NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

२३ सिट जित्ने कांग्रेसका अधिकांश उम्मेदवार औसत, हार्नेहरू प्रभावशाली, जित्ने र हार्ने को–को ?

काठमाडौं । २०७४ सालको निर्वाचनमा कांग्रेसले शर्मनाक पराजय बेहोरेको थियो । एमाले र माओवादी मिल्दा कांग्रेस १६५ प्रतिनिधिसभाका क्षेत्रमा २३ सिटमा सीमित भएको थियो । प्रभावशाली नेता नै पराजित हुन पुगेका थिए । तर औसत नेताले र पहिलोपटक प्रतिस्पर्धा गरेका नेताले चुनाव जितेका थिए ।

शेरबहादुर देउवा, डा. शशांक कोइराला, प्रकाशमान सिंह, गगन थापा, विजयकुमार गच्छदार, डा. मीनेन्द्र रिजालबाहेकका अरु १६÷१७ निर्वाचित उम्मेदवार प्रभावशाली र चर्चित अनुहार होइनन् । राजनीतिमा प्रभाव र पहुँच नेता नेता हार्दा कम प्रभावी नेताले भने चुनाव जितेका थिए ।

पराजित हुने अनुहारमा रामचन्द्र पौडेल, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, विश्वप्रकाश शर्मा, महेश आचार्य, आरजु राणा, बलबहादुर केसीसहितका थुप्रै प्रभावशाली छन् ।

त्यस्तै, चन्द्र भण्डारी, दीपकुमार उपाध्याय, एनपी साउद, रमेश लेखक महेन्द्र यादव, किरण यादव, अनिल रुंगटा, रमेश रिजाल, चिनकाजी श्रेष्ठ, शंकर भण्डारी, भुपेन्द्रजंग शाहीसहितका उम्मेदवार पनि चर्चित हुन् ।

प्रदेश १ का २८ मा ५ सिट, नाम चलेका नै पराजित

प्रादेशिक हिसाबमा कांग्रेसले सातमध्ये प्रदेश १ का २८ सिटमा ५ सिट जितेको थियो । प्रदेश १ बाट मोरङ २ बाट डा. मिनेन्द्र रिजाल १८०५ मतान्तरले विजयी भएका थिए । उनले एमालेका ऋषिकेश पोखरेलाई पराजित गरेका थिए ।

सुनसरी २ बाट सीताराम महतो ६१४६ मतान्तरले विजयी भए । उनले माओवादीका डम्मरु सुवेदीलाई पराजित गरे । सुनसरी ३ बाट विजयकुमार गच्छदार १५३३ मतान्तरले विजयी भएका थिए । उनले एमालेकी भगवती चौधरीलाई पराजित गरेका हुन् । सुनसरी ४ बाट ज्ञानेन्द्रबहादुर कार्की ६५९७ मतान्तरले विजयी हुन पुगे । उनले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए ।

उदयपुरबाट डा. नारायण खड्का ५४८ मतान्तरले विजयी हुँदा एमालेकी मञ्जुकुमारी चौधरीलाई पराजित गरे ।

जो पराजित हुन पुगे

प्रदेश १ कांग्रेसका प्रभावशाली नेताहरूले प्रतिनिधित्व गर्ने क्षेत्र हो । तर विजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की र डा. मीनेन्द्र रिजालबाहेकका प्रभावशाली नेताहरू गत निर्वाचनमा पराजित हुन पुगे ।

यो प्रदेशबाट पराजित हुनेमा चर्चित अनुहार नेता नै थिए । युवा नेता विश्वप्रकाशमा शर्मा झापा १ बाट २८६३ मतले माओवादीका राम कार्कीसँग पराजित हुन पुगे । अर्का प्रभावशाली नेता डा. शेखर कोइराला पनि मोरङ ६ बाट एमालेका लालबाबु पण्डितसँग ६७५ मतान्तरले पराजित हुन पुगेका थिए ।

प्रभावशाली नेता कृष्णप्रसाद सिटौला झापा ३ बाट नमिठो पराजय बेहोर्न बाध्य भएका थिए । उनी राप्रपाका राजेन्द्र लिङदेनसँग १३४४३ मतान्तरले पराजित भएका थिए ।

पाँचथर १ बाट कांग्रेसका भीष्मराज आङदेम्बे एमालेका वसन्तकुमार नेम्वाङसँग १०६१६ मतान्तरले पराजित भएका थिए । महेश आचार्य मोरङ ४ बाट माओवादीका अमनलाल मोदीसँग ६७२९ मतले पराजित भएका थिए ।

त्यस्तै, बलबहादुर केसी, रामहरि खतिवडा,केशव थापा, देउकुमार थेवे, दीपक खड्का, सीता गुरुङ, उमेशजंग रायमाझी, डिगबहादुर लिम्बु, अमृत अर्यालसहितका चर्चित नेता प्रतिनिधिसभामा प्रदेश १ बाट पराजित भएका चर्चित अनुहारका नेता हुन् ।

मधेस प्रदेशमा ३२ मा ६ सिट, तालमेलका सूत्रधार नै पराजित

मधेस प्रदेशका ३२ सिटमा कांग्रेसले ६ सिटमात्रै जित्यो । सप्तरी ४ बाट तेजुलाल चौधरी ९२२७ मतान्तरले राजपाका मृगेन्द्रकुमार यादवलाई पराजित गरे । सिरहा १ बाट प्रदीप गिरि २५८० मतान्तरले विजयी हुँदा एमालेका गंगा यादव पराजित भए । सर्लाही ३ बाट अमरेशकुमार सिंह १५३९ मतले विजयी हुँदा राजपाका राकेशकुमार मिश्र पराजित हुन पुगे ।

रौतहट २ बाट मोहम्मद अफताव आलमले १९६८ मतले संघीय समाजवादी फोरमका किरणकुमार साहलाई पराजित गरे ।
रौतहट ४ बाट देवप्रसाद तिमल्सिनाले ५२२२ मतले एमालेका वंशीधर मिश्रलाई पराजित गरे । बारा १ बाट उमाकान्त चौधरीले २४२० मतान्तरले एमालेका अच्युतप्रसाद मैनालीलाई पराजित गरे ।

यी प्रभावशाली पराजित भए

प्रत्यक्षमा यसरी कम प्रभावशाली नेता जिते पनि धेरै सिनियर नेता भने पराजित हुन पुगेका थिए । उपसभापति विमलेन्द्र निधि धनुषा ३ बाट राजपाका राजेन्द्र महतोसँग २९०३ मतले पराजित हुन पुगे । मधेसकेन्द्रित दलसँग चुनावी तालमेलको चाँजोपाँजो निधिले नै मिलाएका थिए । तर उनी आफैं पराजित हुन पुगे । अरु प्रभावशालीलाई पनि जिताउन सकेनन् ।

धनुषा ४ बाट कांग्रेसका महेन्द्र यादव एमालेका रघुवीर महासेठसँग २५४१ मतान्तरले पराजित भएका थिए । महोत्तरी ३ मा किरण यादव राजपाका शरतसिंह भण्डारीसँग १६७४८ मतान्तरले पराजित भइन् । उनी पूर्व राष्ट्रपति डा. रामवरण यादवकी भतिजीसमेत हुन् ।

रौतहटमा कृष्णप्रसाद यादव, सुनिलकुमार यादव, राधेचन्द्र यादव, पर्सा १ मा अनिलकुमार रुंगटा, पर्सा २ मा अजयकुमार चौरसिया, पर्सा ३ मा सुरेन्द्रप्रसाद चौधरी र पर्सा ४ मा रमेश रिजाल पनि चर्चित अनुहार हुन् । यी सबै नेताले पराजय बेहोरे ।

वाग्मतीका ३३ सिटमा ५ सिट, प्रभावशाली नै पराजित

वाग्मती प्रदेशका ३३ प्रतिनिधिसभा सिटमा २०७४ सालमा कांग्रेसले ५ सिट जितेको थियो । वाग्मतीमा रसुवाबाट मोहन आचार्य ४१७५, काठमाडौं १ बाट प्रकाशमान सिंह ८१८, काठमाडौं ४ बाट गगन थापा ३४१८, काठमाडौं ६ बाट भीमसेनदास प्रधान १३ सय, १० बाट राजेन्द्रकुमार केसी २२८३ मतान्तरले विजयी भएका थिए । आचार्यले एमालेका जनार्दन ढकाल, सिंहले विवेकशीलका रवीन्द्र मिश्र, थापाले एमालेका राजन भट्टराई, प्रधानले माओवादीका झक्कुप्रसाद सुवेदी र केसीले माओवादीका हितमान शाक्यलाई पराजित गरेका थिए ।

यी प्रभावशालीले वाग्मतीबाट हारे

वाग्मती प्रदेशका प्रतिनिधिसभा क्षेत्रमा कांग्रेसका सिनियर र प्रभावशाली नेताले नै पराजय भोग्नुपरेको थियो । डा. प्रकाशशरण महत काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेलसँग ९८६० मतान्तरले पराजित भएका थिए ।

नुवाकोट १ मा डा. रामशरण महत माओवादीका हितबहादुर तामाङसँग ८५५३ मतान्तरले पराजित भएका थिए । नुवाकोट २ बाट अर्जुनरसिंह केसी एमालेका नारायणप्रसाद खतिवडासँग १०५५७ मतान्तरले पराजित हुन पुगेका थिए ।

यीबाहेक ललितपुर १ बाट उदयशमशेर राणा, भक्तपुर २ बाट दमननाथ ढुंगाना, काठमाडौं ८ बाट नवीन्द्रराज जोशी, काठमाडौं ३ बाट अम्बिका बस्नेत, काठमाडौं ९ बाट ध्यानगोविन्द रञ्जित, ललितपुरबाट चन्द्र महर्जन र मदनबहादुर अमात्य पराजित भएका थिए । काभ्रेबाट मधु आचार्य र तीर्थ लामा, सिन्धुपाल्चोकबाट मोहनबहादुर बस्नेत र मकवानपुरबाट महालक्ष्मी उपाध्याय डिना पनि पराजित हुने चर्चित अनुहार हुन् ।

गण्डकीमा १८ मात्रै एक सिट कांग्रेसलाई

गण्डकीका १८ सिटमा कांग्रेसले एउटा मात्रै सिट जितेको थियो । नवलपुर १ मा कांग्रेसका डा. शशांक कोइराला जिते । उनी ४०२४ मत ल्याएर विजयी भएका थिए । उनीबाहेक १७ सिटमा एउटा कांग्रेसले जित्न सकेको थिएन । न उनीसहित नेता रामचन्द्र पौडेलको प्रभावले नै कांग्रेसले कुनै सिट जित्यो ।

गण्डकीबाट जो पराजित भए

१८ मध्ये एक सिटमात्रै जितेको गण्डकीमा कांग्रेस धेरै प्रभावशाली नेताले पराजय बेहोरे । नेता रामचन्द्र पौडेल तनहुँ १ बाट तत्कालीन एमालेका कृष्णकुमार श्रेष्ठसँग ६८०२ मतान्तरले पराजित भएका थिए ।

त्यस्तै, गोपालमान श्रेष्ठ स्याङजा २ बाट एमालेकी पद्या अर्यालसँग ३७०६ मतले पराजित भएका थिए । तनहुँ २ बाट शंकर भण्डारी एमालेका केदार सिग्देलसँग ३२७९ मतले, लमजुङमा दिलबहादुर घर्ती माओवादीका देव गुरुङसँग ८४३२ मतान्तरले पराजित भएका थिए । त्यस्तै, गोरखा १ बाट कांग्रेसका चिनकाजी श्रेष्ठ माओवादीका हरिराज अधिकारीसँग ३२१७ मतले पराजित भएका थिए ।

मनाङबाट टेकबहादुर गुरुङ, कास्कीबाट यज्ञबहादुर थापा र देवराज चालिसे, स्याङजा १ बाट राजु थापा, मुस्ताङबाट रोमी गौचन थकाली र पर्वतबाट पराजित भएका अर्जुनप्रसाद जोशी पनि चर्चित अनुहार हुन् ।

लुम्बिनीका २६ ५ सिट मात्रै कांग्रेसलाई

लुम्बिनीका २६ सिटमा कांग्रेसले ५ सिट जित्यो । रुपन्देही ४ बाट प्रमोदकुमार यादव ११३०२ मतान्तरले विजयी भए । उनले राप्रपाका सर्वेन्द्रनाथ शुक्ललाई पराजित गरेका थिए । रुपन्देही ५ बाट भरतकुमार साह १२६५० मतान्तरले विजयी भए । उनले माओवादीका डिलाराम आचार्यलाई पराजित गरे ।

कपिलवस्तु ३ अभिषेकप्रताप शाहले ४१७५ मतान्तरले समाजवादी फोरमका मंगलप्रसाद गुप्तालाई पराजित गरे । बर्दिया १ बाट संजयकुमार गौतम ७५६ मतान्तरले जित्दा एमालेका वामदेव गौतम पराजित हुन पुगे ।

नवलपरासी २ बाट देवेन्द्रराज कँडेल १०२३२ मतान्तरले विजयी हुँदा माओवादी केन्द्रका घनश्याम यादव पराजित भएका थिए । यी जित्ने अनुहार राष्ट्रिय राजनीतिमा चर्चित अनुहार होइनन् । तर पनि संजयकुमार गौतमबाहेकले भारी मतान्तरले चुनाव जितेका थिए ।

जो पराजित भए

गुल्मी १ बाट चन्द्र भण्डारी एमालेका प्रदीप ज्ञवालीसँग ७५५८ मतान्तरले पराजित हुन पुगे । कपिलवस्तु १ बाट कांग्रेसका दीपकुमार उपाध्याय माओवादीका चक्रपाणि खनालसँग ९४ मतान्तरले पराजित हुन पुगे । दाङ ३ बाट दीपक गिरी एमालेका हिराचन्द्र केसीसँग ६५५७ मतान्तरले पराजित भए ।

डा. गोविन्दराज पोखरेल प्युठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसँग १६२२८ मतान्तरले पराजित भए । यी बाहेक सुरेन्द्रराज आचार्य कपिलवस्तु २ बाट, अमरसिंह पुन रोल्पाबाट, राजु खनाल दाङ २ बाट पराजित हुने चर्चित अनुहार हुन् ।

कर्णाली प्रदेशका १२ सिटमा कांग्रेसमा नील

कर्णाली प्रदेशमा प्रतिनिधिसभाका १२ सिट थिए । तर कांग्रेसले एउटा सिटमा पनि जित हात पारेन । बरु प्रभावशाली नेता पूर्णबहादुर खड्का नै पराजित हुन पुगे । सुर्खेत १ बाट एमाले उम्मेवार ध्रुवकुमार शाहीसँग कांग्रेसका खड्का ३३८२ मतान्तरले पराजित हुन पुगे । कालिकोटबाट भुपेन्द्रजंग शाही माओवादीका दुर्गबहादुर शाहीसँग ४७०५ मतले पराजित भए । यी बाहेक राजीवविक्रम शाह जाजरकोटबाट, हृदयराम थानी सुर्खेत २ बाट पराजित भए ।

सुदूरपश्चिमका १६ मा जम्मा एक सिट

सुदूरपश्चिममा १६ सिटमा कांग्रेसले एउटा मात्रै सिट जित्यो । जसमा डडेल्धुराबाट शेरबहादुर देउवा निर्वाचित भएका थिए । कांग्रेस सभापति हुनुका प्रभावका देउवाले प्रत्यक्षमा आफूबाहेकको एक सिट पनि जिताउन सकेनन् । आफूले भने माओवादीका खगराज भट्टलाई ६९४८ मतान्तरले पराजित गरेका थिए । पटकपटक प्रधानमन्त्री र पार्टी सभापति भए पनि सुदूरपश्चिममा देउवाबाहेकको एक सिट नजित्नुले कांग्रेसमा प्रश्न नै उठेको थियो ।

सुदूरपश्चिममा आरजु राणा कैलाली ५ बाट, रमेश लेखक कञ्चनपुर ३ बाट, एनपी साउद कञ्चनपुर २ बाट, रामजनम चौधरी कैलाली ३ बाट पराजित भए ।

यसरी २३ सिट जित्दा कांग्रेसका उम्मेदवारले एक हजारभन्दा कम मतान्तरको जित ३ सिटमा जित हासिल गरे । १ हजारदेखि २ हजारसम्मको मतान्तरले कांग्रेसले ५ सिट जित्यो । दुई हजारदेखि तीन हजारको अन्तरले कांग्रेसले ३ सिटमा विजय प्राप्त गर्यो । तीन हजारदेखि १० हजारसम्म ९ सिट र १० हजारदेखिमाथिको अन्तरमा ३ सिट जित्यो ।

कांग्रेसले एक्लै चुनाव लड्दा ५ हजारभन्दा कम मतान्तरले गुमाएका ४० सिट कुन–कुन हुन् ?

यी हुन् २०७४ को चुनावमा एक हजारभन्दा कम अन्तरका रोचक १२ हारजित