NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विश्व स्तनपान सप्ताह : आमाको दूध नै किन प्रभावकारी ?

काठमाडौं । विश्व स्तनपान सप्ताह सन् १९९२ देखि हरेक वर्ष १ देखि ७ अगस्टसम्म मनाइन्छ। यस वर्षको नारा ‘स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौं ’ रहेको छ ।

विश्व स्वास्थ्य संगठनले भर्खर जन्मेका देखि ६ महिनासम्मका शिशुलाई आमाको दूध मात्र खुवाउन निर्देशन दिएको छ । आमाको दुधमा बालबालिकाहरुका लागि ६ महिनासम्म आवश्यक पर्ने पौष्टिक तत्व हुन्छ । यसले बालबालिकाको वृद्धि र विकास हुन तथा संक्रमणबाट बचाउन सहयोग गर्छ । तर अझै पनि स्तनपान र स्तनपानको बारेमा हाम्रो वरिपरि बहस हुन्छन् । कहिलेकाही यस्ता कुराहरू भनिन्छ, जसको कुनै आधार हुँदैन। स्वास्थ्य संगठनले पनि यसबारे सचेतना अभियान चलाउँछ र यसको एउटा महत्त्वपूर्ण हिस्सा विश्व स्तनपान सप्ताह हो।

आमाको दूधको बारेमा जानकारीको कुनै कमी छैन। अस्पताल, स्वास्थ्य केन्द्र तथा प्राथमिक स्वास्थ्य केन्द्र लगायतका धेरै सार्वजनिक स्थानहरूमा यसको फाइदाको चर्चा गर्न बोर्ड र होर्डिङहरू प्रशस्तै राखिएको हुन्छन् । साथै, चिकित्सकहरु बच्चाको जन्म पछि तत्काल आमाको पहेंलो कन्डेन्स्ड दूध खुवाउन आग्रहसमेत गर्छन् किनकि त्यसले शिशुको रोग प्रतिरोधी क्षमता बढाउनका साथै निमोनिया, कुपोषण, झाडापखाला जस्ता रोगबाट शिशुलाई बचाउँछ ।

यसले शिशु र आमाको सम्बन्धलाई प्रगाढ बनाई मानसिक तनावसमेत कम गर्ने विज्ञहरुको भनाई छ । स्तनपानले शिशुलाई मात्र फाइदा नभई आमालाई पनि त्यति नै फाइदा पुर्याउँछ । तर कहिलेकाही सही जानकारीको अभावले आमाहरू आमाको दूधको विकल्पको रूपमा फर्मुला दूध प्रयोग गर्छन्। एकै समयमा, धेरै आमाहरूले उनीहरूसँग पर्याप्त दूध नभएको गुनासो गर्छन्, जसका कारण उनीहरू फर्मुला दूध प्रयोग गर्न बाध्य छन्।

फर्मुला मिल्कलाई बेबी फर्मुला वा शिशु सूत्र पनि भनिन्छ। यो सामान्यतया गाईको दूधबाट बनाइन्छ। स्वास्थ्यको कुरा गर्ने हो भने विश्व स्वास्थ्य संगठनले स्तनपानलाई शिशुको लागि उपयुक्त आहार मानेको छ । स्तनपान र फर्मुला दूधको बारेमा धेरै भ्रमसमेत छन्। फार्मुला दूधले बच्चाको विकासमा सुधार गर्छ, फर्मुला दूधले बच्चालाई भोकै राख्दैन ,फर्मुला दूधमा बच्चालाई चाहिने सबै पोषक तत्वहरू हुन्छ तथा आमाको दूधले बच्चाको पेट भर्दैन, जस्ता भ्रमहरु आमामा हाबी छन् ।

शिशुलाई आमाको दूध पहिलो प्राथमिकता हो, किनभने यो विशेष गरी शिशुका लागि बनाइएको हुन्छ । शिशुलाई दिनमा ८ देखि १२ पटकसम्म स्तनपान गराउँदा राम्रो मानिन्छ । आमाको दूधमा केही यस्ता तत्व हुन्छन् जसले रोग प्रतिरोधी क्षमता बढाउँछ । संक्रमण रोक्छ जबकी फर्मुला मिल्कमा यो क्षमता हुँदैन । केही यस्ता फ्याटी एसिड पनि हुन्छन्, जुन बच्चाको मस्तिष्कको विकासका लागि आवश्यक हुन्छ । स्तन दूधमा भिटामिनहरू प्राकृतिक हुन्छन् । छातीमा तथा कानमा संक्रमण स्तनपान गराउने बच्चाहरूमा कम हुन्छ ।