NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ भदौ २ गते

बैंग्लोरदेखि पैदलै मुक्तिनाथ

काठमाडौं । भारत बैंग्लोरका एन चन्द्रशेखर सरकारी जागिरे जीवनपछि निवृत्त भए । त्यही फुर्सदिलो जीवनलाई ऊर्जावान् बनाउन पैदल यात्राको योजना बनाए । बैंग्लोरदेखि मुक्तिनाथसम्मको ९ हजार ५ सय किलोमिटर पैदलयात्रा पूरा गरेका उनी बिहीबार पोखरा झरेका छन् ।

कोरोना संक्रमणको अन्त्य, नेपाल–भारतका जनताबीच भाइचारा सम्बन्ध स्थापित र धार्मिक यात्रीका रूपमा १९ हजार किमि पैदलयात्रा लक्ष्य राखेको उनले बताए । पोस्ट अफिसरबाट सेवानिवृत्त भएपछि केही समय घरपरिवारलाई दिएपछि उनले यात्राको योजना बनाएका हुन् । भारतको कर्नाटक, महाराष्ट्र, गुजरात, मध्यप्रदेश, उत्तर प्रदेशसहित नेपालको नेपालगन्ज, लुम्बिनी, पाल्पा, स्याङ्जा, पर्वत, बागलुङ हुँदै मुक्तिनाथसम्म पैदलयात्रा गरिसकेका छन् । ‘मेरो यो धार्मिक र सद्भावना यात्रा हो,’ ६७ वर्षीय उनले भने, ‘शिवलिंगहरूको दर्शनलाई पनि यात्रामा जोडेको छु ।’ हरिद्वार, ऋषिकेश, नीलकण्ठजस्ता क्षेत्रको पनि पैदलयात्रा गरिसकेको उनले बताए । भारतकै यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथको पनि उनले भ्रमण गरेका छन् ।

कर्नाटक राज्य सरकारले उनलाई यात्राको अनुमतिपत्र पनि दिएको छ । उक्त पत्र लिएर यात्रा गर्दा आफूलाई धेरै स्थानमा सहयोग मिलेको उनले बताए । ‘मैले कसैको नगद लिएको छैन, तर कसैले चिया खाजा खुवाए खान्छु,’ चन्द्रशेखरले भने, ‘भ्रातृत्वको भावना विकास गर्ने योजनामा हिँडेकाले धेरैले माया गरिदिए ।’ निवृत्त जीवन भएकाले आफूलाई डर, चिन्ता र लोभ नभएको उनको भनाइ छ ।

हरेक दिन बेलुकी उनले दिनभर यात्रा गरेका स्थानको तस्बिर पत्नी र छोरीलाई पठाउने गरेका छन् । अवस्था हेरेर उनी दैनिक २४ देखि ३० किमि हिँड्छन् । कुनै दिन ३७ किमिसम्म यात्रा गरेको उनको अनुभव छ । जहाँ पुग्छन्, त्यहाँको भूगोल र भेटेका साथीको तस्बिर कैद गर्छन् । ती तस्बिर र अनुभवलाई लेखनमार्फत संग्रह गर्ने पनि उनको चाहना छ ।

मुक्तिनाथदेखि फर्कंदा उनी कोबाङ आएर बास बसे । त्यसपछि दाना हुँदै बेनी आए । मंगलबार बेनीमा बास बसेका उनी बुधवार पैदल २४ किमि यात्रा गरेर पर्वतको कुश्मा पुगे । बिहीबार पोखरा हानिए । अब पोखराको गुप्तेश्वर, गोरखाको मनकामना र काठमाडौंको पशुपतिनाथ दर्शन गर्ने उनको लक्ष्य छ । ‘नेपालका महत्त्वपूर्ण गन्तव्य घुमेपछि पुनः गोरखपुर हुँदै अयोध्या, वाराणसी, झारखण्ड, जगन्नाथ, आन्ध्रप्रदेश, शैलमल्लिकार्जुन, तिरुपति बालाजी भएर रामेश्वरम्बाट पुनः बैंग्लोर पुग्छु,’ उनी भन्छन्, ‘त्यसका लागि अझै ११ महिना समय लाग्छ । सो अवधिमा १० हजार किमि यात्रा हुनेछ ।’

सरकारी सेवाबाहेक आफू भारतको एथलेटिक्स खेलाडी रहेको र एसियाली तथा अन्तर्राष्ट्रिय खेलमा पदकसमेत जितेको उनको भनाइ छ । लामो दूरीको दौडमा भाग लिएको र निरन्तर पुरस्कृत भएको अनुभवले पैदल यात्रा सहजजस्तै लागेको उनले बताए । उनी भारतको हुलाक विभागमा ३३ वर्षसम्म जागिरे जीवनपछि पोस्ट अफिसरको रूपमा सन् २०१६ मा निवृत्त हुन् । सन् २०२१ डिसेम्बर १ मा बैंग्लोरबाट उनले पैदलयात्रा थालेका थिए । ‘एक वर्षको यात्रामा एक पटक सर्दी लाग्यो, दबाई खाएर निको भएँ,’ उनले भने, ‘अरू कुनै रोग र थकाइ पनि लागेन ।’ बरु हरेक स्थानका मानिसले साथ र सहयोग दिएको उनले अनुभव सुनाए । निरन्तरको यात्रापछि आरामले सुत्ने गरेको र भोलिपल्ट उत्तिकै हिँड्न सकेको उनी बताउँछन् ।

सादा खाना, प्रशस्त पानी पिउने गरेकाले शरीर स्वस्थ रहेको उनको अनुभव छ । ‘मुक्तिनाथ यात्रामा केही कष्ट भयो । म्याग्दीको अधिकांश सडक खण्डमा खसेका पहिरो र कालीगण्डकीको गहिरो गल्छीले तर्सायो,’ उनले भने, ‘तर स्थानीय मानिसले राम्रो गुन लगाए । केही सुरक्षित बाटो देखाउने, खान–बस्न साथ दिने मानिस भेटें ।’

बागलुङ नगरपालिका–६ का विश्वयात्री रामजी नेपालीले समेत उनको यात्रामा साथ र सहयोग गरेका छन् । नेपाली विश्वका सबै देशको राष्ट्रिय गान गाउने अभियानमा छन् । अहिलेसम्म उनी १ सय देशको गीत गाउन सक्छन् । कान्तिपुर दैनिकमा खबर छ ।