NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

एमालेमा ओलीबाहेकका सबै पदाधिकारीलाई चुनाव जित्न कठिन, कुन नेता कति मतले पछाडि ?

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन मिति घोषणा गरेसँगै सम्भावित निर्वाचन परिणामलाई लिएर अहिलेदेखि नै उत्सुकता देखिन थालेको छ । २०७४ सालमा एमाले र माओवादी मिलेर कांग्रेसलाई नमिठो हार चखाएका थिए । तर यसपटक एमालेविरुद्ध सत्तारुढ पाँच दल मिलेर चुनाव लड्ने भएपछि सम्भावित परिणाम पहिलेको जस्तै रोचक हुने अनुमान गरिएको छ । गत निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता नै पराजित भएका थिए । त्यही रूप यसपटक एमालेमा सर्ने हो कि भन्ने देखिएको छ ।

सत्ता गठबन्धन दलहरूको शुक्रबार बसेको बैठकले आगामी निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ । सिट बाँड्फाँटको लागि ११ सदस्य कार्यदलसमेत गठन गरेको छ । अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल रहेको एमाले चुनावी तयारीबारे अहिलेसम्म अलमलमा देखिन्छ । यद्यपि गठबन्धनको निर्णय आफूमाथि घेराबन्दी भएको एमालेको बुझाइ छ ।

सत्ता गठबन्धनभित्रै रहेका वामपन्थी दलहरू बढी सिट आफ्नो पक्षमा पार्नका लागि भित्रभित्रै उपगठबन्धनको कसरत गरिरहका छन् । कांग्रेस गठबन्धनको बलमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छ । २०७४ को निर्वाचनमा ठूला वामपन्थी एमाले–माओवादी गठबन्धनले प्रत्यक्षमा १७५ सिटसहित अत्याधिक बहुमत ल्याएको थियो । त्यतिबेला वाम गठबन्धनसामु निकै निहीह देखिएको कांग्रेस ६३ सिटमा खुम्चिएको थियो ।

योपटक परिस्थिति उल्टिएको छ । अघिल्लो पटक कांग्रेसले भोगेको नियति एमालेले भोग्ने धेरैको अनुमान छ । आगामी निर्वाचनमा भरपर्दो शक्तिसँग सहकार्य गर्ने भनिएपनि उसले अहिलेसम्म भरपर्दो शक्ति फेला पारेको छैन । राप्रपाबाहेकका दललाई सत्तारुढ दलले समेट्ने देखिएको छ । यसले एमालेलाई एक्लै चुनाव लड्न झन् दबाब बढेको छ ।

अघिल्लो निर्वाचनमा जस्तै योपटक पनि हार/जितमा माओवादी निर्णायक देखिएको छ । माओवादी जता मिल्यो उतै पल्लाभारी हुने निर्वाचन तथ्याङकले देखाउँछ । पछिल्ला सुशील कोइराला, केपी ओली, प्रचण्डदेखि देउवा नेतृत्वका पटकपटक सरकारमा यही तेस्रो भएरै माओवादीले निर्णायक भूमिका खेल्दै आएको छ ।

यसपटक एमालेबाटै विद्रोही बनेको एकीकृत समाजवादीलेसमेत एमालेलाई हराउन यसपटक महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । कांग्रेसले सत्ताबाहिर रहेको लोसपालाई पनि सरकारमा ल्याउने तयारी गरेकाले एमालेले मधेसमासमेत थप क्षति व्यहोर्नुपर्ने देखिन्छ ।

अघिल्लो निर्वाचनमा दलहरूले पाएको समानुपातिक मत र स्थानीय तह निर्वाचनमा जनप्रतिनिधिले पाएको मतका आधारमा एमालेका अध्यक्ष ओलीबाहेक अन्य पदाधिकारीको स्थिति सन्तोषजनक देखिएको छैन । अध्यक्ष ओलीसहित १९ सदस्य पदाधिकारी रहेको एमालेमा अघिल्लो निर्वाचनमा युवराज ज्ञवाली र विष्णुप्रसाद रिमालबाहेक सबै प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सदस्य छन् । ज्ञवाली र रिमाल आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने/नबन्नेबारे अहिलेसम्म निश्चित छैन ।

अघिल्लो पटक प्रदेश सभामा निर्वाचित भएका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभामा उठ्ने चाहना देखाएका छन् । मुख्यमन्त्री बन्ने शर्तमा उनीहरू प्रदेशसभामै दोहोरिन सक्ने सम्भावना छ । तर यो यसपटक कमजोर विकल्प हो । किनकी एक्लै चुनाव लडेर प्रदेशमा सरकार बनाउन पहिलेको कांग्रेसलाई जस्तै यसपटक एमालेलाई कठिन छ । यद्यपि यस विषयमा उनीहरूले आन्तरिक छलफल गरिरहेका छन् ।

यसका अतिरिक्त योपटक स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले परम्परागत नेताहरूलाई थप तनावमा पार्न सक्ने अनुमान गरिएको छ । यो बुझेरै एमाले अध्यक्ष केपी ओलीले स्वतन्त्र नामकै दल दर्ता गरेर देशभर अभियान चालिरहेका रवि लामिछानेविरुद्ध केही दिन अघि विषवमन गरेका थिए । पूर्व पत्रकारले स्वतन्त्रका नाममा देश ने बिगार्न खोजेको आशयको आरोप ओलीको थियो । यस्तो अवस्थामा एमालेले राप्रपाको साथ खोज्न सक्छ । तर एमालेलाई राप्रपाको भोट निर्णायक नभएको तथ्य स्थानीय तह निर्वाचनले पुष्टि गरेको छ ।

आगामी निर्वाचनमा थप ३० लाख नयाँ मतदाता थपिने निर्वाचन आयोगको अनुमान छ । यी नयाँ मतदताहरूले पनि दलहरूको हारजितलाई फरक पार्न सक्छ । यी लगायत उम्मेदवारका व्यक्तित्व, चुनावी एजेण्डा र कामको मूल्याङकनको आधारमासमेत मतदाताले मूल्याङ्कन गर्ने हुँदा समानुपातिक मत तथा स्थानीय तहमा पाएको मत नै निर्णायक नहुन सक्छ । निर्वाचन आयाेगकाे तथ्यांकअनुसार पछिल्लाे स्थानीय तहकाे निर्वाचनमा वडाध्यक्षले पाएकाे मतकाे आधारमा एमालेका पदाधिकारीकै अवस्था कमजाेर हुनसक्ने देखिएकाे छ । एमालेविरूद्द पाँच दलीय सत्ता गठबन्धन र लाेसपासमेत मिसिने भएपछि एमालेलाई यसपटक कठिन हुने देखिएकाे हाे ।

को–को छन् जोखिममा ?

केपी ओली

एमाले अध्यक्ष केपी ओली झापा क्षेत्र नम्बर ५ बाट गत निर्वाचनमा सबैभन्दा लोकप्रिय मत ल्याएर निर्वाचित भएका थिए । उनी ५७ हजार १३९ मत ल्याएर निर्वाचित भए । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिउ । जहाँ ओलीको मतान्तर २८ हजार ८४२ रहेको थियो ।

देशभर माओवादीसँग भागबण्डा गरेका ओलीले आफूमाथि षड्यन्त्र हुनसक्ने भयका कारण राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनसँगसमेत तालमेल गरेका थिए । एमालेसहित माओवादी र राप्रपाको संयुक्त मतको आधारमा ओलीे अत्याधिक मत ल्याउन सफल भए । राजनीतिमा चलाख देखिएका ओलीले आफ्नो सिट सुरक्षित गर्न क्षेत्र नं. ३ मा लिङ्देनलाई छोडे । ताकि त्यतिबेला माओवादी र राजमोबाहेक अन्य दलसँग चुनावी तालमेल गर्ने नीति नै थिएन । त्यसअघि २०७० क्षेत्र नं. ७ बाट निर्वाचित ओली २०६४ मा भएको संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवार विश्वदीप लिङदेनसँग पराजित भएका थिए । लिङदेन गत निर्वाचनदेखि कांग्रेसमा प्रवेश गरेका छन् । टिकट पाए यसपटक ओलीविरुद्ध नै उठ्ने तयारीमा लिङदेन छन् । ओलीलाई हराउँदा लिङदेन मात्र २५ वर्षका थिए ।

अघिल्लोपटक समानुपातिकतर्फ एमालेले ४२ हजार २२५ मत पाएको थियो । कांग्रेसले २२ हजार ५८५, माओवादीले ६ हजार ३५२, राप्रपाले ९ हजार ५९, संघीय समाजवादीले २ हजार ३०६, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ५५७, अन्यले ५४८० प्राप्त गरेका थिए । पहिलेको भोटका आधारमा अहिलेको सत्ता गठबन्धनको जम्मा मत ३२ हजार ८०० देखिन्छ । यहाँ एमाले ९४२५ ले अगाडि देखिन्छ । गठबन्धनले जित्न राप्रपासँग तालमेल गर्नुपर्ने बाध्यता छ ।

त्यस्तै गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा एमालेले ओलीको निर्वाचन क्षेत्र झापा ५ ४१ हजार ६१९ मत पाएको छ । यो वडाध्यक्षले पाएको मत हो । त्यस्तै वडाध्यक्षमा कांग्रेसले २२ हजार २२, माओवादीले १० हजार ७७८, नेकपा एसले १९८८, राप्रपाले ८ हजार ३५३ मत पाएको छ । गठबन्धनको जम्मा मत ३४ हजार ७८८ रहेको छ । एमाले ६ हजार ८३१ ले अगाडि देखिन्छ । यो मतमा पनि एमाले अगाडि देखिएकोले केपी ओलीलाई राप्रपाबाहेकका सबै दल एक ठाउँमा उभिंदा पनि चुनाव जित्न कठिन हुने देखिएको छैन । तर प्रतिनिधिसभाको चुनावमा मत खस्ने फरक परिस्थिति र स्वतन्त्र दलले भोट काटे परिस्थिति अर्कै हुन सक्नेछ ।

ईश्वर पोखरेल

अघिल्लोपटक माओवादीको सहयोगमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५ बाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले १३ हजार १६९ मत पाएका थिए । गठबन्धनको मतान्तर ९ हजार ८६० रहेको छ । त्यसअघि २०७० सालमा कांग्रेसका नेता नरहरि आचार्यसँग पोखरेल पराजित भएका थिए । उनै पोखरेललाई आगामी निर्वाचनमा विरासत कायम राख्न चुनौतिपूर्ण देखिन्छ ।

अघिल्लो निर्वाचनमा एमालेले समानुपातिकतर्फ काठमाडौं ५ मा १८ हजार १६१ पाएको थियो । कांग्रेसले ११ हजार ८८६, माओवादीले १९९२, विवेकशीलले ८ हजार ८८, राप्रपाले ११६३ र अन्य दलले ३०२४ मत ल्याएका थिए । गठबन्धनको जम्मा मत १३ हजार ८७८ रहेको छ । एमाले ४ हजार २८३ ले अगाडि देखिन्छ ।

यसै वर्षको स्थानीय तह निर्वाचनमा काठमाडौं ५ मा एमालेका वडाध्यक्षले पाएको मत १९ हजार ७०३ छ । यो क्षेत्रमा वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले १४ हाजर ८५३, माओवादीकाले १ हजार १६८, एसका १ हजार ८२७, राप्रपाकाले २ हजार ८२२ मत पाएका छन् । गठबन्धनको जम्मा मत १७ हजार ९०६ रहेको छ । तर पनि यहाँ एमाले १७९७ ले अगाडि देखिएको छ । याे क्षेत्रमा यसपटक स्वतन्त्रका धेरै उम्मेदवार हुने देखिएका छन् । यिनीहरूले पनि भाेट काट्ने सम्भावना धेरै छ । यसपटक कांग्रेसले चर्चित र लोकप्रिय उम्मेदवार काठमाडौं ५ बाट उठाउने तयारी गरेको छ । यसैले मतमा अगाडि भए पनि पोखरेल यो क्षेत्रमा चुनौती कम छैन ।

युवराज ज्ञवाली

अघिल्लो पटक दाङ–३ बाट समानुपातिक उम्मेदवार रहेका उपाध्यक्ष ज्ञवाली अन्तिममा अटाएनन् । योपटक टिकट पाउने नपाउनेमा आफैं अलमलमा रहेका छन् । उनी एमालेभित्र साधारण जीवनशैली अपनाउने नेतामा गनिन्छन् । पैसाको बिटोबिना चुनाव नै लड्न नसक्ने स्थिति आएकोमा चिन्ता व्यक्त गर्छन् । यदि उनले दाङ ३ बाट टिकट पाएको खण्डमा जित सुनिश्चित गर्न उनलाई धेरै नै पापड बेल्नुपर्ने देखिन्छ । अघिल्लोपटक एमालेबाट निर्वाचित भएका हिराचन्द्र केसी एकीकृत समाजवादीमा छन् । अघिल्लो चुनावमा ४० हजार २८७ मत ल्याइ केसी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिपक गिरीले ३३ हजार ७३० मत पाएका थिए । उनको मतान्तर ६ हजार ५५७ रहेको छ । यो क्षेत्र ज्ञवालीका लागि असुरक्षित देखिएको छ ।

अघिल्लोपटकको चुनावमा समानुपातिकतर्फ एमालेले यो क्षेत्रबाट २७ हजार ५४३ मत पाएको थियो । कांग्रेसले ३० हजार ५७२, माओवादीले १० हजार ८०५, अन्यले ४ हजार ६३२ पाएका छन् । यो क्षेत्रमा अघिल्लोपटकको समानुपातिक मतले गठबन्धनको ४१ हजार ३७७ रहेको देखाउँछ । यो क्षेत्रमा गठबन्धन एमालेभन्दा १३ हजार ८३४ ले अगाडि देखिन्छ ।

स्थानीय तहको यो पटकको निर्वाचनमा निर्वाचनमा एमाले ३८ हजार ६५८ मत यो क्षेत्रका वडाहरूबाट पाएको छ । कांग्रेसले ३० हजार ९८९, नेकपा एसले ३९३८, जसपाले १८२, राप्रपाले १ हजार ४४४ ल्याएका थिए । गठबन्धनको जम्मा मत ४५ हजार ९८९ रहेको छ । गठबन्धन ७ हजार ३३१ ले अगाडि छ ।

अष्टलक्ष्मी शाक्य

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमालेका प्रभावशाली नेता हुन् । वाग्मतीको पहिलो मुख्यमन्त्रीको इतिहास रचेकी शाक्य २०७४ मा काठमाडौं ८ (ख)बाट प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् । उनी ५ हजार १६९ मत ल्याइ विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवरत्न डंगोलले ३ हजार ६६९ मत पाएका थिए । योपटक काठमाडौं ८ बाट चुनाव लड्ने तयारी गरेकी उनका लागि चुनाव जित्न त्यति सजिलो छैन ।

अघिल्लोपटक एमालेबाट जीवनराम श्रेष्ठले १३ हजार ३९७ मत ल्याइ जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत ल्याएका थिए । श्रेष्ठको मतान्तर ४४४ रहेको थियो । पर्यटनमन्त्रीसमेत रहेका श्रेष्ठ अहिले एकीकृत समाजवादीमा रहेका छन् । गठबन्धनबाट आगामी निर्वाचनमा यो क्षेत्रबाट श्रेष्ठले नै दाबी गर्ने निश्चितजस्तै छ ।

अघिल्लोपटकको निर्वाचनमा एमालेले यो क्षेत्रबाट समानुपातिकतर्फ १० हजार ४२८ मत पाएको थियो । कांग्रेसले ९ हजार २००, माओवादी १०७९, राप्रपाको २ हजार ५८, अन्यको ३ हजार १३५ मत आएको थियो । गठबन्धनको जम्मा मत १० हजार २७९ रहेको छ । एमाले १४९ मतको झिनो अन्तरले अगाडि देखिन्छ ।

यसपटकको स्थानीय तह निर्वाचनमा एमालेले यो क्षेत्रका वडाध्यक्षमा ९ हजार २५३ मत पाएको छ । कांग्रेसले १० हजार ८७२, माओवादीले १८९, नेकपा एसको ५ हजार १४२, राप्रपाको ३ हजार १६० मत छ । गठबन्धनको जम्मा १६ हजार २०३ रहेको छ । स्थानीय तह निर्वाचनमा गठबन्धन ६ हजार ९५० ले अगाडि छ । यसैले यो क्षेत्रमा गठबन्धनसँग एमालेलाई प्रतिस्पर्धा गर्न कठिन देखिने निश्चितजस्तै देखिएको छ ।

रामबहादुर थापा

माओवादी सशस्त्र युद्धका प्रमुख योजनाकारसमेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापाले योपटक आफ्नै पूर्वनेता प्रचण्डसँग चुनाव लड्ने चर्चा चलेको छ । थापा २०७४ मा चितवनबाटै चुनावमा उठ्न खोजेका थिए । तर एमालेले चितवनमा प्रचण्डलाई मात्र सिट छोड्न तयार भएपछि उनी राष्ट्रियसभा सदस्य भए । योपटक चितवन १ वा ३ मध्ये एकबाट उम्मेदवारी दिने मनस्थिति थापाले बनाएका छन् । ओलीले उनलाई ३ मा टिकट दिने सम्भावना रहेको छ । तर थापाको पुरानो निर्वाचन क्षेत्र चितवन ४ हो । यद्यपि थापा चितवन १ बाट निर्वाचन लड्न चाहिरहेको उनी निकट स्रोत बताउँछ । यदि थापाले ३ बाट टिकट पाएभने प्रचण्ड र थापाबीचको प्रतिस्पर्धाले रोचकता थप्नेछ ।

चितवन ३ बाट अघिल्लोपटक प्रचण्ड ४८ हजार २७६ मत ल्याइ विजयी भएका थिए । राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए । प्रचण्डको मतान्तर ९ हजार ३३८ रहेको छ । त्यतिबेला पाण्डेलाई कांग्रेसले साथ दिएको थियो ।

थापा २०६४ को संविधानसभा निर्वाचनमा चितवन ४ बाट निर्वाचित भएका थिए । २०७० मा वैद्य माओवादीमा रहेका उनले निर्वाचन बहिस्कार गरेका थिए ।

एमाले चितवन ४ बाट गत चुनावमा समानुपातिकतर्फ २४ हजार १५५ मत ल्याएको थियो । कांग्रेसले २६ हजार १३७, माओवादीले २२ हजार ९८८, राप्रपाले ५ हजार ६३३ र अन्यले ८ हजार २५५ मत ल्याएका थिए । गठबन्धनको जम्मा मत ४९ हजार १२५ रहेको छ । २४ हजार ९७० भारी मतले गठबन्धन अगाडि देखिन्छ ।

त्यस्तै यसपटकको स्थानीय तह निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षतर्फ एमालेले ३९ हजार ७७१, कांग्रेसले २९ हजार ३४३, माओवादीले १० हजार ९४०, नेकपा एस ५ हजार ३७, राप्रपाले ६ हजार १९८ मत पाएका छन् । गठबन्धनको जम्मा मत ४५ हजार ३२० रहेको छ । गठबन्धन ५ हजार ५४९ ले अगाडि छ । यो निर्वाचनमा माओवादीको मत खुम्चिएको छ ।

विष्णुप्रसाद पौडेल

एमालेका प्रभावशाली उपाध्यक्ष रहेका विष्णुप्रसाद पौडेल अघिल्लोपटक रुपन्देही–२ बाट निर्वाचित भएका थिए । गत निर्वाचनमा पौडेलले ४४ हजार ९ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत पाएका थिए । पौडेलको मतान्तर २२ हजार ६३ रहेको थियो ।

अघिल्लोपटक समानुपातिकतर्फ एमालेले ३६ हजार ५३७, कांग्रेस १९ हजार ६२६ ल्याएको थियो । माओवादीले ३ हजार ८६२, अन्यले ११ हजार ५५१ मत ल्याएका थिए । गठबन्धनले २३ हजार ४८८ मत पाएको थियो । २०७४ मा एमाले १३ हजार ४९ को भारी मतले अगाडि देखिन्छ ।

यस वर्षको स्थानीय तह निर्वाचनमा एमालेले यो क्षेत्रका वडाध्यक्षबाट ३३ हजार १८७ मत बटुलेको छ । कांग्रेसले ३४ हजार ९५९, माओवादीले ३ हजार १८८, नेकपा एसले १ हजार ३८२, जसपाले १८३, राप्रपाले ३ हजार ९२० पाएको छ । गठबन्धनको जम्मा मत ३९ हजार ७१२ छ । यो निर्वाचनमा गठबन्धन ६ हजार ५२५ मतले अगाडि छ । राप्रपाको साथ लिन सके एमालेलाई केही सहज हुन सक्ने देखिन्छ ।

सुवासचन्द्र नेम्बाङ

संविधानसभा अध्यक्ष तथा पूर्वसमामुखसमेत रहेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ एमालेभित्र निकै कुटिल नेता मानिन्छन् । ओलीका विश्वासिला नेता रहेका उनी हरेक प्रश्नको सीधा जवाफ दिंदैछन् । जहिल्यै घुमाउरो हिसाबमा मात्रै बोल्छन् । अघिल्लोपटक इलाम–२ निर्वाचित भएका उनले ३६ हजार ५१७ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशव थापाले २६ हजार ८६५ मत पाएका थिए । उनको मतान्तर ९ हजार ६५२ रहेको छ ।

अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३० हजार ३८३ मत पाएको थियो । कांग्रेसले २४ हजार ६८६, माओवादीले ४ हजार २, संघीय समाजवादीले १५६७, अन्य दलले ५ हजार ५५३ मत ल्याएको देखिन्छ । गठबन्धनभन्दा एमाले १२८ मतले अगाडि देखिन्छ । गठबन्धनको जम्मा मत ३० हजार २७५ रहेको छ ।

स्थानीय तहको यसपटकको निर्वाचनमा एमालेको ३२ हजार ५२७ मत यो क्षेत्रको वडाध्यक्षतर्फ आएको छ । कांग्रेसको ३२ हजार ९७८, माओवादीको २७१७, जसपाको ५५४ र नेकपा एसको २७७ मत आएको देखिन्छ । गठन्धनको जम्मा मत ३६ हजार ५२६ रहेको छ । गठबन्धन दल ३ हजार ९९९ मतले अगाडि छ । चार हजार मतले पछाडि रहेका नेम्वाङलाई चुनाव जित्न पनि सहज छैन ।

सुरेन्द्र पाण्डे

२०७४ मा चितवन १ बाट निर्वाचित भएका उपाध्यक्ष सुरेन्द्र पाण्डे योपटक त्यहीँबाट दोहोरिन चाहेका छन् । अघिल्लोपटक उनी ५१ हजार ८० मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३६० मत पाएका थिए । पाण्डेको मतान्तर १५ हजार ७२० रहेको थियो ।

अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ यो क्षेत्रबाट एमालेको ३९ हजार ३०३ मत आएको थियो । कांग्रेसको ३० हजार ७५०, माओवादीको ८ हजार ७८, अन्यको ५ हजार ९६९ मत आएको देखिन्छ । एमाले ४७५ को झिनो मतले अगाडि थियो । गठबन्धनको जम्मा मत ३८ हजार ८२८ आएको देखिन्छ ।

त्यस्तै स्थानीय तहको यसपटकको निर्वाचनमा एमालेले यो क्षेत्रका वडाध्यक्षतर्फ ३९ हजार ६०६, कांग्रेसले ३६ हजार ७८३, माओवादीले ५ हजार ५०८, नेकपा एसले ४ हजार ५, राप्रपाले ४ हजार ५९० मत पाएको छ । गठबन्धनको जम्मा मत ४६ हजार २९६ रहेको छ । गठबन्धन दल ६ हजार ६९० ले अगाडि देखिन्छन् । यसैले प्रभावशाली नेता पाण्डेलाई एक्लै चुनाव लड्न चितवनमा यसपटक सहज छैन । राप्रपासँग तालमेल गर्दा पनि उनलाई जित्नेगरी मत ल्याउन कठिन देखिन्छ ।

शंकर पोखरेल

लुम्बिनीका पूर्वमुख्यमन्त्रीसमेत रहेका महासचिव शंकर पोखरेल योपटक प्रतिनिधिसभा निर्वाचनमा उठ्ने तयारीमा छन् । अघिल्लो पटक भागबण्डामा दाङको निर्वाचन क्षेत्र २ माओवादीका नेता कृष्णबहादुर महरालाई परेको थियो । महरा प्रतिनिधिसभा सदस्य बन्ने भएपछि पोखरेललाई लुम्बिनीको मुख्यमन्त्री बनाउने शर्तमा प्रदेशसभा सदस्य बनाइयो ।

पोखरेल दाङ २ (क) बाट २० हजार ७२३ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम द्वन्द्वी कांग्रेसका कमलकिशोर शर्मा घिमिरेले ११ हजार १७२ मत पाएका थिए । योपटक पोखरेलले महराकै सामना गर्ने भएका छन् । उक्त क्षेत्रमा योपटक एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । गत निर्वाचनमा महराले ४० हजार ४२ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले २५ हजार ८९७ मत पाएका थिए ।

अघिल्लोपटक समानुपातिक यो क्षेत्रमा एमालेको २२ हजार ८६९, कांग्रेसको २२ हजार ९२, माओवादीको १७ हजार ५८४, अन्यको ४४९३ रहेको तथ्यांकले देखाउँछ । गठबन्धन दलको ३९ हजार ६७६ मत देखिन्छ । गठबन्धन १६ हजार ८०७ को भारी मतले रहेको छ ।
यसपटक स्थानीय तहमा यो क्षेत्रका वडाध्यक्षतर्फ एमालेको ३३ हजार ५९३ मत आएको छ । कांग्रेसको २३ हजार ३०१, माओवादीको १० हजार ४७८, नेकपा एसको २ हजार ९४२, राप्रपाको ३ हजार २६४ मत आएको देखिन्छ । गठबन्धनको जम्मा मत ३९ हजार ९८५ रहेको छ । गठबन्धन ३ हजार १२८ मतले अगाडि रहेको छ । पछाडि परे पनि यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

पृथ्वीसुब्बा गुरुङ

गण्डकीका पूर्वमुख्यमन्त्री तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि योपटक प्रतिनिधिसभा सदस्य बन्न चाहेका छन् । अघिल्लो चुनावमा भागबण्डा गर्दा लमजुङ १ माओवादी नेता देव गुरुङलाई छोड्नु परेपछि उनी मुख्यमन्त्री बन्ने शर्तमा प्रदेशसभा सदस्य बन्न राजी भएका थिए । गुरुङले लमजुङ (ख) बाट २३ हजार ८८ मत ल्याइ निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १०२ मत पाएका थिए । प्रतिनिधिसभा निर्वाचनमा देवले ३९ हजार ४६८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ३७ मत पाएका थिए ।

अघिल्लोपटक यो क्षेत्रको समानुपातिकतर्फ एमालेले ३३ हजार ३०९ मत पाएको थियो । कांग्रेसले २७ हजार २२९, माओवादीले ७ हजार ८०५, राप्रपाले १ हजार ४७७ र अन्यले २ हजार ८४२ मत पाएको देखिन्छ । गठबन्धनको जम्मा ३५ हजार ३४ रहेको छ । यो मत एमालेको भन्दा १ हजार ७२५ ले बढी हो ।

त्यस्तै यसपटकको स्थानीय तह निर्वाचनमा एमालेले यो क्षेत्रमा रहेका वडाध्यक्षतर्फ ४० हजार १९७, कांग्रेसले ३५ हजार २७६, माओवादीले ६ हजार १२७, जसपाले १९० मत पाएको छ । गठबन्धनको जम्मा मत ४१ हजार ५९३ मत छ । यो एमालेको भन्दा १ हजार ३९६ ले बढी हो । एमाले एक्लै लड्दा पनि यो क्षेत्रमा कडा चुनावी चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रदीप ज्ञवाली

उपमहासचिव प्रदीपकुमार ज्ञवाली गुल्मी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले अघिल्लो निर्वाचनमा ३७ हजार ८१४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र भण्डारीले ३० हजार २५६ मत पाएका थिए । उनको मतान्तर ७ हजार ५५८ रहेको थियो ।
अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ यो क्षेत्रबाट एमालेको ३१ हजार ६३७, कांग्रेसको २७ हजार २८८, माओवादीको ५ हजार २४४ र अन्यको ३ हजार ४३० मत आएको थियो । गठबन्धनको जम्मा मत ३२ हजार ५३२ रहेको छ । गठबन्धन ८९५ ले अगाडि देखिन्छ ।

यसपटकको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षतर्फ एमालेले ३५ हजार ७०१, कांग्रेसले ३१ हजार २९४, माओवादीले ४ हजार ७०, नेकपा एसले ४९७, राजमोले १ हजार ६०० म पाएका छन् । गठबन्धनको जम्मा मत ३८ हजार ३६१ छ । गठबन्धन २ हजार ६६० ले अगाडि छ । फेरि पनि यो क्षेत्रमा कडा चुनावी प्रतिस्पर्धा देखिने भएको छ ।

विष्णु रिमाल

उपमहासचिव विष्णुप्रसाद रिमालले अघिल्लो निर्वाचनमा नुवाकोट २ बाट उम्मेदवारी दिन चाहेका थिए । तर टिकट माधव निकट नारायण खतिवडाले पाए । अहिलेसम्म प्रत्यक्ष निर्वाचन नलडेका रिमाल २०६४ को पहिलो संविधानसभामा समानुपातिक सदस्य थिए । आगामी निर्वाचनमा नुवाकोट २ बाट चुनाव लड्ने योजना बनाएका छन् । पूर्वप्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रहेका उनी ओलीका भरपर्दो नेता हुन् ।

२०७४ मा खतिवडाले ३६ हजार ८९२ मत ल्याइ जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसको अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत पाएका थिए । खतिवडाको मतान्तर १० हजार ५५७ रहेको छ ।

अघिल्लोपटक समानुपातिकतर्फ यो क्षेत्रबाट एमालेले २५ हजार २५६, कांग्रेसले २४ हजार १६०, माओवादीले ९ हजार ३३८ र अन्यले १ हजार ५५७ मत पाएको थियो । गठबन्धनको जम्मा मत ३३ हजार ४९८ रहेको छ । एमाले ८ हजार ४२ ले पछाडि छ ।

त्यस्तै स्थानीय तहको यसपटकको निर्वाचनमा एमालेले यो क्षेत्रका वडाध्यक्षतर्फ २६ हजार ३७७, कांग्रेसले २९ हजार ८६१, माओवादीले १६ हजार ६७, नेकपा एसले ९६१, राप्रपाले २ हजार २११ मत ल्याएका छन् । गठबन्धनको जम्मा मत ४६ हजार ८८९ छ । २० हजार ५१२ मतले गठबन्धन अगाडि छ । कांग्रेस एक्लै बलियो रहेको यो क्षेत्रमा गठबन्धन हुँदा एमालेको प्रभावशाली नेता उठे पनि सहजै पराजित हुने देखिन्छ ।

गोकर्ण विष्ट

सचिव गोकर्ण विष्ट एमालेका लोकप्रिय नेता हुन् । माधव नेपालनिकट नेता भएपनि पार्टी विभाजनमा उनलाई साथ दिएनन् । विष्ट अघिल्लो निर्वाचनमा गुल्मी २ बाट निर्वाचित भएका थिए । उनले ३४ हजार ६१८ मत ल्याउँदा कांग्रेसका उम्मेदवार चन्द्रबहादुर केसीले २० हजार १५७ मत पाएका थिए । विष्टको मतान्तर १४ हजार ४६१ रहेको छ ।

अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ यो क्षेत्रबाट एमालेले २८ हजार ४२५, कांग्रेसले १८ हजार २५६, माओवादीले ४ हजार १३६, अन्यले २ हजार ९४२ पाएको थियो । गठबन्धनको २२ हजार २९२ छ । गठबन्धन ६ हजार ३३ ले पछाडि छ ।

स्थानीय तहको यसपटकको निर्वाचनमा एमालेले यो क्षेत्रको वडाध्यक्षमा ३१ हजार २५३, कांग्रेसले २९ हजार ८२१, माओवादीले १ हजार ८४१, नेकपा एसले ६५८ मत ल्याएको छ । गठबन्धनको ३२ हजार ३२० रहेको छ । गठबन्धन १ हजार ६७ मतले अगाडि रहेको छ । गठबन्धनसँग एमालेका विष्टको रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

योगेश भट्टराई

सचिव योगेश भट्टराई अघिल्लो निर्वाचनमा ताप्लेजुङ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भट्टराई २९ हजार ४७९ मत ल्याइ विजयी हुँदा कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत पाएका थिए । उनको मतान्तर १२ हजार ५९१ रहेको छ ।

अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ एमालेले २० हजार ७४० मत पाएको थियो । कांग्रेसले १४ हजार ७९९, माओवादीले ६ हजार ३४१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २ हजार ९ सय, जसपाले ५५० र अन्यले २६४७ मत ल्याएका थिए । गठबन्धनको जम्मा मत २३ हजार १४९ रहेको थियो । भट्टराईको क्षेत्रमा ३ हजार १४९ को मतान्तरले गठबन्धन अगाडि देखिएको छ ।

यही वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले यो क्षेत्रका वडाध्यक्षका उम्मेवारबाट २४ हजार २९५ मत पाएको छ । कांग्रेसले १८ हजार २८४, माओवादीले ४ हजार ४९७, नेकपा एसले १३०८, जसपाले ९२३ मत ल्याएको छ । गठबन्धनको जम्मा मत २५ हजार १२ रहेको छ । स्थानीय तह निर्वाचन परिणामले पनि गठबन्धन ७१७ ले अगाडि छ ।

प्रचण्ड–माधव समूहमा लागेर ओलीविरुद्ध खरोरूपमा सडकमा ओर्लिएका भट्टराई एमालेबाट मधव समूह अलग हुँदा उनले साथ दिएनन् । २०७० को निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएका थिए ।

लेखराज भट्ट

लामो समय माओवादीका नेता रहेका सचिव लेखराज भट्ट नेकपा विघटन भएपछि एमालेमै रहे । २०६४ देखि निरन्तर सांसद रहेका भट्ट अघिल्लो निर्वाचनमा कैलाली ४ बाट निर्वाचित भएका थिए । माओवादीमा रहँदा प्रभावशाली नेता रहेका उनी आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट उठ्ने तयारीमा छन् । गत निर्वाचनमा उनी ३१ हजार ३५९ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिल भण्डारीले २० हजार ९६० मत पाएका थिए । मतान्तर १० हजार ३९९ रहेको छ ।

अघिल्लोपटक एमालेले समानुपातिकतर्फ यो क्षेत्रबाट १७ हजार ६४९, कांग्रेसले १९ हजार ८६१, माओवादीले १२ हजार ६७, अन्यले ४५१४ मत पाएका थिए । गठबन्धनको जम्मा मत ३१ हजार ९२८ थियो । गठबन्धन १४ हजार २७९ मतले अगाडि देखिन्छ ।

स्थानीय तहको यस वर्षको निर्वाचनमा पनि गठबन्धन अगाडि रहेको छ । यो क्षेत्रका वडाध्क्षले पाएको मतमा एमालेको २० हजार ८१, कांग्रेसको २२ हजार ९९७, माओवादीको १० हजार १२३, एसको ४ हजार २९, राप्रपाको ३ हजार २३४ मत आएको देखिन्छ । गठबन्धनको जम्मा मत ३७ हजार १४९ रहेको छ । गठबन्धन १७ हजार ६८ ले अगाडि छ । माओवादीलबाट एमाले पुगेका खगराजलाई यो क्षेत्रमा चुनाव जित्न कठिन हुने देखिएको छ ।

टोपबहादुर रायमाझी

सचिव टोपबादुर रायमाझी माओवादी पृष्ठभूमिका प्रभावशाली नेता हुन् । उनी २०६४ को संविधानसभा निर्वाचनदेखि नै निरन्तर निर्वाचित हुँदै आएका छन् । नेकपा विघटनपश्चात् एमालेमै रहेका उनी आगामी निर्वाचनमा अर्घाखाँची १ बाट निर्वाचन लड्ने तयारीमा छन् । स्थानीय तह निर्वाचनमा एमालेको पक्षमा राम्रो परिणाम ल्याउन सफल भएका थिए ।

माओवादीले सांसद पद खोसेपछि सबैभन्दा आक्रोसित भएका उनी आगामी निर्वाचनमा जसरी पनि जित्ने दाउमा छन् । अघिल्लो निर्वाचनमा ५० हजार ८३७ मत ल्याइ निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका डा.रामबहादुर वि.सी.ले ३२ हजार ५४४ मत पाएका थिए । रायमाझीको मतान्तर १८ हजार २९३ रहेको थियो ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रमा समानुपातिकतर्फ एमालेको ३० हजार ४१७ मत आएको थियो । कांग्रेसले २८ हजार ३७९, माओवादीले १४ हजार ९६२, राजमोको ४ हजार ७७१, अन्यको ३ हजार १२८ मत आएको थियो । गठबन्धनको जम्मा मत ४३ हजार ३४१ छ । गठबन्धन १२ हजार ९२४ ले अगाडि देखिन्छ ।

स्थानीय तहको यसपटको निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षले पाएको कुल मतमा एमालेको ४८ हजार २६०, कांग्रेसको ३७ हजार ९२५, माओवादीको ७ हजार ७९०, नेकपा एस ३ हजार ७६३, राजमोको ४ हजार २९४ रहेको छ । गठबन्धनको जम्मा मत ५३ हजार ७७२ रहेको छ । गठबन्धन ५ हजार ४१२ मतले अगाडि देखिएको छ ।

पद्याकुमारी अर्याल

सचिव पद्याकुमारी अर्याल २०७४ को निर्वाचनमा स्याङजा २ बाट कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई पराजित गरी चर्चामा आएकी थिइन् । कांग्रेसका नेता श्रेष्ठले ३१ हजार ४३६ मत पाएका थिए । उनको मतान्तर ३ हजार ७०६ रहेको थियो । ओली सरकारका भूमिव्यवस्थामन्त्रीसमेत भएकी उनी १० औं महाधिवेशनबाट सचिवमा फड्को मार्न सफल भइन् । उनले ३५ हजार १४२ मत ल्याएकी थिइन् ।
अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ एमालेको २८ हजार ५३०, कांग्रेसको ३० हजार २०२, माओवादीको ३ हजार ९४८, अन्यको ३ हजार ६८५ मत रहेको छ । गठबन्धनको जम्मा मत ३४ हजार १५० छ । एमाले ५ हजार ६२० ले पछाडि छ ।

स्थानीय तहको यसपटकको निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षतर्फ एमालेले ३४ हजार ८०१, कांग्रेसले ३६ हजार ८०६, माओवादीले १ हजार २४३, नेकपा एसले २३३, राप्रपाले ५११ मत ल्याएको छ । गठबन्धनको जम्मा मत ३८ हजार ७९३ छ । गठबन्धन ३ हजार ९९२ ले अगाडि छ देखिन्छ ।

रघुवीर महासेठ

सचिव रघुवीर महासेठ एमाले मधेसका प्रभावशाली नेता हुन् । मधेस प्रदेश इन्चार्जसमेत रहेका उनी अघिल्लो निर्वाचनमा धनुषा ४ बाट निर्वाचित भएका थिए । महासेठ २२ हजार ५३२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्र यादवले १९ हजार ९९१ मत पाएका थिए । उनको मतान्तर २ हजार ५४१ रहेको थियो ।

अघिल्लोपटक यो क्षेत्रको समानुपातिकतर्फ एमालेको १६ हजार ४१३, कांग्रेसको १३ हजार ३९१, माओवादीको २३५६, राजपाको १२ हजार ३९६, संघीय समाजवादीको १५ हजार ७२९, अन्यको १ हजार ५७९ मत आएको थियो । गठबन्धनको जम्मा मत ३१ हजार ४७६ रहेको छ । एमाले १५ हजार ६३ मतले पछाडि देखिन्छ ।

स्थानीय तहको यसपटकको निर्वाचनमा एमालेले यो क्षेत्रका वडाध्यक्षतर्फ पाएको कुल मत २३ हजार ६३० छ । कांग्रेसको २५ हजार १९५, माओवादीको चार हजार ४३४, नेकपा एसको ८ हजार १६४, जसपाको ८ हजार ३७८, लोसपाको २१८४, जनमत पार्टीको १९५०, राप्रपाको ५१४ मत आएको देखिन्छ । गठबन्धनको जम्मा मत ४६ हजार १७१ रहेको छ । गठबन्धन २२ हजार ५४१ ले अगाडि छ । यसैले यो क्षेत्रमा एमालेलाई गठबन्धनका उम्मेदवार हराउन कठिन हुने देखिन्छ ।

छविलाल विश्वकर्मा

सचिव छविलाल विश्वकर्मा दलित समुदायबाट राजनीतिमा स्थापित नेतामध्येका एक हुन् । एमालेको १० औं महाधिवेशनमा ओलीले उनलाई सचिवमा नियुक्त गरेका थिए । अघिल्लो निर्वाचन उनले रुपन्देही १ बाट ३४ हजार ७५२ मत ल्याएर जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अब्दुल रजाक गद्दिले २६ हजार ८८५ मत पाएका थिए । उनको मतान्तर ७ हजार ८६८ रहेको छ ।

अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ यो क्षेत्रमा एमालेको २६ हजार ६४० मत आएको थियो । कांग्रेसको २१ हजार ३२८, माओवादीको ६ हजार २६२, संघीय समाजवादीको ९ हजार ६३१, राजपाको ३ हजार ४६७, अन्यको ११ हजार ७९९ मत आएको देखिन्छ । गठबन्धनको जम्मा मत ३७ हजार २२१ रहेको छ । गठबन्धन १० हजार ५८१ मतले अगाडि छ ।

यसैगरी स्थानीय निर्वाचनमा यसपटक यो क्षेत्रका वडाध्यक्षतर्फ एमालेको ३० हजार ३९४, कांग्रेसको ३२ हजार ९९९, माओवादीको ४ हजार २०२, नेकपा एसको १ हजार २४३, जसपाको ६ हजार ६९५, लोसपाको ३२५ मत आएको देखिन्छ । समग्रमा गठबन्धनको जम्मा मत ४५ हजार १३९ छ । गठबन्धन १४ हजार ७४५ ले अगाडि छ ।

एमालेले १० देखि ३० हजार मतान्तरले जितेका २८ सिट कुन–कुन हुन् ?

सत्ता गठबन्धनबीच तालमेल भए पनि काठमाडौं ४ मा गगनलाई चुनाव जित्न कसरी हुँदैछ कठिन ?

२०७४ को चुनाव : यी हुन् ५० हजार बढी लोकप्रिय मत ल्याएर जित्नेहरू

कांग्रेसले एक्लै चुनाव लड्दा ५ हजारभन्दा कम मतान्तरले गुमाएका ४० सिट कुन–कुन हुन् ?

एमाले एक्लै अघि बढ्छ, चुनावमा लड्छ : प्रदीप ज्ञवाली [अन्तर्वार्ता]