NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सातौंपटक माओवादी पार्टी विघटन गर्दै प्रचण्ड, अब के राख्दैछन् नयाँ नाम ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निरन्तरतामा क्रमभंगता गर्न माहिर खेलाडी मानिन्छन् । राजनीतिलाई सिधा रेखाबाट नहेरी बक्ररेखाबाट गतिशील बनाउनु र नयाँ–नयाँ प्रयोगको नाममा निरन्तरतालाई क्रमभंग गर्नु उनको विशेषता रहेको उनी निकट नेताहरूको दाबी छ ।

राजनीतिमा निरन्तरता र क्रमभंगताको नाममा उनले ३५ वर्ष गुजारिसकेका छन् । यो यात्रा अझै केही समय जारी रहने उनी स्वीर्काछन् । २०४५ पछि निरन्तर नेतृत्वमा रहेका प्रचण्डले यसबीचमा ६ पटक पार्टी विघटन तथा पुनर्गठन गरिसकेका छन् । अब सातौं पटक माओवादी विघटन गरी समाजवादी केन्द्र बनाउने दौडमा उनी लागेका छन् ।

मंसिर ४ मा हुने निर्वाचन अगावै एमालेबाहेकका वामपन्थीहरूबीच एउटै समाजवादी केन्द्र बनाउने गरी उनले सक्रियता देखाए । तर निर्वाचन आयोगले दल दर्ता गराउने मिति साउन मसान्त तोकेकाले उनको यात्रामा तत्कालका लागि अल्पविराम लागेको छ । यद्यपि प्रतिनिधिसभा निर्वाचनपछि एकीकृत समाजवादी, बाबुराम र वामदेव नेतृत्वको पार्टीसँग पार्टी एकता गर्ने सहमति भइसकेको छ । आगामी निर्वाचनमा भट्टराई र गौतम माओवादीकै निर्वाचन चिन्हबाट चुनाव लड्न तयार भएका छन् । माओवादीसँग एकता गर्न नेकपा एसले एकता संयोजन समिति गठन गर्ने निर्णय गरिसकेको छ ।

‘बैठकले निर्वाचनपछि माओवादीसँग एकता गर्न उच्चस्तरीय एकता संयोजक समिति बनाउने निर्णय गरेको छ’, प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘समितिमा हाम्रो पार्टीको तर्फबाट अध्यक्षसहित शीर्ष नेता रहने गरी समिति गठन हुन्छ । माओवादीतर्फबाट पनि अध्यक्षकै नेतृत्वमा शीर्ष नेताहरू रहने छन् ।’

खतिवडाका अनुसार निर्वाचन अघि एकता संयोजक समिति बनाएर जाने र निर्वाचनपछि पार्टी एकता गर्ने गरी दुवै दल सहमत भएको छ ।
नेकपा एससँग पार्टी एकता गर्नेबारे सञ्चारकर्मीलाई जानकारी दिँदै अगाडि नेकपा राखेर समाजवादी पार्टी गठन हुने बताइसकेका छन् ।
‘पार्टी एकता गर्न तत्काल सम्भव भएन । आगामी निर्वाचनपछि हामी अगाडि नेकपा रहने गरी समाजवादी वा यस्तै कुनै नाम रहनेछ’, मंगलबार पेरिसडाँडामा प्रचण्डले भने, ‘निर्वाचनपछि वामपन्थीहरूको एउटै समाजवादी केन्द्र रहनेगरी पार्टी एकता हुनेछ ।’

राजनीतिमा निकै उतारचढाब पार गरेका प्रचण्ड पुनः आफ्नै नेतृत्वमा वामपन्थी आन्दोलन पुनर्गठन गर्ने तयारी गरेका छन् । प्रचण्डको पछिल्लो सक्रियतालाई वामपन्थी नेता अनिल शर्मा विरहीले राजनीति भविष्य सकिने छटपटाहट मान्छन् । शक्तिमा टिकिराख्ने उनको अन्तिम प्रयत्न प्रचण्डले गरेको उनको भनाइ छ ।

‘उनी शक्तिविना एकछिन बस्न सक्दैनन् । चौतर्फी घेराबन्दीमा परेपछि शक्तिमा टिकिरहन प्रचण्डले अन्तिम अस्त्र फालेका हुन् । केही समय उनको प्रयास जारी रहन्छ’, विरहीले भने । पुराना सहकर्मी लोकेन्द्र विष्टले प्रचण्डको समाजवादी यात्रालाई माओवाद भारी पछिको अवस्था भन्दै व्यंग्य गरेका छन् ।

महाधिवेशनमै उठेको थियो नाम फेर्ने विषय

एमालेसँगको एकता २१ महिना नपुग्दै २०७७ फागुन २३ मा सर्वोच्च अदालतले खारेज गरेपछि प्रचण्ड साविक माओवादीकै हैसियतमा अध्यक्ष भए । अलग पार्टी पश्चात् लथालिङ्ग भएको संगठन सुदृढीकरण गर्न आठौं महाधिवेशन बोलाए । महाधिवेशन हलबाटै माओवादी नाम फेर्न चाहेका उनले परिस्थिति अनुकूल नभएपछि नाम प्रस्ताव गरेनन् । तर गैर माओवादी पृष्ठभूमिबाट आएका प्रतिनिधिहरूले प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफलमा भाग लिँदै माओवादी केन्द्रको नाम नै फेर्न सुझाव दिएका थिए ।

प्रतिनिधि रहेकी उर्मिला अर्यालले समय अनुकुल बृहत वामपन्थी समूह बनाउन साझा नाम राख्न सुझाव दिएकी थिइन् । ‘नयाँ परिवेशमा पार्टीको नाम परिवर्तन गर्नुपर्छ । अध्यक्ष प्रचण्डकै नेतृत्वमा बृहत वामपन्थी समूह बनाएर लैजानुपर्छ । साझा नाम राख्न सकियो भने अन्य कम्युनिष्ट घटकहरूलाई गोलबन्द गर्न सकिन्छ ।’, प्रचण्डलाई उनको सुझाव थियो ।

महाधिवेशन प्रतिनिधिहरूको सुझाव सुनिसकेपछि प्रचण्डले नीति, सिद्धान्त र संगठनात्मक विषयमा विशेष महाधिवेशनबाट टुंग्याउने गरी बिट मारेका थिए । समकालीन राजनीतिमा निकै चतुर र गतिशील नेता देखिएका उनीमाथि सधँै अन्तर्विरोधमा खेलेर फाइदा लिने गरेको आरोप छ ।

सातौंपटक माओवादी विघटन गर्दै प्रचण्ड

वि.सं २०११ साल मंसिर २६ मा कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्ड हाइस्कुल अध्ययनदेखि नै राजनीतिमा सक्रिय थिए । छिमेकी धनबहादुर विश्वकर्माको प्रेरणाबाट कम्युनिष्ट राजनीतिमा आकर्षित भए । विश्वकर्माकै प्रयासमा कम्युनिष्ट नेता रुपलाल विश्कर्माको सम्पर्कमा आएका थिए । ०२८ मा पुष्पलाल समूहबाट राजनीतिक जीवन प्रारम्भ गरेका उनले ०३५ मा नेकपाको सदस्यता लिएका थिए । सोही बेलादेखि नै प्रचण्डले भूमिगत राजनीति सुरु गरेका थिए ।

०३९ मा निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद भएपछि प्रचण्ड सिंहतिर लागेका थिए । मसालको महामन्त्री रहेका सिंह र मोहन वैद्यबीचमा फाटो आएपछि ०४४ मा वैद्यसँग नजिकिएका थिए । त्यतिबेला वैद्य मशालका महामन्त्री थिए । तर ०४५ मा सेक्टर काण्डमा पार्टीका सबै नेता कारबाहीमा पर्दा ०४६ कात्तिकमा मशालका महामन्त्री भएका थिए । उनी नेतृत्वमा आएपछि ०४९ नेकपा एकताकेन्द्रको महामन्त्री भए । एकताकेन्द्र विभाजन भएपछि उनले ०५१ मा नेकपा माओवादी गठन गरे ।

०५२ देखि प्रचण्डकै नेतृत्वमा सशस्त्र युद्ध सञ्चालन भएको थियो । ०६४ को संविधानसभा चुनावमा माओवादी सबैभन्दा ठूलो दल भयो । चुनावपछि एकता केन्द्रसँगको एकीकरणपछि पार्टीको नाम परिवर्तन गरी एकीकृत माओवादी राखियो ।

०७० मा भएको दोस्रो संविधानसभामा पार्टीले शर्मनाक हार व्यहो¥यो । ०७४ को संसदीय चुनावअघि चन्द्रदेव जोशीले नेतृत्व गरेको नेकपा संयुक्तसँग पार्टी एकीकरण गरेपछि पार्टीको नाम नेकपा माओवादी केन्द्र राखियो ।

०७५ जेठमा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पार्टीको नेकपा राखियो । तर, साढे तीन वर्ष नपुग्दै सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि पुनः माओवादी केन्द्र भयो । निर्वाचनपछि नेकपा एस, बाबुरामको नेसपा र वामदेवको नेकपा एकता राष्ट्रिय अभियानसँग मिलेर एउटै समाजवादी केन्द्र बनाउने गरी प्रचण्ड फेरि निरन्तरताको क्रमभंगता गर्ने दाउमा रहेका छन् ।

मंसिरपछि माओवादी र एकीकृत समाजवादीबीच एकता हुने, यस्तो छ नेकपा एसको निर्णय