NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ असोज २० गते

लोकसेवामा कुन प्रश्नको उत्तर कसरी लेख्ने ?

काठमाडौं । जनतामा विश्वास देखिन्छ – लोकसेवा आयोग गोप्य र निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक र प्रशासकबाट समाधान पहिल्याउने प्रयास थालेकाे छ । आजको श्रृंखलामा नेपाल सरकारका सहसचिव प्रकाश दाहालले लोकसेवासँग सम्बन्धित ७ जिज्ञासाबारे जवाफ दिनुभएको छ ।

१. नेपालको संविधानमा बहुस्तरीय शासन प्रणालीलाई सस्थागत गर्न के–कस्ता प्रावधान रहेका छन् ? संघीय प्रदेश तथा स्थानीय तहका शासकबीचकाे सहकार्यलाई प्रवर्द्धन गर्ने सन्दर्भमा देखापरेका चुनौतीको विवेचना गर्नुहोस् ।

यस्तो प्रश्नमा कसरी लेख्ने ? छुटाउनै नहुने कुरा के–के हुन् ?

यसमा निष्कर्ष कसरी लेख्ने ? परिचय आवश्यक हुन्छ वा हुँदैन ?

बहुस्तरीय शासन भनेको शासकीय शक्तिलाई विभिन्न तहमा विभाजन गरी पारस्परिक सहयोग, सहकार्य, साझेदारी र समन्वयमा प्रयोग गर्ने पद्धति हो । तपाईंले सोध्नु भएको प्रश्नको जवाफ यही अवधारणाको सेरोफेरोमा रहेर दिनु पर्छ । यसका लागि उत्तरलाई बहुस्तरीय शासन, नेपालको संविधानमा बहुस्तरीय शासनसम्बन्धी व्यवस्था र तीन तहबीचको सहकार्यका चुनौती गरी तीन खण्डमा विभाजन गरी छुट्टा–छुट्टै शीर्षक दिएर प्रस्तुत गर्नु पर्छ ।

पहिलो खण्डमा बहुस्तरीय शासनको परिचय ३/४ लाइनमा नबढ्ने गरी दिनु पर्छ । दोस्रो खण्डमा नेपालको संविधानले तीन तहको शासनका सम्बन्धमा गरेका व्यवस्थाहरू बुँदागत रूपमा लेख्नुपर्छ । यसमा कार्यक्षेत्रका हिसाबले सरकार, निजी क्षेत्र र नागरिक समाजको भूमिका संविधानले के कस्तो परिकल्पना गरेको छ भन्ने कुरा पनि उल्लेख गर्नु राम्रो हुन्छ । तेस्रो खण्डमा राज्य शक्तिलाई हाल संघ, प्रदेश र स्थानीय तहबाट प्रयोग गर्ने क्रममा यी तीन तहहरूबीच संविधानले परिकल्पना गरेबमोजिमको सहअस्तित्व, सहकारिता र समन्वय कायम गर्न के कस्ता चुनौती तथा समस्याहरू देखिएका छन् भन्ने कुरा उदाहरणसहित लेख्नु राम्रो हुन्छ ।

कुनै पनि उत्तरको निष्कर्ष लेख्दा उत्तरको सार एक वाक्यमा र ‘वे फरवार्ड’ अर्को वाक्यमा लेख्नु राम्रो हुन्छ । उदाहरणका लागि यो प्रश्नको उत्तरको निष्कर्ष यस्तो लेख्न सकिन्छ : “बहुस्तरीय शासनमा शासनका तहहरूबीचको सहकार्य र समन्वय मजबुत हुनु अनिवार्य हुन्छ । नेपालले पनि संघीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहबीचको अन्तरसम्बन्ध मजबुत राख्नमा पर्याप्त ध्यान दिनु आवश्यक छ ।”

२ जवाफदेहिता र उत्तरदायित्वको बिचमा फरक छुट्याउनुहोस् ।

यसको उत्तर कसरी लेख्ने ?

यो प्रश्नको उत्तर लेख्दा सर्वप्रथम जवाफदेहिता र उत्तरदायित्वलाई एक/एक वाक्यमा मौलिक परिभाषासहित सरल भाषामा दिनु राम्रो हुन्छ । त्यसपछि यी दुई विषयहरू बीचमा रहेका भिन्नतालाई टेबलमा तुलनात्मक रूपमा बुँदागत ढाँचामा लेख्नु पर्ने हुन्छ । र, अन्त्यमा यी दुई विषयबीचको अन्तरसम्बन्ध समेत झल्किने गरी संक्षिप्त निष्कर्ष लेख्नु पर्छ ।

३ नेपालमा राई,नेवार,लिम्बू,मगर,थारू,मधेसी समुदायहरुको आ–आफ्नै भाषा,सस्कृति र भेषभुषा छन् । उनीहरू छुट्टा–छुट्टै राष्ट्र हुन् कि होइनन् ?

राष्ट्र भनेको एकैखाले सामाजिक सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेका मानिसहरूको समुदाय हो । यो निश्चित समुदायको पहिचानसँग सम्बन्धित हुन्छ । राष्ट्र अमूर्त, भावनात्मक, अभौतिक, अनुभूतिजन्य र मनोवैज्ञानिक विषय हो । राष्ट्रलाई कुन तहबाट परिभाषा गर्ने भन्ने विषय महत्त्वपूर्ण हुन्छ । सूक्ष्म तहबाट हेर्दा माथिको परिभाषा अनुसार तपाईंले  भन्नुभएका सबै समुदायहरू राष्ट्र हुन् । तर समग्र देशको हकमा कुरा गर्दा यस्ता सयौं समुदायहरूको सहअस्तित्वकाबीच उनीहरूको अलग–अलग सामाजिक, सांस्कृतिक र ऐतिहासिक पहिचान हुँदा–हुँदै पनि नेपाली भन्ने साझा पहिचान र भावनाले बाँधिएको सिंगो नेपाली जनता राष्ट्र हो । कुनै पनि मुलुकले गर्न चाहने राष्ट्र निर्माण भनेको समाजको अलग–अलग पहिचानहरूको संरक्षण, सम्मान र प्रवर्द्धनसहित उनीहरूबीचमा साझा पहिचान र एक्भाव विकास गरी मुलुकभित्र बसोबास गर्ने सम्पूर्ण समुदायहरुलाई एउटै सिंगाे राष्ट्रका रूपमा एकताको सूत्रमा आबद्ध गर्नु हो ।

४. सरकारका तीन तहबीच राजनैतिक, आर्थिक र प्रशासनिक अन्तरसम्बन्धबारे प्रष्ट पार्नुहोस् ? – १०

सरकारका तीन तहबीचको अन्तरसम्बन्ध संविधानले गरेको व्यवस्थाका आधारमा लेख्नु पर्छ । नेपालमा संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध पारस्परिक सहयोग, सहअस्तित्व, सहकारिता र समन्वयमा आधारित छ । नेपालको संविधानको धारा ५१, ५६, ५७, ५८, २३२ र २३५ ले राजनीतिक अन्तरसम्बन्धलाई परिभाषित गरेका छन् । धारा ५९ र ६० ले आर्थिक अन्तरसम्बन्धको आधार तय गरेका छन् । त्यसैगरी धारा ५६, ५७, २३२, २३५, २२७ र २८५ ले प्रशासनिक अन्तरसम्बन्धलाई परिभाषित गरेका छन् । यो प्रश्नको उत्तर संविधानका यिनै व्यवस्थाहरूका आधार लेख्नु पर्ने हुन्छ ।

५. सामाजिक समस्या र विकृति सुधारका उपायहरु उल्लेख गर्नुहोस् ? – १०

यो प्रश्नको उत्तर लेख्दा समाजमा विद्यमान रहेका समस्या तथा विकृतिहरू संक्षेपमा उल्लेख गरी तिनको सुधारका उपायलाई नीतिगत, संस्थागत, प्रशासनिक र आचरणगत सुधारमा समुहकृत गरी बुँदागत रूपमा लेख्नु राम्रो हुन्छ ।

६. सामाजिक द्वन्दका कारण, असर र द्वन्द व्यवस्थापनका उपायहरू उल्लेख गर्नुहोस् ? – १०

यस प्रश्नको हकमा सर्वप्रथम सामाजिक द्वन्द्वको संक्षिप्त परिभाषा लेखी फरक–फरक शीर्षकमा सामाजिक द्वन्द्वका कारण र असरहरूलाई बुँदागत रूपमा लेख्नु पर्छ । अर्को खण्डमा द्वन्द्व व्यवस्थापनका उपायहरु बुँदागत रूपमै लेख्नुपर्छ । कारणहरू लेख्दा राजनीतिक, सामाजिक, आर्थिक र जानसांख्यिक पक्षलाई छुटाउनु हुन्न । असर लेख्दा यस्ता कारणहरूले शान्ति, विकास, सामाजिक सहिष्णुता, स्थायित्व र राष्ट्रिय एकताजस्ता विषयमा केन्द्रित भएर लेख्नु पर्छ । द्वन्द्व व्यवस्थापनका उपायहरु लेख्दा माथि उल्लेख गरिएका कारणका पक्षहरूमै आधारित भएर ती कारणको समाधान गर्न निरोधात्मक र उपचारात्मक दुवै उपायहरू लेख्नुपर्छ ।

७. नेपालको विकासका पूर्वाधारहरूको विकासको अवस्थाबारे प्रष्ट पार्नुहोस् ? – १०

यो प्रश्नको उत्तर लेख्दा तथ्यांकहरूमा आधारित भएर लेख्नुपर्छ । पूर्वाधारअन्तर्गत सडक यातायात, सिंचाइ, खानेपानी, सहरी विकास, ऊर्जाजस्ता क्षेत्रहरूलाई छुटाउनु हुन्न । यी क्षेत्रहरूको स्थितिलाई तथ्यांकमा प्रस्तुत गरे पछि संक्षेपमा पूर्वाधार विकासमा रहेका समस्या तथा कमजाेरीहरूको समेत चर्चा गर्नुपर्छ ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन्  कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना  [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासक  र विषयविज्ञसमक्ष राखेर  उहाँहरूले पहिल्याएकाे समाधान  यहाँहरूसमक्ष पस्किने छौं ।)

 

ताजा अपडेट

नेपालवाच विशेष