NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कानूनमन्त्रीले भेटे निहारिकालाई

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निहारिका राजपुतलाई न्याय दिलाउन सरकारले भरमग्दुर प्रयास गर्ने बताएका छन् ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राजपुतलाई आज भेटेर कानूनमन्त्री कोइरालाले अनशन स्थगित गर्न आग्रह गरे । महोत्तरीस्थित जलेश्वर नगरपालिका–९ निवासी निहारिका बलात्कारबाट जन्मिएको आफ्नो बच्चा र बलात्कार गर्ने पुरुषको डिएनए जाँचको माग राख्दै आमरण अनशन बसेकी छिन् ।

वसन्तपुरमा एक सातादेखि आमरण अनशन बसेकी निहारिकाले यही साउन २७ गते राष्ट्रपति भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेको थियो ।

कानूनमन्त्री कोइरालाले जिल्ला अदालतको फैसला चित्त नबुझे उच्च अदालतसम्म जाने बाटो खुला भएको र उच्च अदालतले दुवै पक्षलाई बोलाएको अवस्थामा अनशन बस्नुको औचित्य नभएकाले अनशन स्थगित गर्न सरकारको पक्षबाट निहारिकालाई आग्रह गरिएको जानकारी दिए । निहारिकाको मागबारे सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

भेटमा निहारिकाले सोचेर आफ्नो राय व्यक्त गर्ने बताएकी छिन् । भेटमा महान्यायाधिवक्ता खम्बबहादुर खाती, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले, जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा, प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीलगायतको सहभागिता थियो ।

निहारिकाले गरिन् आत्मदाह प्रयास