NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत ६ गते

प्रचण्डले जनार्दन र वर्षमानलाई भिडाए : देव गुरुङलाई नाममात्रको महासचिव बनाए

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन सकिएको ८ महिनामा पदाधिकारीले पूर्णता पाएको छ । पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले पदाधिकारी टुंग्याएको हो ।

बैठकमा महाधिवेशनले पारित गरेको विधान विपरित अध्यक्ष प्रचण्डले १५ सदस्य पदाधिकारी बढाएर २१ सदस्य रहने प्रस्ताव गरेका थिए । जस अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव १, उपमहासचिव ७, सचिव ९ र कोषध्यक्ष १ जना रहने प्रस्ताव उनले पेश गरेका थिए ।  प्रचण्डको प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो । जसमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा रहेका छन् ।

सबैभन्दा पेचिलो रहेको महासचिवमा प्रचण्डले देव गुरुङलाई ल्याए । उनी वरियतामा ४ औं स्थानका नेता हुन् । महासचिवका आकांक्षी जनार्दन शर्मा र वर्षमान पुनलाई उनले उपमहासचिवमा थन्काए । बाँकी ५ जना उपमहासचिवमा गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, पम्फा भुसाल, शक्ति बस्नेत र मात्रिका यादव छन् ।

यसअघि वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष रहने प्रावधान खारेज गरी प्रचण्डले वरिष्ठ एकसहित दुई जना उपाध्यक्षमा सिमित गरे । विधान अनुसार २ जना उपमहासचिव रहने व्यवस्था खारेज गरी बढाएर ७ जना उपमहासचिव खडा गरे । तीन जना सचिव रहने यसअघिको प्रावधानलाई बढाएर उनले ९ जना बनाए । जसमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की सचिव छन् । एक कोषाध्यक्षमा केन्द्रीय कार्यालय सचिवसमेत रहेका श्रीराम ढकाललाई ल्याइएको छ ।

यसअघि प्रचण्डले स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिलाई पूर्णता दिएका थिए । अब माओवादी केन्द्रको केन्द्रीय समिति ३४१ सदस्य भएको छ । जसमा २१ सदस्य पदाधिकारी, ४५ सदस्य स्थयी समिति र १२५ सदस्य पोलिटब्यूरो र २६ जना वैकल्किप पोलिटब्यूरो रहेको छ ।

पुस ११–१८ काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा भएको ८ औं महाधिवेशनले २३६ जनाको अपुरो केन्द्रीय समिति चयन गरी सकिएको थियो । महाधिवेशनले पारित गरेको विधान अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ जना गरी जम्मा १५ सदस्य पदाधिकारी रहने व्यवस्था थियो । केन्द्रीय समिति २९९ सदस्य रहने व्यवस्था थियो । पदाधिकारीसहित केन्द्रीय समितिलाई पूर्णता दिन पुस १९ मा ललितपुरमा बसेको पहिलो केन्द्रीय समिति बैठकले अध्यक्षमा पुनः प्रचण्डलाई चयन गरी स्थगित भएको थियो ।

पदाधिकारी प्रचण्डको छाँयाँमात्र

कम्युृनिष्ट पार्टीभित्र एक पदीय व्यवस्थामा महासचिव सबैभन्दा शक्तिशाली पद मानिन्छ । विधान संशोधन प्रस्तावदेखि केन्द्रीय समिति भंग गरी विशेष महाधिवशेन बोलाउने अधिकार महासचविलाई हुने गर्छ । नेतृत्वको हैसियतले पार्टीको सर्वोपरी हितमा राखि दूरगामी निर्णय लिने, नियन्त्रण र सन्तुलन कायम राख्ने, कार्यकारीणी बैठक बोलाउने सबै अधिकार महासचिवमा सिमित रहेको हुन्छ ।

अध्यक्षतात्मक बहुपदीय प्रणालीमा कार्यकारी अधिकारी अध्यक्ष पछि महासचिवमा रहने व्यवस्था रहेको छ । आवश्यकता हेरी पार्टी कामलाई सहजिकरण गर्न अध्यक्षले केही संख्यामा उपमहासचिव र सचिव राख्न सक्छन् । तर यी प्रस्ताव केन्द्रीय समितिले निर्णय गरी राष्ट्रिय सम्मेलन वा महाधिवेशन हलबाट पारित गर्नुपर्ने हुन्छ । माओवादी केन्द्रको हकमा प्रचण्ड नै सर्वोपरी भएको नेता लेखनाथ न्यौपाने बताउँछन् ।

‘माओवादीभित्र जनवादी केन्द्रीयताको अभ्यास हुँदैन । अध्यक्षको खल्तिबाट जे प्रस्ताव आयो त्यही परित हुने हो’, उनले भने, ‘हाम्रो पार्टीमा विचार, सिद्धान्त, नीति र कार्यदिशाबारे बहस हुँदैन । अध्यक्षको छाँयामा पाटी रहेको छ । व्यक्तिको कब्जामा पार्टी रहेको छ ।’

पुन पक्षीय एक नेताले महासचिवमा पुन र शर्मा दुवैलाई अध्यक्षले नै ल्याउन नचाहेको गम्भीर आरोप लगाएका छन् । युद्धकालदेखि नै प्रचण्डलाई हरेक पाइलामा साथ दिएका दुई नेतालाई भिडाएर उनले आफ्नो स्वार्थ सिद्ध गरेको आरोप लगाए ।

‘महासचिव को बन्ने भन्नेमा दुवै नेताबीच कुनै विवाद थिएन, छैन । अध्यक्षले नै दुवैलाई महासचिव बनाउन नचाहेको हो । नेता तथा कार्यकर्ताबीच दुवै नेतालाई पदको भोगी रहेको देखाएर बदनाम गर्न खोजियो’, नाम उल्लेख नगर्ने शर्तमा पुन पक्षका एक नेताले भने, ताकी दुवै नेताबीच सम्बन्ध राम्रो छ । दुईमध्ये जो महासचिव भएपनि आपत्ति नभएको बताइरहेका थिए । तर अध्यक्षले एकाएक महासचिवमा देवजीको नाम प्रस्ताव गरे । यसो किन गर्नुभयो, त्यो थाहा भएन । यस्ता निर्णयले पार्टीलाई नै क्षति पुग्छ । महासचिवमा सिनियर नेता नै आएकाले हामीलाई कुनै आपत्ति छैन ।’

प्रचण्डले प्रस्ताव गरेको २१ जना पदाधिकारी नाम मात्रको पदाधिकारी भएको पदाधिकारीकै एक नेताले बाताए ।
‘अध्यक्षबाहेक अन्य सबै नाम मात्रको पदाधिकारी हो । बहुपदीय प्रणाली भनिएपनि सम्पूर्ण अधिकार अध्यक्षमा केन्द्रीत छ’, पदाधिकारीका एक नेताले भने, ‘उपाध्यक्ष, उपमहासचिव र सचिव भनिएका छन् । आफू अनुकुल अध्यक्षको खल्तिबाट सिर्जना गरिएका पद हुन् । अधिकार प्रत्यायोजन भएका पद होइनन् ।’

महासचिवमा देवको उदय

प्रचण्ड त्यस्ता चतुर खेलाडि हुन्, जसले ३४ वर्ष सम्म निरन्तर नेतृत्वमा छन् । विपक्षीबाट उनलाई अन्तरविरोधको खोलाडि भएको आरोप लाग्दै आएको छ । माओवादी एक नेताका अनुसार खासमा प्रचण्डले आठौं महाधिवेशनलाई हेटौंडा महाधिवेशन जस्तै बनाउन चाहेका थिए ।

‘महाधिवेशन हलबाट आफू अनुकुल केन्द्रीय समिति चयन गर्ने । केन्द्रीय समितिले अध्यक्ष मात्र नियुक्त गर्ने उनको चहना थियो । पदाधिकारी चयन गर्न उनले चाहेका थिएनन्’, ती नेताले भने, ‘चुनावअघि नै पदाधिकारी टुंग्याउन पार्टीभित्र तीब्र दबाब आएपछि बाध्य भएर उनले पदाधिकारीका नाम प्रस्ताव ल्याएका हुन् । देवजीलाई सेरिमुनियल महासचिव बनाएर पार्टीभित्र पुन र शर्मालाई अधिकारबिहीन बनाउने हिसाबले उनले गोटी चालेका हुन् । सबैको मुख बन्ध गर्नका लागि पदाधिकारी बढाइएको हो ।’

पार्टीभित्र वा बाहिर अन्तर विरोध गराउने र शक्तिमा टिकिराख्ने प्रचण्डको पुरानै शैली कायमै रहेको वामपन्थी नेता विश्वभक्त दुलाल आहुतीको आरोप छ । महासचिवमा देवलाई ल्याउनुको भित्री रहस्य आफूलाई सुरक्षित राख्न पुन र शर्माको बढ्दो शक्तिलाई रोक्ने उदेश्यले आएको हुन सक्ने उनको भनाइ छ ।

‘प्रचण्डले चाहेको भए पुसभित्रै पदाधिकारीसहित केन्द्रीय समितिले पूर्णता पाइसक्थ्यो । त्यतिबेला गम्भीर विरामीको उपचार गर्न चीनमा गएका पुनलाई देखाएर पदाधिकारी चयन गरेनन्’, त्यतिबेला पुन महाधिवेशनमासमेत आउन सकेका थिएनन् । उनी स्वदेश फर्किएपछि महासचिवमा शर्माको पनि दाबी रहेको भन्दै केन्द्रीय समिति बैठक पटक–पटक स्थगित गर्दै आए ।’

माओवादीमा आफ्नो निर्विकल्प कोही नभएको देखाउन, पद छोड्ना चाहेपनि बाध्यताले बस्नुपरेको भन्दै उनले बाहिर भाषणबाजी गर्दै हिँडेकाे आरोप छ । नेता तथा कार्यकतामाझ पदलोलुपताका कारण माओवादी सिद्धिने स्थितिमा पुगेको सार्वजनिक अभिव्यक्ति दिएकाे र आफूले छिट्टै पदाधिकारी टुंग्याउन चाहे पनि पदको हानथापले  अप्ठ्यारोपमा परेको गुनासो गर्ने गरेको उनीमाथि आरोप छ ।

प्रचण्डले आठौं महाधिवेशन समापन समारोहमै केही समयमा विशेष महाधिवेशन गर्न लागिएकाले तत्काल पदाधिकारी चयन नगर्ने संकेत गरेका थिए । पदाधिकारी चयन गरेपनि नाममात्रको पदाधिकारी बनाएर शक्ति आफैमा केन्द्रीकृत गर्ने रणनीति बनाएकाे पदाधिकारीमा बस्ने नेताहरूकै आरोप छ ।

पुन र शर्माबीच काल्पनिक विवाद देखाएर देवलाई प्रचण्डले नै अगाडि सारेको प्रचण्डइतरका नेताको आरोप छ । ती नेताका अनुसार केन्द्रीय समितिलाई लामो समयसम्म अध्यक्षले होल्ड गरेर अन्त्यमा तपाईंहरू नमिल्ने भए महासचिवमा देवजीलाई ल्याउछु भनेका थिए । प्रचण्डले पुन र शर्मालाई एक्लाएक्लै भेटेर महासचिवमा एकले अर्काको दाबी भएको भन्दै दुवै नेतालाई भ्रममा राखेको आरोप छ ।

प्रचण्डले नै महासचिवमा आफूलाई अघि सार्ने संकेत पाएपछि गुरुले दुई नेता नमिले आफूले महासचिव दाबी गर्ने बताउँदै आएका थिए । २०६९ बैद्यसँगै माओवादीबाट अलग भएका गुरुङ २०७४ को निर्वाचनअघि बादलसहित माओवादी फर्किएका थिए । शक्ति संघर्षका कारण प्रचण्डकै विश्वासिला पात्र रहेका पुन र शर्मा महासचिवको रेसबाट बाहिरिए । पार्टी एकतामा आएका विद्रोही शक्तिका नेता गुरुङ महासचिव बन्न सफल भए ।

को हुन् नवनियुक्त महासचिव गुरुङ ?

२०५२ साल फागुन १ मा माओवादी युद्ध सुरू गर्दाका नेतामध्ये गुरुङ पनि एक हुन् । मनाङमा जन्मिएका गुरुङ माओवादीभित्र खरो मिजासिला नेतामा गनिन्छन् । उनी घरका कान्छा छोरा भएकाले माओवादीभित्र उनलाई कान्छा बहादुर भनेर बोलाउने गर्थे । उनको बाल्यकाल मनाङमै घाँस–दाउरा र गोठालो बनेर विताएका थिए । उनले पोखराको राष्ट्रिय माविबाट २०३५ सालमा एसएलसी पास गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा डिप्लोमा गरेका छन् ।

२०३६ सालबाट वामपन्थी आन्दोलनमा सक्रिय रहेका गुरुङ २०३७ मा कम्युनिष्ट पार्टीको सदस्य लिएका थिए । नेकपाको चौंथो महाधिवशेनमा मोहनविक्रम सिंह र निर्मल लामाबीच विवाद भएपछि उनले वैद्यसँग मिलेर नेकपा मशाल गठन गरेका थिए । उनी माओवादी युद्धका बेला गण्डक क्षेत्रमा खटिएकाबेला ०५३ मा तत्कालीन राज्यपक्षले पक्राउ गरेको थियो ।

सरकार र माओवादीबीच युद्ध विराम हुँदा दुवै वार्तामा माओवादीको तर्फबाट वार्ता टोलीको सदस्य थिए । २०६४ को संविधानसभा निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए । २०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा कानुनमन्त्री थिए । २०६९ असारमा पार्टी विभाजन हुँदा उनी वैद्यमाओवादीमा गएका थिए । उनले २०७० निर्वाचन बहिस्कार गरेका थिए । २०७४ को निर्वाचनअघि बादलसहित पुनः माओवादी फर्किएका गुरुङ २०७४ को निर्वाचनमा लमजुङ– १ बाट प्रतिनिधिसभबाट निर्वाचित भएका थिए ।