NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बिर्तामोडको फोहर निजी जग्गामा व्यवस्थापन गरिने

बिर्तामोड। केही दिनदेखि सडक किनारमै रहेको बिर्तामोडको फोहर उठ्ने भएको छ । नगरपालिका क्षेत्रको फोहर निजी जग्गामा व्यवस्थापन गरिने भएसँगै फोहर उठ्ने भएको हो ।

नगरमा उत्पादित फोहर तत्कालका लागि बिर्तामोड-८ हर्चनास्थित सुरेन्द्र नेपालको निजी जग्गामा बिर्सन गरिने भएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले जानकारी दिए । जग्गाधनीसँग सहमति भइसकेकाले नगरको फोहर आजदेखि नै उठाइने उनले बताए । बिर्तामोडमा फोहर व्यवस्थापनमा समस्या हुँदा केही दिनयता फोहोर सडक किनारमै रहेको छ ।

सर्वदलीय बैठकमार्फत फोहर व्यवस्थापन गर्न सबै राजनीतिक दल, स्थानीयवासी र सरोकारवालाले आवश्यक सहयोग/समन्वय गर्ने निर्णय भएको नगरप्रमुख पवित्रा महताराले बताइन् । फोहर बिर्सजनस्थलसम्म जाने सडकको स्तरोन्नति, तटबन्ध र सडक बत्ती जडानलगायत नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने भएको छ ।

बिर्तामोड–७ स्थित सुन्दर निचाझोडा वन क्षेत्रमा रहेको खाली जग्गामा वृक्षारोपण गरी फोहर व्यवस्थापन गर्न सम्भाव्यता अध्ययन, फोहर व्यवस्थापनको दिगो र प्रभावकारी व्यवस्थापनका लागि नगरपालिकाले उपयुक्त स्थानमा आवश्यक जग्गा खोजी तथा प्राप्ति तथा कनकाई–अर्जुन–बिर्ता नवीकरणीय ऊर्जा कम्पनीमार्फत फोहरबाट ऊर्जा र मल उत्पादन गर्ने कार्यमा साझेदारी गर्ने निर्णय गरिएको छ ।

कुहिने र नकुहिने फोहर वर्गीकरण गर्न नगरका सबै घर परिवार तथा व्यावसायिक प्रतिष्ठानलाई आह्वान गरिएको छ । वर्गीकरण नभएको फोहर सङ्कलन नगर्ने कार्ययोजना बनाएर लागू गर्ने, फोहर सङ्कलन, ढुवानी र बिर्सजन गर्ने कार्यमा अवरोध पु-याउनेलाई कारबाही गर्ने तथा फोहर व्यवस्थापनका लागि नगरउपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा गठन भएको समितिमा सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी पुनःगठन गरिने भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष