NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

मेलम्चीका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य

मेलम्ची। मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मेलम्ची-९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर सडक भासिएको थियो ।

यो सडक भएर पाँचपोखरी थाङ्पाल गाउँपालिकाका आठवटै वडा र मेलम्चीका ९ र १० वडाका स्थानीय आवतजावत गर्ने गरेका छन् । यी स्थानीय र यस भेगको यातायातका लागि यो नै एकमात्र सडक हो । यो सडक तलबाट भासिएर पहिरो खसेको छ तर माथिबाट सवारीसाधन तथा मानिस यात्रा गर्ने गर्दछन् ।

सडक जीर्ण हुँदासमेत जोखिम लिएर जसोतसो यातायातका साधन गुडिरहेका छन् । स्थानीयले अर्को विकल्प नभएकाले यात्रा गर्ने गरे पनि कतिबेला अप्रिय घटना हुन्छ भन्ने त्रास रहेको पाँचपोखरी थाङ्पाल गाउँपाकिाका स्थानीय सुन्दर सापकोटाले बताए ।

केही दिन अगाडि मात्रै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, इञ्जिनीयर लगायतको टोलीले अवलोकन गरी तत्काल सडक मर्मत गर्ने बताएका थिए । सडक मर्मतको काम भने अझै सुरु हुन सकेको छैन ।

पाँच पोखरी थाङ्पाल गाउँपालिकाका प्रवक्ता नारायण भट्टराईले मेलम्ची नगरपालिकालाई छिटोभन्दा छिटो सडक मर्मत गरी व्यवस्थित बनाउन आग्रह गरेका छन् । गाउँपालिका अध्यक्ष टाँसी लामाले पटकपटक नगरपालिकालाई आग्रह गरेको तर काम नभएको गुनासो गरे ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उक्त सडक मर्मतका लागि बजेट विनियोजन भइसकेको भन्दै अब काम सुरु हुने जानकारी दिए । उनले जोखिममा रहेको सो सडक माथि काट्ने ठाउँ नभएकाले तलबाट पर्खाल उठाएर सडक बग्नबाट रोक्नुपर्ने भएकाले ढिला भएको बताए ।