NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मनमोहनसँग अक्सिजेनेटर सापटी लिएर मुटुको अपरेसन गर्दै गंगालाल

काठमाडौं । मुटुको शल्यक्रिया गर्न ‘अक्सिजेनेटर’ अत्यावश्यक मेसिन हो । मुटुको अपरेसन गर्दा फोक्सोको काम गर्ने उपकरण हो ‘अक्सिजेनेटर’ । यसैको अभावमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र मुटुको शल्यक्रिया नै रोकियो पनि । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले तत्काल अक्सिजेनेटर उपलब्ध गराउन सरकारलाई निर्देशनसमेत दिएको थियो । तर अस्पतालमा अझै पनि अक्सिजेनेटर आपूर्ति भएको छैन ।

पछिल्लो समय भने गंगालालले पैंचो लिएर काम चलाउँदै आएको छ । अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरबाट सापटी लिएर काम चलाइएको अस्पतालले जनाएको छ ।

गंगालालले चैत २८ गते ठेकेदार कम्पनी हस्पिटेक इन्टरप्राइजेजमार्फत इटालीको सोरिन कम्पनीबाट १ हजार ५ सय ४६ वटा अक्सिजेनेटर ल्याउने सहमति गरेको थियो । बीचमा गंगालाल र ठेकेदार कम्पनीले विश्वव्यापी रूपमा अभाव भएको भन्दै ल्याउन नसकेको बताएका थिए ।

तर गंगालालले भन्दा पछि टेन्डर प्रक्रिया अगाडि बढाएको मनमोहनले भने जापानको टिरुमो कम्पनीबाट दुई साताअघि नै मेसिन ल्याइसकेको छ । मेडिसिटीजस्ता निजी अस्पतालले पनि धमाधम अपरेसन थालिसकेको छ । तर, गंगालालले भने सम्झौताको चार महिनाभन्दा बढी बितिसक्दा पनि अझै ल्याउन सकेको छैन । गंगालालमा दैनिक ७÷८ वटा अपरेसन हुन्छ ।

गंगालालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले शल्यक्रिया नरोकिएको बताए । ‘अब निरन्तर शल्यक्रिया चल्छ,’ उनले भने । अक्सिजेनेटर समयमा आइनपुगेको बारेमा भने उनले प्रतिक्रिया दिन चाहेनन् । हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितले भने मेसिन ल्याउन इन्टरप्राइजेजको भूमिका नहुने दाबी गरे ।

गंगालालमा रोकियो मुटु शल्यक्रिया

सामान्यतया एलसी खोलेको तीन महिनाभित्र सामान ल्याइसक्नुपर्छ । एलसी जेठ ४ मा नै खोलिएको थियो । एलसी खोलेको पनि शनिबारबाट तीन महिना पुगेको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले अबको एक÷दुई साताभित्र अक्सिजेनेटर आइपुग्ने दाबी गरे । ‘कोलकातामा सामान आइपुगिसकेको छ,’ उनले भने, ‘पानीजहाजबाट ल्याउनुपर्दा ढिलाइ भएको हो ।’

अक्सिजेनेटर मेसिन अभावका कारण साउन ३ मा घर फिर्ता पठाइएका ललितपुरको गोदावरी नगरपालिका–१२ का श्यामबहादुर महर्जनको अझै अपरेसन भएको छैन । घरमा हृदयघात भएपछि महर्जन असारको अन्तिम साता अस्पताल भर्ना भएका थिए । (यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।)