NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

थप ८१५ मा कोरोना संक्रमण पुष्टि, पाँचको मृत्यु

काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ ।

सो अवधिमा चार हजार पाँच सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार चार सय ११ जनाको पिसीआर र दुई हजार एक सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा चार सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७४ हजार दुई सय ९५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या पाँच हजार आठ सय ६९ छ । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ८२ पुगेको छ । होमआइसोलेशनमा पाँच हजार छ सय ७७, संस्थागत आइसोलेशन एक सय ९२, आइसीयूमा ६० र भेन्टिलेटरमा आठ जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा कैलाली र मोरङ छन् । शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट र हुम्ला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार नौ सय २२,  ललितपुर आठ सय ६८ र भक्तपुरमा ८९ सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष