NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

फोहर व्यवस्थापनमा अवरोध नगर्न कार्यकर्तालाई गगनको अपिल

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले फोहरमा अवराेध नगर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । बुधबार एक अपिल जारी गर्दै थापाले फोहरले काठमाडौं अस्तव्यस्त भएको र महामारी फैलन सक्ने भन्दै राजनीति नगर्न आह्वान गरेका हुन् ।

‘काठमाडौँ फोहोरले अस्तव्यस्त भएको छ। यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना छ। अतः सिस डोल र बन्चरेडांडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु- कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौँ, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ।’ थापाले अपिलमा भनेका छन्, ‘निश्चय नै यस्तो सुन्दा प्रभावित क्षेत्रका बासिन्दाको मनमा प्रश्न र आक्रोश हुन्छ-हामीसँग भएको सम्झौता कार्यान्वयन कहिले हुन्छ ? केही सम्झौता कामनपाले गरेको छ। महानगर प्रमुख लागिरहनुभएको छ, सिङ्गो टिम लागेको छ। सबैले साथ दिऊँ, केही समय लाग्ला तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नु भएको छ, त्यसैले यस पटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ।विश्वास गरौँ।’

यो महानगरपालिकाका मेयरको मात्रै जिम्मेवारी नभएको थापाले बताएका छन् ।

‘कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरका विषय छन्। सङ्घीय सरकारको क्षेत्राधिकार भित्र रहेको विषयमा सहरी विकास मन्त्रालयले सम्झौता गरेको छ। यो सम्झौता पुरा गर्ने जिम्मा सरकारको हो र सरकारलाई दबाब दिने जिम्मेवारी हाम्रो हो।

प्रधानमन्त्रीलाई भेटेर भनेका छौँ’ उनले भनेका छन्, ‘साथै सहरी विकास मन्त्री उपत्यका बाहिर रहनुभएकाले उहाँ आउनासाथ एक छिन नछोडी काम गर्छौँ। केही समय लाग्ला तर सङ्घीय सरकारले तपाईँहरूसँग गरेको सम्झौता पूरा गराएर छाड्नेछौँ, प्रतिबद्धता पूरा गर्नेछौँ, गराउनेछौँ।हामी यस पटक तपाईँलाई निराश बनाउने छैनौँ।’

फोहर व्यवस्थापनमा अवरोध नगर्न पार्टीले निर्देशन दिइसकेको उनको भनाई छ ।

‘नेपाली कांग्रेस पार्टीको तर्फबाट स्थानीय तहको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ। पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुल्ला आव्हान गर्न चाहन्छु-  पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस्’ थापाले भनेका छन्, ‘अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ– अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस्।’

सम्झौता कार्यान्वयनमा कहाँ कहाँ समस्या भए, कहाँ कमजोरी भए समीक्षा गर्न र सँगै मिलेर कार्यान्वयनका लागि दबाब दिन सहयोगको लागि उनले आग्रह गरेका छन् । केही दिन अघि गगनले काठमाडाैंका मेयर बालेन शाहसँग भेट गरेका थिए ।

बन्चरेडाँडामा फाेहर व्यवस्थापनमा स्थानीय दलका कार्यकर्ताले अवराेध गरेपछि काठमाडाैंकाे फाेहर उठ्न सकेकाे छैन ।