NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

संविधान रक्षाका लागि तालमेल आवश्यक : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् ।

सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए ।

उनले भने, “सरकार पनि गठबन्धनको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।”

तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनु पर्ने उनको दाबी छ । तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले थपे, ‘एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनु पयो ।’

अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्बाचनमा आउने उहाँको भनाई थियो ।

संविधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनको बिरुद्धमा एक भएका दलहरु एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोइरालाले बताए ।

यसैबीच, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको बताए । उनले भने, “टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिले देखिनै बनाउनु पर्छ ।”

देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो ।

फरक प्रसंगमा बोल्दै पौडेलले कांग्रेसका भातृ संस्थाहरुले साउन महिनाभित्रै पूर्णता पाउने बताए ।

तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचनकेन्द्रित हुने भन्दै उनले निर्वाचनपछि भातृ संस्थाहरुको अधिवेशन हुने बताए । उनले भने, ‘भातृ संस्थाहरुले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन् । भातृ संस्थाको अधिबेशन निर्वाचन पछि मात्रै होला ।’

ताजा अपडेट

नेपालवाच विशेष