NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

१६५ सिटमा चुनावी तालमेल कसरी गर्न सुझाए कांग्रेस नेताहरूले ?

काठमाडौं । कांग्रेसका शीर्ष नेताहरूले आफू तल पर्ने गरी सत्ता गठबन्धनमा चुनावी तालमेल नगर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । अघिल्लोपटक नराम्ररी पराजित भए पनि यसपटक तराईदेखि हिमालसम्मै कांग्रेसको अवस्था सुदृढ भएको भन्दै उनीहरूले सम्मान हुने गरी चुनावी तालमेल गर्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

सत्ता गठबन्धन दलबीच चुनावी तालमेलको खाका बनाउन बस्ने कार्यदलको बैठक अघिको पार्टीसँगको छलफलमा नेताहरूले यस अघिको निर्वाचन र यो पटक पार्टीको पाएको मतको आधारमा तालमेल गर्न सुझाव दिएका हुन् ।

‘चुनावी तालमेललाई कसरी अगाडि बढाउने भन्नेबारे नेताहरूले कार्यदल सदस्यहरूलाई सुझाव दिनुभएको छ,’ कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले बैठकपछि भने, ‘चुनावी तालमेल र सिट बाँडफाँटबारे पदाधिकारी तथा पूर्वपदाधिकारीले आ-आफ्ना सुझाव दिनुभएको छ। अधिकांश नेताहरूले सिट बाँडफाँटको आधार मतलाई बनाउन सुझाव दिनुभएकाे छ ।’

बैठकमा तराईमधेसबाट प्रतिनिधित्व गर्ने विमलेन्द्र निधि, विजयकुमार गच्छदारदेखि उमाकान्त चौधरीले तराई आफ्नो मधेसमा कांग्रेसले धेरै सिट जित्ने बताएका थिए । स्वभाविक र पार्टीहरूले पाएको मतको आधारमा तालमेल गर्दा वैज्ञानिक हुने सुझाव दिएका छन् । तराई मधेसमा धेरै सिट भएको भन्दै उनीहरूले पार्टीले लिने तालमेलको नीतिले कांग्रेस कत्रो दल हुने भन्ने टुंगो लाग्ने बताएका थिए ।

बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंहसहितका पदाधिकारीले आफ्नो सुझाव राखेका थिए ।

तर अरु दललाई मिलाउनुपर्ने दबाबमा कांग्रेस

अन्य दलको आडमा चुनावमा ठूलो दाउमा कांग्रेस छ । यसैले सत्ता गठबन्धनका दलहरू माओवादी केन्द्र, नेकपा एस, जसपा र आवश्यक पर्दा लोसपालाई समेत साथ लिएर अघि बढे मात्रै कांग्रेसले सोचे जस्तो सत्ता आफ्नो हातमा आउनेछ । यसको लागि आफूले नै धेरै सिटमा दाबेदारी गरेर भन्दा कांग्रेसले अरु दललाई विश्वासमा लिनुपर्नेछ । यतिखेर मुख्यगरी प्रत्यक्षका १६५ क्षेत्रमा तालमेल टुंग्याउन कांग्रेसलाई सकस हुने देखिएको छ ।

कांग्रेसले सुरुवाटै १६५ मा एक सय सिट आफूले पाउनुपर्ने बताउँदै आएको छ । तर बाँकी ६५ सिटमा माओवादी, नेकपा एस, जसपा र लोसपालाई मनाउन सहज छैन । यस्तोमा आफ्नो सिट ८० सम्म झारेर पनि कांग्रेसले यी दललाई विश्वासमा लिनुपर्नेछ ।

अन्यथा एमालेले माओवादी र नेकपा एसलाई आफ्नो गठबन्धनमा लाने जोखिम पनि कांग्रेसलाई नै छ । अघिल्लोपटक कांग्रेसविरुद्ध एमाले र माओवादी उत्रिएका थिए । जसले कांग्रेस प्रत्यक्षमा २३ सिटमा सीमित भयो । अधिकांश सिनियर नेताहरू पराजित भए । यसैले देउवाले स्थानीय तहको गठबन्धनदेखि प्रतिनिधिसभासम्मै पाँच दलसँग मिलेर जाने नीति लिएका हुन् ।

‘हामीले स्थानीय तहबाट एउटा तालमेलबाट अनुभव बनाएका छौं । आ आफ्नो दलमा समीक्षा भएको छ । तालमेलको अनुभव संगाल्दै गठबन्धन दलले ४ मंसिरको निर्वाचनमा बढीभन्दा बढी स्थानमा कसरी जित्न सकिन्छ । यसैलाई आधार मानेर सिट बाँडफाँट गरिनुपर्छ भन्नेमा हामी छौं’ कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘कांग्रेस यो गठबन्धनको जिम्मेवार दल हो । सबै दललाई मिलाउनुपर्ने जिम्मेवारी कांग्रेसलाई छ । यसैले वैज्ञानिक र व्यवहारिक हिसाबले तालमेल गरेर जानेबारे प्रस्तुत हुने विषयमा पदाधिकारीबीच छलफल भएको हो । तालमेलको आधार बनाउँदा २०७४ को मत र २०७९ को मतलाई आधार बनाउँ भन्ने छ ।’

कार्यदलमा सिटको संख्यामा प्रवेश गरेपछि कसले कति लिने भन्ने टुंगो लाग्ने जानकारी उनले दिए । कांग्रेसले अहिले नै सिटको अडान लिएर बस्दा गठबन्धनका दल भाँडिने जोखिम कांग्रेसलाई छ । यसैले अरु आधार तय गरेर मात्रै सिटमा सहमति गर्ने तयारी कांग्रेसको छ ।

कांग्रेसले यही साउन ३० र ३१ गते जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम पनि दिने भएको छ । गत स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई कांग्रेसले तालिम दिन लागेको हो । त्यस्तै, २ देखि २४ सम्म देशभर अभियान गर्ने विषयमा ७४ जिल्लालाई सर्कुलर गर्ने निर्णय पनि कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकल गरेको छ ।

आजै ३ बजेपछि बस्ने चुनावी तालमेल कार्यदलको बैठकमा कांग्रेस तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की, कृष्णप्रसाद सिटौला र गगन थापाले पार्टीको अडान प्रस्तुत गर्नेछन् । यसपटक एक सयबाट झर्नुपरे ९० सम्ममा सहमति गर्नुपर्ने दबाब कांग्रेसलाई देखिएको छ । कांग्रेसले ९० सिटमा चुनाव लडे माओवादी, नेकपा एस, जसपा, लोसपासहितलाई ७५ सिटमा कांग्रेसले मनाउनुपर्नेछ ।

आफूले जित्ने सिटमा पनि गठबन्धन गर्दा कांग्रेसबाहेकका उम्मेदवार नजित्ने हिसाबसमेत कांग्रेसको छ । यसैले सकेसम्म धेरै सिटमा कांग्रेसले उम्मेदवार अघि सार्नुपर्ने मत रहेको बुझिन्छ । ३ हजार भोट हुने पार्टीलाई ३० हजार हुने पार्टीले मत दिएर जिताउनु अघि कांग्रेसले धेरैपटक सोच्नुपर्नेमा नेताहरूले जोड दिएका हुन् ।

सत्तारुढ दलबीच १६५ सिटमा तालमेल हुँदा कुन दलले कति सिट पाउँदैछन् ? – NepalWatch