NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

महामन्त्री गगनलाई कांग्रेस पदाधिकारी बैठकको अध्यक्षता गर्ने दुर्लभ अवसर कसरी आयो ?

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापालाई पार्टी पदाधिकारीको बैठक संचालन गर्ने दुर्लभ अवसर मिलेको छ ।

स्थानीय तहमा कांग्रेसबाट जितेका जनप्रतिनिधिको अभिमुखीकरणकाे तयारी गर्न बोलाएको पदाधिकारी बैठकमा महामन्त्री गगनलाई पार्टी बैठकको अध्यक्षता गर्ने अवसर मिलेको हो ।

आफूभन्दा माथि दुई दुई उपसभाति र एक सभापति भए पनि पदाधिकारीमा चौथो नम्बरमा रहेर पनि गगनले बैठकको अध्यक्षता गर्न पाएका हुन् ।

‘सभापतिजी काम विशेषले आउन सक्नुभएन । उपसभापति पूर्णबहादुर खड्का अस्वस्थ हुनुहुन्छ । अर्का उपसभापति धनराज गुरुङ अष्ट्रेलिया भ्रमणमा हुनुहुन्छ’ कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने, ‘यसैले स्थानीय तहका जनप्रतिनिधिलाई तालिम दिने कार्यक्रमको तयारीका लागि बसेको पदाधिकारीको बैठकलाई महामन्त्री गगन थापाले अध्यक्षता गर्नुभएको हो ।’

आफूभन्दा तीन पदाधिकारी भए पनि गगनले यस्ताे साैभाग्य पाएका हुन् ।

पौने ११ देखि केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा प्रवक्ता डा. प्रकाशशरण महत र अरु ६ जना सहमहामन्त्री सहभागी छन् । सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर मात्रै सहभागी छैनन् । झापामा रहेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आउने जानकारी दिएको केसीले बताए ।

कांग्रेसले ३२० प्रमुख र अध्यक्ष, ३०० उपप्रमुख र उपाध्यक्ष, ३४ जना जिल्ला समन्वय प्रमुख, २३ जना उपप्रमुखलाई तालिम दिन लागेको हो ।

सानेपाको हेरिटेज प्लाजामा हुने कार्यक्रममा स्थानीय तहको कार्यालय कसरी व्यवस्थित बनाउने, कांग्रेसले जितेका ठाउँमा कसरी काम गर्ने, राज्यको पुनर्र्सरचाबारे कसरी काम गर्ने, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहले कसरी सघाउने भन्ने विषयमा यो तालिम केन्द्रित हुने बुझिएको छ ।

साथै कांग्रेसले आगामी २ देखि २४ भदौसम्म देशभर केन्द्रीय प्रतिनिधि पठाएर चुनावी अभियान गर्दैछ ।