NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

लक्ष्यभन्दा कम राजस्व संकलन

धनगढी । धनगढीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७८/८९ मा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले पाँच अर्ब ७८ करोड १२ लाख ७८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा तीन अर्ब ९४ करोड ९९ लाख ७२ हजार रूपैयाँमात्रै संकलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा ३२ प्रतिशतले कम हो ।

कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार कूल राजस्वका शीर्षकमध्ये गत आर्थिक वर्षमा आयकर र स्वास्थ सेवा कर भने लक्ष्यभन्दा बढी संकलन भएको छ । आयकरतर्फ एक अर्ब ३६ करोड ६७ लाख ६० हजार रूपैयाँ उठाउने लक्ष्य लिइएकामा एक अर्ब ४० करोड रूपैयाँ, ९२ लाख चार हजार संकलन भएको छ । स्वास्थ्य सेवा करतर्फ पाँच करोड ८९ लाख ७० हजार रूपैयाँ उठाउने लक्ष्य लिइएकामा  लक्ष्यभन्दा झण्डै ५९ प्रतिशत बढी अर्थात नौ करोड ३७ लाख छ हजार रूपैयाँ संकलन भएको छ ।

घर बहाल करतर्फ चार करोड ३७ लाख ३४ हजार  रूपैयाँ संकलन गर्ने लक्ष्य लिइएकामा दुई करोड ७७ लाख २६ हजार रूपैयाँ संकलन भएको छ । ब्याज करतर्फ चार करोड ९७ लाख ९१ हजार संकलन गर्ने लक्ष्य लिइएकामा दुई करोड ३७ लाख २२ हजार संकलन भएको सूचना अधिकारी पौडेलले बताए । मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ४१ करोड ४९ लाख ४३ हजार संकलन गर्ने लक्ष्य लिइएकामा ९६ करोड ४८ लाख ५९ हजार संकलन भएको छ । अन्तशुल्क करतर्फ दुई अर्ब ८४ करोड ७० लाख ७९ हजार संकलन गर्ने लक्ष्य लिइएकामा एक अर्ब ४३ करोड सात लाख ४१ हजार संकलन गरिएको छ । जुन लक्ष्यभन्दा ५० प्रतिशत कम हो ।

कार्यालयले शिक्षा सेवा शुल्कको गत आर्थिक वर्षमा लक्ष्य निर्धारण नगरे पनि १३ हजार रूपैयाँ संकलन भएको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा भने लक्ष्यभन्दा २३ प्रतिशत बढी राजस्व संकलन गरेको थियो ।  उक्त आर्थिक वर्षमा चार अर्ब ५० करोड १० लाख ५४ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकामा पाँच अर्ब ५३ करोड ६ लाख ३० हजार १२३.५४ प्रतिशत राजस्व सङ्कलन भएको थियो । सूचना अधिकृत पौडेलले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन हुनाको मुख्य कारण कर्मचारी अभावसँगै कोरोनाको असर रहेको जनाए । चालु आर्थिक वर्षमा भने लक्ष्य अनुसारको कर उठाउने तयारीका साथ काम गरिरहेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले चार अर्ब ७६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ ।