NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

टिकट पाए नेकपा एसका नेता : कसले चुनाव जित्छन् ? कसले हार्छन् ?

काठमाडौं । देउवा नेतृत्वको गठबन्धन सरकारको निर्णायक दल एकीकृत समाजवादी मंसिर ४ मा हुने निर्वाचनको तयारीमा होमिएको छ ।
एमालेबाट विद्रोह गरी गठन भएको १५ महिनामा एस दोस्रो पटक चुनावमा भाग लिन लागेको हो । स्थानीय तह निर्वाचनमा गठबन्धनको असहयोगका कारण अपेक्षित परिणाम ल्याउन नसकेको आरोप लगाएको उसले गठबन्धनलाई लगाउँदै आएको छ । तर आगामी चुनावमा एमाले हराउन एसले फेरि पनि सत्ता गठबन्धनकै सहारा लिंदैछ ।

मैदानमा एसको उपस्थिति ठूलो नभएपनि एमालेका उम्मेदवार हराउन निर्णायक शक्ति मानिएको छ । योपटक एमालेका लागि माओवादीपछि थप चुनौती एस नै देखिन्छ । योपटक एमालेबाहेकका वामपन्थी दलहरू गठबन्धनबाट नै चुनावी प्रतिस्पर्धा गर्दैछन् । यसको प्रत्यक्ष फाइदा कांग्रेसले उठाउने र एमालेले क्षति व्यहोर्ने धेरैको अनुमान छ । एमालेबाट विद्रोह गरी एमालेलाई नै चुनौती दिन मैदानमा उत्रिएको एसले कति सिट ल्याउला भन्नेमा धेरै उत्सुक छन् । किनकी फुटेर नयाँ दल बन्दा चुनावमा उल्लेख्य सफलता पाएको इतिहास कम छैन ।

नेकपा एसको भदौ १ मा बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवार छनोटमा ७ वटा मापदण्ड बनाइएको उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिएका छन् । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि भदौ २० भित्र उम्मेदवार छनोट गरिसक्ने बटमलाइन तयार गरेको छ ।
उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा समन्वय समितिले १० भदौभित्र उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गर्नुपर्नेछ ।
१२ भदौमा जिल्लाले प्रदेश कमिटी र १५ भदौमा प्रदेशले केन्द्रीय समितिमा नाम सिफारिस गर्ने कार्यतालिका बनाएको छ । २० भदौमा उम्मेदवारबारे निर्णय गर्ने ज्वालाले जानकारी दिए । सिट बाँडफाँटमा पाँचदलीय गठबन्धनबीच नै अहिलेसम्म सहमति जुटेको छैन ।
तर उसले निर्वाचन जित्न सक्ने प्रभावित क्षेत्र निर्धारण गरी ३०–३५ सिट दाबी रहने बताएको छ ।

‘हामीहरूकै विद्रोहबाट गठबन्धन सरकार बन्न सफल भएको हो । अहिले हाम्रो २३ जना जनप्रतिनिधि छन् । अघिल्लोपटक एमालेले जितेको ठाउँमा स्वभाविक रूपमा हाम्रो दाबी रहन्छ’, ज्वालाले भने, ‘देशभर धेरै ठाउँमा एकीकृत समाजवादीको प्रभावित क्षेत्र छन् । वस्तुगत स्थितिको मूल्याङकन गरी न्यूनतम ३० सिटसम्म हाम्रो दाबी रहन्छ ।’

साउन २० मा बसेको सत्तागठबन्धन दलको बैठकले प्रतिनिधिसाभा र प्रदेशसभामा भागबण्डा मिलाउन ११ सदस्यीय कार्यदल गरेको थियो । कार्यदलले अघिल्लो निर्वाचन परिणाम र वैशाखमा भएको स्थानीय तहमा दलहरूले प्राप्त गरेको मतको आधारमा सिट बाँटफाँट गर्ने सहमति गरेको थियो । तर दलहरूबाट निर्वाचन क्षेत्रभन्दा झण्डै दोब्बर सिट माग दाबी भएपछि भागबण्डामा सहमति जुटाउने जिम्मा शीर्ष नेतालाई दिइएको छ ।

नेकपा एसबाट को–को उठ्दैछन् ?

ज्वालाले पदाधिकारीमा महासचिव भुसाल, सचिवद्वय गरिमा साह र जयन्ती राई राष्ट्रिय सभामा रहेकाले निर्वाचनमा भाग नलिने बताए । अघिल्लोपटक समानुपातिक सदस्य रहेका मुकुन्द न्यौपाने योपटक पनि नउठ्ने भएका छन् । त्यस्तै केदार न्यौपाने र प्रदीप नेपालले निर्वाचन नलड्ने भएका छन् ।

एउटै जिल्लामा दुई–तीन जनासम्म प्रभावशाली नेता भएकाले उनीहरूको कसरी व्यवस्थापन गर्ने भन्नेमा अलमल देखिएको छ । गठबन्धनमा भागबण्डा मिलाउँदा निर्वाचन क्षेत्र हेरेर नेताहरूको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । अहिलेसम्म एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्य उठ्नेमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष पाण्डे, धर्मनाथ साह, प्रकाश ज्वाला उठ्ने पक्का भएको छ ।
त्यस्तै उपमहासचिव ज्वाला, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, सचिव नागेन्द्र चौधरी, राजेन्द्र राई, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ निर्वाचनमा उठ्ने तयारीमा छन् ।

उपाध्यक्ष केशवलाल श्रेष्ठ उठ्ने वा नउठ्नेबारे दोधारमा रहेका छन् । उपाध्यक्ष प्रमेश हमाल, घनेन्द्र बस्नेत नउठ्ने सम्भावना रहेको छ । उपमहासचिव डा. गंगालाल तुलाधर धादिङबाट उठ्न चाहेपनि पाण्डे उठ्ने भएपछि उनी समानुपातिकतर्फ जाने सम्भावना रहेको छ । त्यस्तै सचिव नागेन्द्र चौधरी र भागवत विश्वासी उठ्ने सम्बन्धमा अहिलेसम्म धारणा बनाएका छैनन् ।

कसको स्थिति कस्तो छ ?

माधव नेपाल

अघिल्लो निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार रहेका नेपाल काठमाडौं २ बाट विजयी भएका थिए । योपटक उनी गृहजिल्ला रौतहटबाट चुनावमा भाग लिने भएका छन् । एकीकृत समाजवादीको पक्कड क्षेत्र रहेको रौतहट–१ बाट चुनावमा उठ्न लागेका हुन् । स्रोतका अनुसार गठबन्धनबाट चुनाव लड्दा काठमाडौं–२ नेपालका लागि सुरक्षित देखिएपनि विश्वस्त हुन नसकेपछि योपटक गृहजिल्ला जान लागेका हुन् ।

रौतहट–१ मा अघिल्लोपटक राष्ट्रिय जनता पार्टीका उम्मेदवार अनिल झाले जितेका थिए । झा २१ हजार ४७२ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद यादवले १५ हजार ८७४ मत पाएका थिए । झाको मतान्तर ५ हजार ५९५ रहेको छ । माओवादीका सत्यनारायण भगले १२ हजार ३३१ मत पाएका थिए ।

स्थानीय तह निर्वाचनमा रौतहट– १ बाट एसले १९६९८, कांग्रेसले १६९२८, लोसपाले १२०६२, जसपाले ८२४१, माओवादीले ८१९१ र एमालेले ७३८५ मत पाएका थिए । यो क्षेत्रमा गठबन्धनको जम्मा मत ५३ हजार ५८ रहेको छ । एमालेसँगको मतान्तर ४५ हजार ६७३ रहेको छ । नेपाल २०७० को निर्वाचनमा पनि काठमाडौं–२ र रौतहट–१ बाट निर्वाचित भएका थिए । मतपरिणाम हेर्दा नेपाल रौतहट–१ मा सुरक्षित रहेका देखिन्छन् ।

झलनाथ खनाल

२०४८ देखि लगातार इलाम क्षेत्र–१ बाट प्रतिनिधिसभामा निर्वाचित रहेका पूर्वप्रधानमन्त्री एवं नेता खनाल योपटक पनि साविक क्षेत्रबाट नै निर्वाचनमा भाग लिने भएका छन् । अघिल्लो निर्वाचनमा खनाल ३८ हजार ८०५ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६३८ मत पाएका थिए । उनको मतान्तर १७ हजार १६७ रहेको छ ।

स्थानीय तह निर्वाचनमा इलाम–१ मा एमालेको २६२३३, कांग्रेस २५७७२, एस ९४८१, जसपा १८२९, माओवादी १२३५ र राप्रपाको ११६९ मत रहेको छ । यो क्षेत्रमा गठबन्धनको जम्मा मत ३८ हजार ३१७ मत रहेको छ । एमालेसँगको मतान्तर १२ हजार ८४ रहेको छ ।

राजेन्द्र पाण्डे

वाग्मती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका उपाध्यक्ष राजेन्द्र पाण्डे अघिल्लो निर्वाचनमा धादिङ–१ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । तर योपटक धादिङ–२ बाट उठ्ने तयारी गरेका छन् । कम्यृुनिष्ट प्रभावित क्षेत्र रहेको धदिङ–१ बाट माओवादीका नेता शालिकराम जमकट्टेल उठ्ने सम्भावना देखिन्छ । २०७४ को निर्वाचनमा २ बाट एमालेका खेम लोहनी झिनो मतले विजयी भएका थिए । लोहनी ३६ हजार २५६ मत ल्याइ विजयी भएका थिए । उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका दिलमान पाख्रिनले ३५ हजार ६१६ मत पाएका थिए । लोहनीको मतान्तर ६४० रहेको छ ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले २९९६५, एमालेले २५९३८, माओवादीले १४३८०, राप्रपाले ५२८७, एसले ३४५६ र जसपाले १०६० मत पाएका थिए । गठबन्धनको जम्मा मत ४८ हजार ८६१ रहेको छ । मतान्तर २२ हजार ९२३ रहेको छ ।

धर्मनाथ साह

उपाध्यक्ष धर्मनाथ साह आगामी निर्वाचनमा सिराह–४ बाट उठ्ने तयारी गरेका छन् । अघिल्लो निर्वाचना यो क्षेत्रबाट राजपाका नेता राजकिशोर यादव विजयी भएका थिए । उनले २१ हजार १४४ मत ल्याइ ल्याइ विजयी हुँदा माओवादीका उम्मेदवार अजयशंकर नायकले १७ हजार ५७५ मत पाएका थिए । यादवको मतान्तर ३५६९ रहेको छ ।

स्थानीय तह निर्वाचनमा एमालेले १४६७१, जसपाले १३६१४, कांग्रेसले १२८०६, माओवादीले ११६८६, जनमत पार्टीले ६१४२, एसले ३६००, राप्रपाले १२४४ र लोसपाले १९७ मत पाएका थिए । गठबन्धनको जम्मा मत ४१ हजार ७०६ मत पाएको छ । मतान्तर २७ हजार ३५ रहेको छ ।
प्रकाश ज्वाला

२०७४ मा सल्यान ख बाट प्रदेशसभामा निर्वाचित भएका उपमहासचिव प्रकाश ज्वालाले एमालेसँग विद्रोह गरी माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकार जोगाएका थिए । योपटक सल्यानबाट प्रतिनिधिसभामा उठ्ने तयारी गरेका छन् । सल्यान एसका लागि तुलनात्मक रुपमा जनाधार बलियो क्षेत्र हो । नेपालका अति विश्वासिला पात्र रहेका ज्वालालाई गठबन्धन दलको पनि समर्थन रहेको छ । अघिल्लो निर्वाचनमा माओवादीका टेकबहादुर बस्नेतले टिकट पाएपछि उनी प्रदेशसभामा गएका हुन् । बस्नेतले ४० हजार ८९ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत पाएका थिए । बस्नेतको मतान्तर ११ हजार १३० रहेको छ । स्थानीय तह निर्वाचनमा सल्यानमा कांग्रेसले ३३६१६, माओवादीले २६७१३, एमालेले २६६२८, एसले ९४६७ र राप्रपाले २११७ मत पाएको थियो । गठबन्धनको जम्मा मत ६९ हजार ७९६ रहेको छ । मतान्तर ४३ हजार १६८ रहेको छ ।

डा. विजय पौडेल काठमाडौंबाट उठ्ने भनिए पनि निश्चित छैन । उनको निर्वाचन क्षेत्र काठमाडौं–१० रहेकाले त्यहाँ कांग्रेसले छोड्ने अवस्था देखिँदैन । २०७० को निर्वाचनमा माओवादीका अध्यक्ष प्रचण्डलाई कांग्रेसका राजेन्द्र केसी विजयी भएका थिए । २०७४ मा माओवादीकै हितमान शाक्यलाई हराएका थिए । अघिल्लो निर्वाचनमा केसीले २४ हजार १९० मत ल्याई विजयी भएका थिए । उनका प्रतिस्पर्धी माओवादीका हितमान शाक्य २१९०७ मत ल्याएर पराजित भएका थिए ।

जगन्नाथ खतिवडा

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उदयपुर– २ बाट निर्वाचनमा भाग लिने तयारी गरेका छन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादीको उम्मेदवार सुरेशकुमार राई २२ हजार ५५१ मत ल्याई विजयी भएका थिए । उनका प्रतिस्पर्धी नारायणकुमार कार्कीले १५ हजार ४५५ मत पाएका थिए । राईको मतान्तर ७ हजार ९६ रहेको छ ।

स्थानीय तह निर्वाचनमा एमालेको १८५७३, कांग्रेसको ११३४४, माओवादीको ८२०२, एसको ३४२७ र जसपाको १४३४ रहेको छ । गठबन्धनको जम्मा मत २४ हजार ४०७ रहेको छ । मतान्तर ५ हजार ८३४ रहेको छ ।

राजेन्द्र राई

प्रदेश–१ का मुख्यमन्त्रीसमेत रहेका सचिव राजेन्द्र राई योपटक भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने भएका छन् । अघिल्लो निर्वाचनमा भोजपुर क बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधिसभामा माओवादीका सुदन किँरातीले ३४ हजार ३९४ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार उमेशजंग रायमाझीले २१ हजार ६९६ मत पाएका थिए । मतान्तर १२६९८ रहेको छ ।

स्थानीय तह निर्वाचनमा एमालेले २७६५६, कांग्रेसले २३५९९, माओवादीले १४७६१, एसले १९४५ र जसपाले १६४५ मत पाएका थिए । गठबन्धनको जम्मा मत ४१ हजार ९५० रहेको छ । मतान्तर १४ हजार २९४ रहेको छ ।

रामकुमारी झाँक्री

अघिल्लो निर्वाचनमा समानुपातिक सदस्य रहेकी सचिव रामकुमारी झाँक्रीलाई योपटक गठबन्धनले गुल्मी –२ बाट उठाउने तयारी गरेको छ । यो क्षेत्र एमालेका सचिव गोकर्ण विष्टको क्षेत्र हो । एमाले विभाजनमा महत्वपूर्ण भूमिका खेलेकी झाँक्री शहरी विकासमन्त्रीसमेत भइन । तर पूराकार्यकाल मन्त्री हुन नपाएकोमा असन्तुष्ट देखिएकी उनले चुनावमा भाग लिनेबारे मुख खोलेकी छैनन् । गुल्लीमा विष्ट ३४ हजार ६१८ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत पाएका थिए । मतान्तर ७ हजार ५५८ रहेको छ ।

स्थानीय तह निर्वाचनमा एमालेको ३१२५३, कांग्रेसको २९८२१, माओवादीको १८४१, एसको ६५८ र राप्रपाको १०१ मत रहेको छ । गठबन्धनको जम्मा मत ३२ हजार ३२० मत रहेको छ । मतान्तर १०६७ रहेको छ । गठबन्धनका सबै दल एक ठाउँमा उभिंदा पनि यो क्षेत्रबाट झाँक्रीलाई चुनाव जित्न निकै मुस्किल देखिन्छ ।

जीवनराम श्रेष्ठ

पर्यटमन्त्रीसमेत रहेका सचिव जीवनराम श्रेष्ठ काठमाडौं– ८ बाट उठ्ने तयारीमा छन् । अघिल्लो निर्वाचनमा सोही क्षेत्रमा एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनले १३ हजार ३९७ मत ल्याइ जितेका थिए । उनको निकटतम प्रतिद्वन्द्वी १२ हजार ९५३ मत पाएका थिए । श्रेष्ठको मतान्तर ४४४ रहेको छ ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले १०८७२, एमालेले ९२५३, एसले ५१४२, राप्रपाले ३१६०, माओवादीले १८९ मत पाएको थियो । गठबन्धनको जम्मा मत १६ हजार २०३ रहेको छ । मतान्तर ६ हजार ९५० रहेको छ ।

आगामी अवस्था

गठबन्धन दलहरूबीच भागबण्डा मिलाउँदा एसका सबै पदाधिकारीले टिकट पाउनै मुस्किल देखिन्छ । २२ जना पदाधिकारीमध्ये नेपाल, खनाल, पाण्डे, साह र ज्वालाले टिकट पाउने पक्कापक्की देखिन्छ । त्यस्तै राई र श्रेष्ठले टिकट पाउने सम्भावना रहेको छ । झाँक्री र खतिवडाले टिकट पाएपनि जित्न मुस्किल देखिन्छ । स्थानीय मतको आधारमा एमालेभन्दा गठबन्धन दल बलियो देखिएकाले एसका निर्वाचन क्षेत्र सुरक्षित देखिएको छ । तर नयाँ मतदाताको मनोविज्ञान, चुनावी एजेण्डा, प्रतिस्पर्धी दलको उम्मेदवार आदिका कारण चुनावी परिणामलाई फरक पार्न सक्छ ।

एमालेको तारोमा माधव नेपाल : चुनाव जित्न काठमाडौं असुरक्षित, रौतहट सुरक्षित

एमालेका पहिलेका विद्रोही यी १० भाइमध्ये ओलीले क–कसलाई टिकट देलान् ?

काठमाडौंका १० सिटमध्ये एमालेलाई एक सिट जित्न पनि कठिन, यस्तो छ मतान्तर