NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

आगामी चुनावी नतिजाबारे यस्तो छ देउवाको आकलन

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहमा सफल भए जस्तै सत्ता गठबन्धन दल आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि जित्नुपर्ने बताएका छन् ।

देशभर कांग्रेसबाट जितेका जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा देउवाले स्थानीय तहको निर्वाचनमा तालमेल गर्दा सफलता मिलेको भन्दै फेरि मिलेर चुनाव लड्नुपने बताएका हुन् । ‘२०७४ सालमा हामी एक्लै लड्यौं । हामीविरुद्ध गठबन्धन दल अर्कोतिर थियो र हामी हार्यौं’ देउवाले भने, ‘तर यसपटक हामीले स्थानीय तहदेखि नै गठबन्धन बनाएका छौं । यही गठबन्धनबीच सहमति गरेर चुनावमा जाँदैछौं । अब गठबन्धन दल मिलेर चुनावमा सफलता हासिल गर्नुपर्छ ।’

तर उनले गठबन्धन छ भनेर ढुक्कले नबसी जनताबीच जान पनि आह्वान गरे ।

‘हामी निर्वाचन जित्ने विश्वासमा छौं । तर यसको लागि चुप लागेर बस्नु हुँदैन । जनताबीच जानै पर्छ । यसपटक हामीले चुनाव जित्ने अवस्था छ’ देउवाले भने, ‘तर सहजै चुनाव जितिन्छ भनेर ढुक्कले नबसौं । गठबन्धन छँदैछ भनेर जनतामा जानबाट रोकिने होइन । जनतामा जानुपर्छ ।’

स्थानीय तहदेखि नै सत्ता गठबन्धन दल र कांग्रेसप्रति लहर देखिएको भन्दै अब गाउँगाउँमा विकासको लहर ल्याउने गरी काम गर्न पनि जनप्रतिनिधिलाई निर्देशन दिए ।

उम्मेदवारी चयनमा धेरै सिटमा मात्रै भागबण्डा भन्दा पनि धेरै सिटमा कसरी जित्ने गरी गठबन्धन दल लाग्नुपर्ने उनले बताए ।
ललितपुरकोको हेरिटेज गार्डेनमा कांग्रेसबाट जितेका जनप्रतिनिलाई अभिमुखीकरण तालिम दिइएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष