NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

स्मार्टच्वाइस, सहकारी बैंक र ग्लोबल आइएमईद्वारा सहकारीका लागि कोप कार्ड सेवा शुभारम्भ

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकद्वारा सहकारीहरूका लागि कोपकार्डको सेवा शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेडले विगत २० वर्षदेखि बैंक तथा वित्तीय संस्थालाई एटिएम कार्डको सेवा दिँदै आइरहेका छ । कम्पनीले अबबाट सहकारी सस्थांहरू लागि सहकारी पहिचानसहितको कोप कार्ड सेवा राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंकको २० औं स्थापना दिवसमा समुद्घाटन गरेको जनाएको छ ।

राष्ट्र बैंकको नीति तथा निर्देशनअनुरुप कम्पनीले समग्र भुक्त्तानी प्रणालीमा र विद्युतीय कारोबारमा एटिएम, क्युआर कोड र मोबाइल बैंकिङमार्फत सेवाग्राहीलाई सेवा दिँदै आइरहेको छ ।

हालसम्म बैंक तथा वित्तीय संस्थालाई मात्र सुविधा दिँदै आएको उक्त कम्पनीले बढ्दै गएको सहकारीको भूमिका तथा कारोबारलाई मध्यनजर गरेर सहजै एटिएम जारी गर्ने प्रविधि र प्रक्रिया मिलाएको उल्लेख गरेको छ । कम्पनीले प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुने तथा नेपाल र भारतमा एटिएम पिओएस जुुनसुकै स्थानबाट सहजै चलाउन सकिने कम्पनीले जनाएको छ ।

उक्त कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीहरूले जारी गर्ने कम्पनीले बताएको छ । सहकारीले आफ्नो सदस्यलाई कोप कार्ड वितरण गरेपछि सो संस्थामा आवद्ध सदस्यले सहकारीको खाताबाट जुनसुकै समयमा पनि एटिएममार्फत रकम निकाल्न तथा पिओएसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने र साधारण बैंकिङ कारोबारका लागि बैंक जानुपर्ने बाध्यताबाट मुक्ति दिइ सहकारीको विकासमा थप योगदान पुग्ने विश्वास लिएको छ ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईँले यस सेवाले सहकारीलाई विद्युतीय कारोबारका लागि थप प्रविधियुक्त सेवा दिँदै जाने र सहकारीलाई यसले अझ सबल बनाउँदै जाने विश्वास भएको बताए ।

त्यस्तै, समारोहमा बोल्दै स्मार्टच्वाइस टेक्नोलोजीका अध्यक्ष सुमन पोखरेलले विद्युतीय भुक्तानी प्रणलीमा सहकारी क्षेत्र जोडिन पाउँदा यस क्षेत्रको समग्र सेवा विविधिकरण हुने विश्वास राख्दै, एससिटीले बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्न इच्छुक रहेको धारणा राखेका थिए ।