NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एक वर्षमा साढे १७ अर्बको फलफूल आयात

काठमाडाैं । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिब साढे १७ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफूल नेपाल भित्रिएको हो । सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको विभागले जनाएको छ।

उक्त मूल्यमा गत आर्थिक वर्ष विभिन्न प्रकारका २९ करोड ७८ लाख ८२ हजार ३७ केजी फलफूल नेपाल भित्रिएको छ। गत वर्ष नेपालले ७ अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँको स्याउ र १ अर्ब ६३ करोड ७१ लाख ३४ हजार रुपैयाँको केरा आयात गरेको छ।

सोही समयमा १ अर्ब १० करोड ९४ लाख ७८ करोड रुपैयाँको आँप तथा अम्बा, १ अर्ब २७ करोड १९ लाख ७५ हजार रुपैयाँको सुन्तला र २ अर्ब ४४ करोड ५४ लाख ४३ हजार रुपैयाँको अंगुर नेपालले आयात गरेको छ।

विभागका अनुसार गत वर्ष १ अर्ब १३ करोड ६२ लाख ८८ हजार रुपैयाँको अनार, ५६ करोड १८ लाख ७५ हजार रुपैयाँको खरबुजा, २६ करोड ५४ हजार रुपैयाँको मेवा र १५ करोड १ लाख ७५ हजार रपैयाँको भुइकटर नेपाल भित्रिएको छ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा नेपालले विभिन्न देशबाट १६ अर्ब ५२ करोड ६२ लाख २० हजार रुपैयाँको फलफूलहरु आयात गरेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालले ९३ करोड ६० लाख ३६ हजार रुपैयाँ बढीको फलफूल आयात गरेको विभागको तथ्यांकले देखाउँछ।