स्वीकृति

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले वडा नम्बर १० साततलेमा भवन निर्माणका लागि स्थानीय कामना उपाध्यायलाई २०७४ मङ्सिर १ गते इजाजत दियो । २०७७ साउन २४ गते नगरकै प्राविधिकको निरीक्षणमा स्वीकृत नक्साअनुसारै घर निर्माण सम्पन्नको प्रमाणपत्र दिइएको छ ।

काठमाडौँ नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सीमास्थित चखुँचाखोलाको उत्तरतर्फ निर्माण गरिएको उक्त भवन निर्माण सम्पन्नपछि दिइएको प्रमाणपत्रमा खोलाको भाग छोडेको भन्ने कतै उल्लेख छैन ।

प्रमाणपत्रको बुँदा नं। ६ मा ‘नदी किनारमा भए त्यसका लागि छोड्नुपर्ने दूरी, छोडेको दूरी र नदीको नाम’ उल्लेख गर्नुपर्ने प्रावधान छ । तर चखुँचाखोलालाई ‘सडक’ करार गरी नगरपालिकाले नक्सा स्वीकृति दिएको छ । तर काठमाडौँ महानगरतर्फ चखुँचाखोलाको भागका लागि लगाइएको पर्खाल र खोलाको मापदण्ड पालना गर्दा उपाध्यायको घरको पछाडिको भागले सडकको केही फिट छुन्छ तर निर्माण सम्पन्न कागजातमा सडकबाट छाड्नुपर्ने दूरी पनि खुलाइएको छैन ।

उनका श्रीमान् प्रणय आचार्यले नगरपालिकाको स्वीकृतिमा घर निर्माण गरिएको बताउँदै आफूले खोला नमिचेको दाबी गरे । उनले भने, “अहिले यहाँ खोलै छैन, कसरी मिच्नु रु नगरको स्वीकृतिमा घर बनाएको हो, खोलाको विषय उठे नगरले दिएको प्रमाण हामीसँग छँदैछ ।”

सोही वडाका स्थानीय दीपककुमार श्रेष्ठले २०६८ सालमा घर निर्माण गर्दा स्थानीय निकायबाटै स्वीकृति पाएका थिए । ‘३० फिट बाटो भएको नम्बरी जग्गा’ लिएको बताउँदै श्रेष्ठले तत्कालीन कपन गाविस र अहिले बूढानीलकण्ठ नगरपालिकाले नै चखुँचाखोलालाई अनधिकृत रूपमा मिच्ने सुविधा दिएको दाबी गरे । उनले भने, “पहिले चखुँचाखोला थियो, क्रमशः मिच्दै गएर अहिले ह्युमपाइप लगाएर धोबीखोलामा पु(याइएको छ, बाढीको सङ्कट र अरू समस्याको विषयमा जनप्रतिनिधिहरू बेलैमा जिम्मेवार बन्नुपर्ने थियो, त्यसमा ध्यान किन पुगेन ? सवाल यो हो ।”

बहुराष्ट्रिय कम्पनीसहित प्रतिष्ठित कम्पनीमा काम गरिसकेका आचार्य र व्यवसायी श्रेष्ठसँगै यज्ञमती र चखुँचाखोला किनारका बस्तीमा घर निर्माणको स्वीकृति पाउने अधिकांश स्थानीयवासी नगरपालिकाकै लापरबाहीले खोलाको अस्तित्व मेटिन लागेको बताउँछन् । यज्ञमती र चखुँचाखोलालाई पुनः कायम गर्न ठूलै ताकत लाग्ने उनको भनाइ छ ।

नक्सामा छ, खोलाचाहिँ छैन

नापी कार्यालय चाबहिलका अनुसार २०२२ र २०४५ सालमा गरिएको नापीको नक्साङ्कनमा यज्ञमती र चखुँचाखोलाको भाग छुट्याइएको छ तर पछिल्लो समय अद्यावधिक गरिएको नक्सामा खोलालाई सडकमा परिणत गरिएको छ । नापी कार्यालयको नक्साकै आधारमा यज्ञमती र चखुँचाखोला कायम गर्ने विषयमा स्थानीय राजनीतिक र सामाजिक अगुवाहरूबीच विवाद बढेपछि २०७४ फागुन ३ गते खोला मिचेको ठाउँमा ‘मार्किङ’ गर्ने र अब खोलाको मापदण्ड कायम गर्ने निर्णय भयो ।

निर्णयमा भनिएको छ, ‘साततलेदेखि आनीगुम्बासम्म सडकका लागि चार मिटर जग्गा नछाडिएका ठाउँमा मापदण्ड कायम गराउन काठमाडौँ महानगरपालिका–६ र बूढानीलकण्ठ १० र १२ का तर्फबाट सम्बन्धित निकायमा पत्राचार गर्ने र तीनै वडाको सक्रियतामा मापदण्डअनुसार जग्गा नछाडिएका ठाउँमा मार्किङ गर्ने निर्णय गरियो ।’निर्णयमा काठमाडौँ महानगर–६ का तत्कालीन वडाध्यक्ष दीपेन्द्र लामा, बूढानीलकण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराई, १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईसहितका जनप्रतिनिधिले हस्ताक्षर गरेका छन् । तर त्यसयता घर निर्माण गर्न स्वीकृति दिँदा नगरपालिकाले खोलाको मापदण्ड पालना गरेको छैन । वडा नं. १२ का अध्यक्ष भट्टराईले पहिल्यैदेखि पद्धति नबसेकाले खोलाको मापदण्ड पालना गर्न नसकिएको बताए ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले आफूले तत्कालीन कपन गाविस अध्यक्ष हुँदा नै खोला संरक्षणका लागि अनुरोध गरेको बताए । उनले कपन क्षेत्रको पानीको स्रोत यज्ञमती र चखुँचाखोला नै रहेको बताउँदै खोला कायम गर्ने विषयमा सरकारले लिने कदममा साथ दिने प्रतिबद्धता व्यक्त गरे । व्यवसायी श्रेष्ठले तत्कालीन गाविस र अहिले नगरपालिकाले गरेको गल्ती सच्याए आफूहरू साथ दिन तयार रहेको बताए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष