NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

आजको मौसम : भू–क्षय, पहिरो र गेग्रान बहावको जोखिम

काठमाडौं । आज देशमा केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको दाबी छ ।

यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

‘देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । साथै, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले आज जारी गरेको सूचनामा भनिएको छ ।