NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपालको जलविद्युत, पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई ढकालको आग्रह

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत र पर्यटन पूर्वाधारको विकासमा लगानी गर्न आग्रह गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल भ्रमणमा आएका उत्कल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, उडिसाका प्रतिनिधि र नेपाली उद्योगीरव्यवसायीबीचको अन्तरक्रियालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले नेपालको जलविद्युत, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानि गर्न आह्वान गरेका हुन् ।

उनले नेपाल दुई ठूला र उदीयमान अर्थतन्त्रको बीचमा रहेको हुनाले नेपालको रणनीतिक स्थानले पर्याप्त बजार र लगानीको अवसर प्रदान गरेको बताए ।

‘हामी दुई ठूला र उदीयमान अर्थतन्त्रका बीचमा छौं । भारत, चीन, ईयू र आंशिक रूपमा अमेरिकामा पनि नेपाली सामानलाई भन्सारमा सहुलियत छ । यहाँ लगानी गर्ने अधिकांश बहुराष्ट्रिय कम्पनीहरूले राम्रो नाफा कमाएका छन्,’ उनले भने ।

उनले नेपाल भारतसँग विशेष ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताउँदै भारतीय व्यापारी समुदायलाई नेपाली व्यापारी समुदायसँग पनि व्यापार सम्बन्ध विस्तार र सुदृढ गर्न आग्रह गरे ।

‘यस भ्रमण दलका प्रतिनिधिहरुबाट नयाँ स्तरको सहकार्यको थालनी गरेर व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रयास गरौं । सबैजना सदस्यले एकएक वटा व्यवसायमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरौँ,’ उनले भने, ‘नेपाल र भारतबीच व्यापारिक सम्बन्धको प्रचुर सम्भावना छ । भ्रमण दलका प्रतिनिधि र नेपाली व्यापारी समुदायबीचको आजको अन्तरक्रियाले व्यावसायिक सहयोग मूर्त परियोजनामा परिणत हुनेमा म विश्वस्त छु ।’