NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

धरानका मेयरका सयदिने उपलब्धि : श्रम संस्कृतिको क्रान्ति, खानेपानीको मुहान थप

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराज राईले निर्वाचित भएयता गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् । मेयरमा निर्वाचित भएको सय दिनको अवसरमा मेयर राईले आफूले गरेका मुख्य कामको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

उनले आफूले सम्पादन गरेको सय दिनको मुख्य कामलाई १३ बुँदामा समेटेका छन् । आफ्नो पहिलो र उल्लेखनीय उपलब्धिका रूपमा उनले श्रम संस्कृतिको सुरुवातलाई राखेका छन् । मेयर राईले पछिल्लो समय जनश्रमदानमार्फत खानेपानी आयोजना निर्माण, वृक्षरोपणलगायत कार्य अघि बढाइरहेका छन् । यसलाई उनले नेपालमा श्रम संस्कृतिको क्रान्ति भनेका छन् ।

चार ठाउँबाट खानेपानीको मुहान थप गरेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको, ६ लाख बिरुवा रोपेको, सरसफाइमा देखिने गरी सुधार गरेको दाबी पनि मेयर राईले गरेका छन् ।

लागू औषधविरुद्धको अभियान थालेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको, हिसाबकिताब पारदर्शी ढंगले सार्वजनिक गरेको शिक्षा, स्वास्थ्य संस्थाहरूमा सुधार गरेको विषय पनि उनले आफ्नो उपलब्धिको बुँदामा समेटेका छन् ।

यस्ता छन् राईले मेयरका रूपमा एक सय दिनमा गरेका काम

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेँ !

२. ४ ठाउँबाट खानेपानीको मुहान थपेँ !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
४. ६ लाख बिरुवा रोपेँ !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेँ !
८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन !
९. लागू औषधविरुद्धको अभियान सुरु गरेँ !
१०. योजनाहरूका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्वजनिक गरेँ !
१२. पालिकाका सेवामा तीव्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरूमा सुधार ल्याएँ !