NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

शक्ति पृथकीकरणका आयाम र कर्मचारी उत्प्रेरणाबारे सहसचिव डा. टोकराज पाण्डेको जवाफ

सरकारी सेवा प्रवेश गर्न लोक सेवाको परीक्षा उत्तीर्ण हुनुपर्छ । तर यो खुड्किलो पार गर्न सजिलो भने छैन । अनेक द्विविधा र अन्योलताले परीक्षार्थी सताइने गरेका छन् ।

लोक सेवा परीक्षार्थीले झेलिरहेको यस्तै सकस चिर्न हामीले पूर्वप्रशासक र प्रशासकबाट समाधान पहिल्याउने प्रयास थालेका छौं ।

आजको श्रृंखलामा नेपाल सरकारका सहसचिव डा. टोकराज पाण्डले महत्त्वपूर्ण दुई प्रश्नको समाधान सुझाएका छन् :

१) शक्ति पृथकीकरण भनेको के हो उल्लेख गर्दै शक्ति पृथकीकरणको सबल र दुर्वल पक्षबारे उल्लेख गर्नुहोस् ?  (2+4+4)

नागरिक अधिकार रक्षाका लागि शक्ति पृथकीकरण

– राज्यको शक्तिलाई कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाबीच स्पष्ट विभाजन र कार्य स्वतन्त्रतासम्बन्धी सिद्धान्तलाई शक्ति पृथकीकरण भनिन्छ । शक्ति पृथकीकरण एउटै व्यक्त्ति वा निकायमा शक्तिकेन्द्रित गर्नु हुँदैन भन्ने राजनीतिक सिद्धान्त हो । Deliberative judicial र official कार्यहरु राज्यका तीन अंगबाट छुट्टाछुट्टै सम्पादन हुनु पर्दछ भन्ने मान्यता यस सिद्धान्तले राख्छ ।

लोक सेवाका दुई प्रश्न, सहसचिव पाण्डेकाे समाधान

– संवैधानिक विधिशास्त्रमा यसलाई महत्त्वपूर्ण स्थान दिइएको छ । यस सिद्धान्तको प्रतिपादक फ्रेन्च दार्शनिक मन्टेस्क्यु हुन् । उनले आफ्नो चर्चित पुस्तक The spirit of law  मा सन् १७४८ मा  यस सिद्धान्तबारे व्याख्या गरेका थिए। नेपालको संविधानले पनि राज्यशक्तिलाई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा विभाजन गरी शक्ति पृथकीकरणको सिद्धान्तलाई अवलम्बन गरेको   छ ।

शक्ति पृथकीकरणको सिद्धान्तले निम्न विषयवस्तुलाई समेटेको हुन्छ :

  • राज्य शक्तिलाई यसको प्रकृतिको आधारमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा विभाजन गर्नुपर्छ ।
  • राज्यशक्तिको प्रयोग गर्ने प्रत्येक अंग एक अर्काबाट स्वतन्त्र रहनु पर्छ ।
  • कुनै एक व्यक्त्ति एकै समयमा एकभन्दा बढी अंगमा बहाल रहनु हुँदैन ।

शक्ति पृथकीकरणका सबल पक्षहरु

  • शासकीय व्यवस्थालाई जनमैत्री र पारदर्शी बनाउँछ,
  • राज्यशक्तिको उपयुक्त प्रयोगबाट शासन व्यवस्थामा स्थायित्व कायम गर्छ,
  • शक्ति सन्तुलन र नियन्त्रणको लागि आधार तयार हुन्छ,
  • कार्यमा हुने दोहोरोपना र जटिलता कम गर्दै शासन व्यवस्थालाई सरल र सहज बनाउँछ,
  • निष्पक्ष र स्वतन्त्र न्यापालिकाको व्यवस्था गर्दै प्रजातन्त्रको सुदृढीकरणमा टेवा पुग्छ,
  • सम्पूर्ण नागरिकको मौलिक हकको प्रर्वद्धन हुन्छ,
  • नागरिक हक, हित, स्वतन्त्रता र अधिकारको पक्षपोषण गर्दछ ।

शक्ति पृथकीकरण दुर्बल पक्षहरु

  • Absolute शक्ति पृथकीकरण हुन सक्दैन । तसर्थ निरपेक्ष रूपमा लागू गर्न कठिनाइ हुन्छ,
  • संसदीय प्रणालीमा शक्ति पृथकीकरण व्यावहारिक र वैज्ञानिक देखिँदैन,
  • निरपेक्ष शक्ति पृथकीकरण हुँदा राज्यका अंगहरूबीच द्वन्द्वात्मक अवस्थाको सिर्जना हुन्छ,
  • कार्यपालिकाको कार्यमाथि बन्देज लाग्ने हुन्छ,
  • कार्यपालिकाले अध्यादेश जारी गर्न समेत स्वतन्त्र रहँदैन,
  • पृथकीकरणबाट भन्दा शक्तिको नियन्त्रण र सन्तुलनबाट नागरिक अधिकार रक्षा हुन्छ ।

अन्त्यमा,

राज्य शक्तिलाई एकीकरण गरी निरङ्कुशतन्त्रको अभ्यास तथा शक्तिको दुरूपयोग हुन नदिन शक्ति पृथकीकरणको सिद्धान्तको प्रतिपादन भएको हो । शक्त्ति पृथकीकरणबाट शासन प्रणालीमा आउन सक्ने असामञ्जस्यता, वैमनस्यता र निरङ्कुशताको अन्त्य गरी शासन व्यवस्थामा पारदर्शिता र जवाफदेहिता कायम गर्न यस सिद्धान्तको महत्त्वपूर्ण भूमिका रहने गर्छ । संवैधानिक व्यवस्थाअनुरूप यसको परिचालन र कार्यान्वयन गरी नागरिक अधिकारको रक्षा गर्नु आजको खाँचो हो ।

मध्यमकालीन खर्च संरचना र यसको उद्देश्य 

२) उत्प्रेरणा भनेको के हो ?  निजामती सेवामा कर्मचारी कार्यप्रति उत्प्रेरित हुन नसक्नुका कारणहरु उल्लेख गर्दै समाधानका उपायहरुबारे चर्चा गर्नुहोस् ? (2+4+4)

 मनैदेखि उब्जेको सकारात्मक भावना उत्प्रेरणा

– कर्मचारीको कामप्रतिको इच्छा, जाँगर, तत्परता, उत्सकुता र जागरुकता नै उत्प्रेरणा हो । उत्प्रेरणा मनैदेखि उब्जने भावना  हो ।

– उत्प्रेरणाले कर्मचारीलाई संगठनात्मक कार्य गर्न बल प्रदान गर्दछ । संगठनात्मक उद्देश्य हासिल गर्न कर्मचारीलाई कामप्रति अग्रसर बनाउन उत्प्रेरणाले महत्त्वपूर्ण भूमिका खेल्छ ।

– उत्प्रेरणा विशेषगरी आवश्यकताको सिद्धान्तसँग सम्बन्धित हुन्छ । मानिसका आवश्यकता र उद्देश्यहरु अनगिन्ती हुन्छन् । ती आवश्यकता र उद्देश्यहरु परिपूर्ति गर्न व्यक्ति कामप्रति उत्प्रेरित हुने गर्छ ।

पहिलोपटक लोकसेवा तयारी गर्दै हुनुहुन्छ ? यस्ता छन् ध्यान दिनुपर्ने कुरा

निजामती सेवामा कर्मचारीहरु काम प्रतिउत्प्रेरित हुन नसक्नुका कारणहरु

  • कर्मचारी व्यवस्थापनसम्बन्धी नीति तथा आधारहरू स्पष्ट नहुनु,
  • कर्मचारीको वृत्ति विकासको आधारहरूलाई फराकिलो पार्दै लैजान नसक्नु,
  • सांगठनिक कार्यहरूमा कर्मचारीको बढीभन्दा बढी सहभागिता बढाउन नसक्नु,
  • कार्यप्रक्रियालाई सरलीकरण गर्दै अधिकारको प्रत्यायोजन नगरिनु,
  • कार्यवातावरणलाई office friendly बनाउन नसक्नु,
  • समान पदमा हुने असमनताको स्थितिको अन्त्य हुन नसक्नु,
  • कर्मचारीको क्षमता र रुचिअनुसार पदस्थापन नगरिनु,
  • आदेशमा एकताको सिद्धान्तको व्यावहारिक प्रयोग नहुनु,
  • वैज्ञानिक व्यवस्थापनको सिद्धान्तलाई अवलम्बन नगरिनु,
  • स्थानीय तहमा कार्यरत कर्मचारीको कार्यबोझ कम गरी सेवा सुविधालाई बढाउदै लैजान नसक्नु,
  • कर्मचारीको समायोजन पद्धति वैज्ञानिक हुन नसक्दा कर्मचारीमा नैराश्यता बढ्नु जसको कारण कामप्रति उत्प्रेरित हुन नसक्नु,
  • कर्मचारीको वृतिविकास र सेवाको शर्तहरूमा बारम्बार परिवर्तन भइरहने त्रासको अवस्था सिर्जना हुनु ।

कर्मचारीलाई कार्यप्रति उत्प्रेरित गर्न अवलम्बन गर्नुपर्ने उपायहरू

  • कर्मचारी व्यवस्थापनसम्बन्धी नीति तथा आधारहरू स्पष्ट गराउने,
  • कर्मचारीको वृत्तिविकासको आधारहरूलाई फराकिलो पार्दै लैजाने,
  • संगठनिका कार्यहरूमा बढीभन्दा बढी सहभागिता बढाउँदै लैजाने,
  • कार्यप्रक्रियालाई सरलीकरण गर्दै अधिकारको प्रत्यायोजन गर्ने,
  • कार्यवातावरणलाई office friendly बनाउँदै लैजाने,
  • समान पदमा हुने असमनताको स्थितिको अन्त्य गर्ने,
  • कर्मचारीको क्षमता र रुचिअनुसार पदस्थापन गर्ने
  • आदेशमा एकताको सिद्धान्तको व्यावहारिक प्रयोगमा जोड दिने,
  • वैज्ञानिक व्यवस्थापनको सिद्धान्तलाई अवलम्बन गर्ने,
  • स्थानीय तहमा कार्यरत कर्मचारीको कार्यबोझ कम गरी सेवा सुविधालाई बढाउँदै लैजाने,
  • कर्मचारीको समायोजन पद्धति वैज्ञानिक हुन नसक्दा कर्मचारीमा बढेको नैराश्यतालाई उचित व्यवस्थाद्वारा सम्बोधन गर्ने,
  • कर्मचारीको वृत्तिविकास र सेवाको सर्तहरुलाई स्थायित्व दिने ।

यसरी, कर्मचारीमा मनोबल बढाइ सांगठनिक लक्ष्य हासिल गर्न उत्प्रेरणा एक अति आवश्यक तत्त्व हो । निजामती सेवामा पछिल्लो समयमा कर्मचारीको मनोबलमा आएको गिरावटले सेवाको छवि नै खस्किँदै गइरहेको पाउन सकिन्छ । तसर्थ, निजामती सेवालाई एक प्रतिस्पर्धी र सक्षम सेवाको रूपमा स्थापित गर्न कर्मचारीको मनोबल र उत्प्रेरणा सधैं उच्च राख्नु आवश्यक हुन्छ ।

लोक सेवा टिप्स : स्तरीय उत्तर कसरी लेख्ने ?

 

लोक सेवाको प्रश्न : उपमहालेखा नियन्त्रक विष्णुहरि बरालको समाधान

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन्  कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना  [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर  उहाँहरूले पहिल्याएकाे समाधान  यहाँहरूसमक्ष पस्किने छौं ।)