NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एमालेका पहिलेका विद्रोही यी १० भाइमध्ये ओलीले क–कसलाई टिकट देलान् ?

काठमाडौं । नेकपा एमाले मंसिर ४ मा हुने निर्वाचनको तयारीमा जुटेको छ । आगामी निर्वाचनमा सत्तागठबन्धनले सिट बाँडफाँटका लागि कार्यदलस्तरमा छलफल तीव्र बनाएपछि एमालेले पनि रणनीति बनाउन भदौको पहिलो साता तीनवटा महत्वपूर्ण बैठक बोलाएको हो । एमालेले भदौ ७ गते स्थायी समिति, ९ गते पोलिटब्यूरो, १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बैठकले गठबन्धनसँग भिड्न चुनावी रणनीति बनाउनुको साथै उम्मेदवार छनोट मापदण्ड, कार्यविधि, घोषणापत्र मस्यौदालगायत विषयमा निर्णय लिनेछ । अघिल्लोपटक माओवादीसँग चुनावी तालमेल गरी प्रतिनिधिसभा र प्रदेशसभामा एमालेले अत्याधिक सिट जितेको थियो । योपटक गठबन्धनविरुद्ध एक्लै भिड्नुपर्ने नियतिमा एमाले पुगेको छ । तर परिस्थितिको मूल्याङकन गरी आवश्यक स्थानमा भरपर्दो शक्तिसँग चुनावी तालमेल गर्ने नीतिलाई एमालेले त्यागिसकेको छैन । त्यसका लागि एमालेले राप्रपा, राप्रपा नेपाल र तराई लोकतान्त्रिक पार्टीका नेताहरूसँग छलफल गरिराखेको छ ।

वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले राप्रपा, राप्रपा नेपाल र लोसपासँग केही स्थानमा चुनावी तालमेल गरेको थियो । अघिल्लो निर्वाचनमा जस्तै ओलीको गृह जिल्ला झापामा निर्णायक शक्ति मानिएको राप्रपासँग चुनावी तालमेलका लागि ओलीले दूतमार्फत राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरिरहेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साउन २० गते बसेको गठबन्धनको बैठकले एमालेविरूद्ध प्रतिनिधिसभा र प्रदेशसभाको सबै निर्वाचन क्षेत्रमा संयुक्त उम्मेदवारी दिने निर्णय गरेको थियो । दलहरूबीच भागबण्डा मिलाउन ११ सदस्यीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलले अहिले गृहकार्य गरिरहेको छ ।

गठबन्धनको निर्णयले निकै दबाबमा रहेको एमालेलाई अघिल्लो विरासतलाई कायमै राख्न निकै चुनौती आएको एमालेकै नेताहरू स्वीकार्छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्ष ८० र समानुपातिकतर्फ ४१ सिट जितेको थियो । योपटक नेकपा हुँदै एमालेसमेत विभाजन भएकाले उसका लागि परिस्थिति निकै प्रतिकुल देखिएको छ । समग्र परिस्थितिको मूल्याङकन गरी पार्टी एकढिक्का भएर निर्वाचनको सामना गरे परिणाम सुखद आउन सक्ने नेताहरू बताउँछन् ।

गठबन्धनविरूद्ध एमाले एक्लै चुनावी मैदानमा उत्रिए एमाले प्रत्यक्षतर्फ एक दर्जन हाराहारी सिटमा खुम्चिन सक्ने स्थानीय तह निर्वाचन परिणामले देखाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले एक्लैले ३९ सिट जित्न सक्ने दाबी गरेका छन् ।

‘समग्र मूल्याङकनको आधारमा हामीले एक्लै ३९ सिट जित्छौं । समानुपातिकतर्फ ३५ देखि ४० को हाराहारीमा आउन सक्छ’, उनले भने, ‘बाँकी चुनावी तालमेलबाट जित निकाल्न सक्छौं । यी सबै हिसाबकिताब गर्दा हामी झिनो बहुमत प्राप्त गर्न सक्ने सम्भावना नजिक छौं ।’
स्थानीय तह निर्वाचनमा पहिलोपटक अन्तर्घातको सामना गरेको एमालेले आगामी निर्वाचनमा पनि पुनरावृत्ति हुनेतर्फ नेतृत्व निकै गम्भीर देखिन्छ । अध्यक्ष ओलीले लोकप्रिय मतमा एमाले अगाडि भएपनि पार्टीभित्रकै नेताबाट अन्तर्घात भएकाले महानगरपालिकासहित एमालेको गढ भत्किएको आरोप लगाउँदै आएका छन् । आगामी निर्वाचनमा विश्वासिलो र जित्न सक्ने उम्मेदवारको पहिचान गरी टिकट वितरण गर्ने तयारीमा ओली छन् ।

यसको मारमा एमालेका एकतापक्षधर मानिएका १० जना नेताहरू पर्ने देखिएका छन् । यसैले टिकट पाउनेमा उनीहरू नै विश्वस्त देखिएका छैनन् । पूर्वउपाध्यक्ष भीम रावल र पूर्वउपमहासचिव घनश्याम भुसाल ओलीविरूद्ध खरो रूपमा उत्रिंदै आएका छन् । उनीरूले १० औं माहाधिवेशनमा ओलीविरूद्ध उम्मेदवारी नै दिएका थिए । ओलीविरुद्ध बागी बनेर उत्रिएकाले यी नेताले टिकट पाउने सम्भावना धेरै कम छ ।

लामो समय माधव नेपालनिकट रहेका १० नेताहरू गत भदौमा पार्टी विभाजन भएपछि एमालेमै बसेका थिए । तर उनीहरू एमालेमा फर्किएपनि नेतृत्वलाई खुइल्याउने, शत्रु हसाउने र पार्टीलाई कमजोर बनाउने खेलमा लागेको ओलीको आरोप छ । पूर्वमाधव समूहका १० जना नेतामा योगेश भट्टराई र गोकर्ण विष्टले टिकट पाउने सम्भावना रहेको स्रोतको दाबी छ । रावल र भुसालले टिकट पाउने गरी कुनै लबिङ नगरिएको उनी निकटस्थले बताएका छन् । अपवादबाहेक पूर्वमाधवसमूहका केही नेताहरूमाथि पनि ओली अनुदार देखिएको निकटस्थहरूको बुझाइ छ ।

समग्रमा परिस्थितिको मूल्यांकन गरी जनमतलाई आकर्षित गर्न पार्टीबाहिरका चर्चित अनुहारलाई टिकट दिने सक्ने सम्भावना देखिन्छ । काठमाडौं २ बाट मदन भण्डारी–विद्या भण्डारी पुत्रीलाई टिकट दिने ओलीको तयारीले यस्तै देखाउँछ । आगामी निर्वाचनमा १० नेताहरूमाथि ओली अनुदार देखिए उनीहरूको राजनीतिक भविष्यलाई निकै चासोसाथ हेरिएको छ । यद्यपि यसबारे भदौमा बस्ने केन्द्रीय समिति बैठकले वस्तुगत मूल्यांकन गरी निष्कर्ष निकाल्ने छ ।

मंसिरको दोस्रो साता चितवनको सौराहामा भएको एमालेको १० औं महाधिवेशनमा सबैभन्दा लोकप्रिय मत रावल र भुसालबाहेका पदाधिकारीले ल्याएका थिए । ती मध्येका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगश भट्टराईले सबैभन्दा लोकप्रिय मत पाएका थिए । भीम आचार्य पदाधिकारीमा आउन असफल भए । उमेरहदका कारण अमृत बोहोराले अवकास लिएका थिए । रघुजी पन्त केन्द्रीय समितिमै सीमित रहेका थिए ।

अघिल्लो निर्वाचनमा प्रत्यक्ष निर्वाचन नलडी दाङ– ३ बाट समानुपातिक सूचीमा रहेका उपाध्यक्ष ज्ञवाली योपटक पनि चुनाव लड्ने मनस्थितिमा छैनन् । उनी बढ्दो निर्वाचन खर्चको बाबजुत गठबन्धनविरूद्ध चुनाव लडेर जित्न सक्ने अवस्था उनले देखेका छैनन् । निर्वाचनमा आफ्नो रुचि नभएको प्रतिक्रिया दिएका छन् । तर गठबन्धनविरूद्ध पार्टी एकजुट भएर सामना गरे एमालेको आधार बलियो रहेको बताउँछन् । टिकट पाउने अवस्था उनले देखेका छैनन् । चुनावमा उनको रुचि पनि देखिएको छैन ।

उपाध्यक्ष तथा वाग्मती प्रदेशका पूर्वमूख्यमन्त्री शाक्य योपटक समानुपातिकतर्फ आकर्षित देखिएकी छिन् । वाग्मती प्रदेशका मुख्यमन्त्रीको बलियो दाबेदार हुँदाहुँदै अध्यक्ष ओलीले आफूपक्षीय जुनियर सदस्य डोरमणि पौडेललाई मूख्यमन्त्री बनाएका थिए । पार्टी विभाजनमा माधवलाई साथ नदिएपछि शाक्यले मुख्यमन्त्री भएपनि विश्वासको मत पाउन सकिनन् । योपटक काठमाडौं ८ को बलियो दाबेदार भएपनि उनले टिकट पाउने सम्भावना देखिँदैन । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट एमालेबाट जीवनराम श्रेष्ठ निर्वाचित भएका थिए । अहिले उनी एकीकृत समाजवादीमा रहेका छन् । गठबन्धनबाट श्रेष्ठले टिकट पाउने सम्भावना देखिन्छ । एमालेबाट केन्द्रीय सदस्य सुजिता शाक्यको टिकट पाउने सम्भावना देखिन्छ ।

२०७४ को निर्वाचनमा ५० हजार बढी मत ल्याइ चितवन– १ निर्वाचित भएका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेपनि सोही क्षेत्रबाट उठ्ने तयारी गरेका छन् । तर उनलाई वाग्मती प्रदेश सभा सदस्य दावा दोर्जे लामाले चुनौती दिने देखिन्छ । अघिल्लोपटक पनि पाण्डेलाई सिट छोड्न मानेका थिएनन् । तल्लो समितिबाट माग भए आफू योपटक चुनाव लड्ने बताएका छन् । अहिलेसम्म धारणा नबनाइसकेको पार्टीको निर्णय आएपछि आफ्नो प्रतिक्रिया दिने बताए । प्रतिनिधिसभा निर्वाचनमा पाण्डेकै क्षेत्रबाट उठ्ने गरी तयारी गरेका छन् ।

१० औं महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी दिएका पूर्वउपाध्यक्ष रावलले टिकट पाउने सम्भावना देखिएको छैन । रावलकै अडानका कारण सर्वसम्मत महाधिवेशन गर्ने ओलीको योजना असफल भएको थियो । उनको क्षेत्र अछाम– १ बाट झपट बोहराले आकांक्षा देखाएका छन् । यस विषयमा उनले कुनै प्रतिक्रिया दिन मानेनन् । रावलकै क्षेत्रबाट चुनाव लड्न उनले आन्तरिक तयारी गरिरहेको जिल्लास्तरीय नेताको भनाइ छ ।

अघिल्लो निर्वाचनमा गोकर्ण विष्ट गुल्मी– २ बाट निर्वाचित भएका थिए । योपटक राजेन्द्र अर्यालले उनलाई चुनौती सम्भावना रहेको छ । प्रेस चौतारीका पूर्वअध्यक्षसमेत रहेका उनी २०७६ मा ओलीले उनलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष बनाएका थिए । गुल्मी २ बाट निर्वाचन लड्न अर्यालले आकांक्षा देखाएका स्रोतको दाबी छ ।

प्रदेश १ का पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्य अघिल्लो निर्वाचनमा सुनसरीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । शेरधन नेतृत्वको सरकार ढाल्न पटक–पटक प्रयास गरेकाले उनले टिकट पाउने सम्भावना देखिएको छैन । यद्यपि उनी सुनसरी– २ बाट प्रतिनिधि सभा सदस्यमा उठ्ने मनस्थिति बनाएका छन् । तर टिकट पाउनेमा विश्वस्त छैनन् । योपटक जिल्ला पार्टी अध्यक्ष रेवती भण्डारीलेसमेत आकांक्षा देखाएका छन् ।

सचिव योगेश भट्टराईले ताप्लेजुङबाट टिकट पाउने सम्भावना देखिएको छैन । ओलीले यस अघि भट्टराईलाई टिकट दिएका थिए । उनलाई जिताएमा मन्त्री बनाएर पठाउने ओलीले आश्वासन दिएका थिए । अघिल्लोपटक आकांक्षी देखिएका तीलकुमार मेयाङबोले योपटक नछोड्ने दाबी गरेका छन् । भट्टराईले जितेर गएको पाँच वर्षमा जिल्लामा सिन्को नभाँचेको उनको आरोप छ । ७० प्रतिशत जनजाति बाहुल्यता रहेको ताप्लेजुङमा मेयाङबोेले टिकट पाउने सम्भावना देखिन्छ । काठमाडौं ६ बाट दुईपटक चुनाव हारेका उनलाई झापा वा अन्यक्षेत्रमा व्यवस्थपन गर्ने ओलीको तयारी रहेको छ । तर उनले ताप्लेजुङबाट नै निर्वाचन लड्ने मनस्थिति बनाएका छन् ।

त्यस्तै ओलीको कट्टर आलोचक रहेका घनश्याम भुसालले टिकट पाउने सम्भावना देखिएका छैनन् । १० औं महाधिवेशनमा ओलीको निर्णयलाई चुनौती दिएका भुसालले स्थानीय तह निर्वाचनमा पार्टी दोस्रो स्थाना खुम्चिएपछि नैतिकताको आधारमा ओलीले राजीनामा दिनुपर्ने आशय व्यक्त गरेका थिए । उनको अभिव्यक्तिबाट आक्रोसित भएका ओलीले भुसाललाई कारबाही गर्ने चेतावनी दिएका थिए । अघिल्लो निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित भएका भुसाल अहिले टिकट पाउनेमा विश्वस्त देखिँदैनन् । भुसालको क्षेत्रबाट प्रदेश समिति सदस्य पुष्पाञ्जली उपाध्याय र जिल्ला समिति सदस्य राजेन्द्र पन्थीले आकांक्षा देखाएका छन् । एमाले–राप्रपाबीच चुनावी तालमेल भए त्यो क्षेत्र राप्रपाले पाउने सम्भावना देखिन्छ । त्यो राप्रपा नेता दिपक बोहोरा क्षेत्र रहेको छ ।

अनुशासन आयोगका पूर्वअध्यक्ष तथा जेष्ठ नागरिकमञ्चका अध्यक्ष अमृतकुमार बोहाराले चुनाव लड्ने चाहना देखाएका छैनन् । अघिल्लोपटक पनि सांसद नरहेका उनी समग्र परिस्थितिको मूल्यांकन गरी चुनाव लड्ने वा नलड्नेबारे निर्णय लिने बताएका छन् । एमालेका लागि योपटक परिस्थिति चुनौतीपूर्ण रहेकाले पार्टी एकजुट भएर जानुपर्नेमा उनको जोड रहेको छ ।

स्थायी समिति सदस्य रघुजी पन्त माओवादीसँगको गठबन्धनका कारण अघिल्लो निर्वाचनमा ललितपुर– ३ बाट चुनाव लड्न बञ्चित भएका थिए । माओवादी नेतृ पम्फा भुसालले टिकट पाएपछि उनी पछाडि हटेका थिए । योपटक पनि त्यो क्षेत्रबाट भुसाल नै उठ्ने सम्भावना देखिन्छ । अहिले भुसालविरूद्ध चुनाव लड्न नेता बाबुकृष्ण कार्कीले पनि आकांक्षा देखाएका छन् । पन्तले टिकट पाएपनि गठबन्धन र आफ्नै पार्टीभित्रबाट चुनौती सामना गर्नुपर्ने देखिन्छ । टिकट पाउनेमा भने उनी आफै विश्वस्त देखिंदैनन् ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष