NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण

चितवन । चितवन मेडिकल कलेजले दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो ।

अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको हो । दसैँ अघि नै रेडिएसनको सेवा दिने गरी तीव्ररुपमा काम भइरहेको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालले इन्स्टिच्युटमा अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको जानकारी दिए ।

उनले भने, ‘नेपालका क्यान्सरका बिरामी अब विदेश जानु पर्दैन ।’ भारतको दिल्लीका ठूला अस्पतालमा जडान गरिएकाभन्दा आधुनिक उपकरण यहाँ जडान भएको उनको भनाई छ । अस्पतालले अत्याधुनिक उपकरण खरिदमा मात्रै एक अर्ब २७ करोड रुपैयाँ खर्च गरेको उनले बताए । अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी दुई अर्बभन्दा बढी खर्च लाग्ने उनको भनाइ छ ।

क्यान्सर सँगसँगै अन्य उपचारका लागि सँगै मेडिकल कलेज भएकाले केही खर्च कटौती भएको जनाइएको छ । इन्स्टिच्युटमा रेडिएसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचार र प्रत्यारोपण हुने निर्देशक डा लम्साले जानकारी दिए ।

भारत, अमेरिकाजस्ता देशमा अध्ययन गरेर ठूला अस्पतालमा काम गरिरहेका मेडिकल अङ्कोलोजी, रक्त क्यान्सर, सर्जरीलगायतका समूह ल्याईदै छ । उनले भने , ‘हामीले विश्वका ठूला अस्पतालमा कामको अनुभव लिएका चिकित्सकसँग सम्झौता गरिरहेका छौँ ।’ गुणस्तरमा कमी हुन नदिने गरी एक सय शैयाको आधुनिक अस्पताल निर्माण गरिएको हो ।

क्यान्सरका बिरामी उपचारका लागि भारतलगायतका अन्य देश जाने गर्दछन् । अत्याधुनिक उपकरण रेडिएसनका लागि जडान गरिएको छ । उनको भनाइमा यो उपकरणले दैनिक एक सय जनासम्मलाई रेडिएसन गर्न सक्दछ । रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ । ट्रियुबिम मोडलको भेरिएन कम्पनीको लिन्याक उपकरण आधुनिक प्रविधिको हो ।

चितवन मेडिकल कलेजसँगै ६ तले ४८ हजार स्क्वायर फिटको भवनमा बङ्करसहितको क्यान्सर अस्पताल निर्माण गरिएको छ । इन्स्टिच्यूटमा रेडिएसन सञ्चालनका लागि अन्तिम तयारीमा रहनु भएका रेडिएसन अङ्कोलोजिष्ट डा सुवास ठाकुरले रेडिएसन उपकरणभित्र ६ डि काउज र हाइपर आर्च रहेको जनाउँदै यसले टाउकोभित्रको ट्युमरलाई शल्यक्रिया बिना नष्ट गर्ने बताए । यो रेडियो सर्जरी रेडिएसन प्रविधिबाट नेपालमा पहिलो पटक उपचार गर्न लागिएको उनले जानकारी दिए ।

त्यसैगरी ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि ल्याइँदै छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ । एसबिआरटी प्रविधिमार्फत उपचार भइरहेको बिरामीको ट्युमर प्रत्यक्ष हेरेर आवश्यक थप मात्रा प्रयोग गरी उपचार गर्न सकिने उनी बताउँछन् ।

इन्स्टिच्युटले क्यान्सर उपचारका क्रममा विकिरण बाहिर आएर नागरिक र कर्मचारीलाई असर नगरोस् भन्नका लागि निर्माणको समयदेखि नै भारतीय विज्ञको निगरानीमा काम भइरहेको छ । उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार बङ्कर निर्माण गरिएको छ । यससँगै सफल परीक्षणसमेत गरिएको जनाउँदै उनले विकिरण काममा खटिनेमा के कस्तो रहेको छ भन्ने विषयमा नियमित परीक्षण भइरहेको जानकारी दिए ।

भारतसहितका विभिन्न देशका विज्ञहरुसँग परामर्श र त्यहाँका जनशक्ति झिकाएर इन्स्टिच्युटको निर्माणदेखि नै काम गरिएको हो । १४ वर्षअघि स्थापना भएको चितवन मेडिकल कलेजमा हाल वार्षिक तीन लाख ५० हजारभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । नेपालभरि र भारतीय बिरामी पनि यहाँ उपचार गर्न आउने गर्दछन् ।

अस्पतालमा २८ विभागमार्फत सेवा दिइँदै आएको छ । क्यान्सरका बिरामीलाई अन्य विभागको सेवासमेत आवश्यक पर्ने भएकाले उपचार सहज हुने अस्पतालको भनाइ छ । नेपालमा भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल र काठमाडौँ क्यान्सर सेन्टरमा मात्रै क्यान्सरको उपचार हुने जनाइएको छ । सरकारले क्यान्सरका बिरामीलाई उपचारमा एक लाख रुपैयाँसम्म सहयोग गर्दै आएको छ । विदेश जाने बिरामीले यो सुविधा पाउँदैनन् ।

ताजा अपडेट

नेपालवाच विशेष