NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

निजामतीमा छिरेको १० वर्ष नपुग्दै सहसचिव बन्न सफल भाग्यमानीहरू

काठमाडौं । खुला र आन्तरिक प्रतिस्पर्धाका लागि ऐनले गरेको व्यवस्थाका कारण सेवा प्रवेश गरेको छोटो समयमै फड्को मार्ने निजामती कर्मचारी पनि उल्लेख्य छन् । ०७४ मंसिरमा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी रेखा दास चार वर्षमै सहसचिव बनिन् । खुला प्रतिस्पर्धाबाट उनी ०७८ कात्तिकमा सहसचिव बनिन् ।

खरिदारबाट सेवा सुरु गरेका हेमराज तामाङ त नौ वर्षकै अवधिमा नासु, अधिकृत, उपसचिव हुँदै सहसचिवसम्मको सिँढी चढ्न सफल भए । ०६७ चैतमा खरिदारमा भर्ना भएका उनले ०६८ मंसिरमा नासु, ०६९ असोजमा शाखा अधिकृत र ०७४ साउनमा उपसचिवमा छलाङ मारे । ०७७ असारमा सहसचिवमा नाम निकाले । ‘बलियो अठोट, सकारात्मक सोच, सिर्जनात्मक अध्ययनका कारण नै म नौ वर्षकै अवधिमा खरिदारबाट सहसचिवसम्म बन्न सफल भएँ,’ उनले भने ।

कास्कीका नवीनचन्द्र अधिकारी पनि सरकारी सेवा प्रवेश गरेको आठ वर्षमै सहसचिव भए । ०७० जेठमा इन्जिनियर (शाखा अधिकृतसरह) बाट सेवा प्रवेश गरेका उनी ०७७ माघमा सिनियर डिभिजनल इन्जिनियर हुँदै ०७८ मंसिरमा सुपरिटेन्डेन्ट इन्जिनियर बनेका हुन् । चितवनका सन्देश श्रेष्ठ सरकारी सेवामा छिरेको नौ वर्षमा सहसचिव बने । उनी ०६६ माघमा शाखा अधिकृत भएका थिए । ०७३ असारमा उपसचिव हुँदै उनी ०७५ चैतमा सहसचिव बने । तामाङ, अधिकारी र श्रेष्ठ तीनैजना ३३ वर्षको उमेरमै सहसचिव भएका हुन् ।

नयाँ पत्रिकाका अनुसार जुम्लाका गोगनबहादुर हमाल सेवा प्रवेश गरेको ६ वर्षमै सहसचिव बने । ०६७ मा मेकानिकल इन्जिनियर (शाखा अधिकृतसरह) भएका उनी ०७४ मा उपसचिव हुँदै त्यही वर्ष सहसचिव भए । इन्जिनियरिङतिरबाट सेवा सुरु गरे पनि प्रशासनतर्फबाट लडेर उपसचिव बने । ‘म इन्जिनियरिङ पढेर र इन्जिनियरिङ सेवाकै शाखा अधिकृत भए पनि प्रशासनको उपसचिव बन्न आएँ,’ उनी भन्छन्, ‘नीतिगत प्रभाव र गर्न सकिने क्षेत्रका हिसाबले प्रशासनमा धेरै स्कोप देखेपछि यता आएको हुँँ ।’ हमाल ३५ वर्षमा सहसचिव भएका हुन् ।

त्यस्तै, गुल्मीका सुरेश पन्थीले उपसचिव भएको दुई महिनामै सहसचिवमा नाम निकाले । ०७० मा खरिदारबाट सेवा प्रवेश गरेर ०७२ मा शाखा अधिकृत भएका उनी ०७८ पुसमा उपसचिव भएका थिए । त्यसको दुई महिनामै सहसचिवमा नाम निकाले । त्यतिखेर उनी ३४ वर्षका थिए । त्यस्तै, जानुका पण्डित सेवा प्रवेश गरेको सात र स्किम श्रेष्ठ आठ वर्षमा सहसचिव भएका हुन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष