NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सत्ता गठबन्धनमा प्रचण्ड र माधवको नयाँ प्रस्ताव, कांग्रेस, माओवादीसहितका दललाई कति सिट ?

काठमाडौं । कांग्रेससँग सत्तागठबन्धन गरेको वाम–लोकतान्त्रिक उपगठबन्धनले एमाले र कांग्रेसलाई साइजमा राख्न रणनीतिक राजनीतिक गोटी चालिरहेका छन् । यसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

२०७४ को निर्वाचनमा कांग्रेस निक्कै कमजोर बनेको थियो । तर नेकपाको लफडापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्ड–माधवले जोडबल गरे । तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारबाट बालकोट पठाउने प्रमुख योजनाकार प्रचण्ड नै थिए । विभीषण बनेर उनलाई बलियो साथ दिएका थिए नेपालले ।

अघिल्लो निर्वाचनपछि पार्टी र सरकारमा निकै शक्तिशाली रहेका ओलीको बढ्दो प्रभाव रोक्न तत्कालीन नेकपा र एमालेभित्र माधव–झलनाथ कार्ड प्रयोग गरी एमाले विभाजन गर्न प्रचण्ड सफल भएका थिए । संसदभित्र अंकगणितमा निकै कमजोर रहेका देउवालाई प्रधानमन्त्री बनाएर सत्ताको साँचो आफ्नो हातमा लिन उनी सफल भए ।

वैशाखमा भएको स्थानीय तह निर्वाचपछि १६५ वटै निर्वाचन क्षेत्रबाट प्राप्त रिपोर्टका आधारमा आगामी निर्वाचनमा कांग्रेस ठूलो दल बन्ने प्रचण्डले अनुमान गरेका छन् ।

गठबन्धनबीच बलियो चुनावी तालमेल हुन सकेको खण्डमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमाले सानो आकारमा खुम्चिने उनले अनुमान गरेका छन् । यस्तो अवस्थामा निर्वाचनपछि सत्ता सञ्चालनमा कांग्रेसलाई हाबी हुन नदिन नियन्त्रण र सन्तुलनको नीति प्रचण्डले लिएका छन् ।

गठबन्धनभित्र कांग्रेसलाई विश्वासमा लिने, गठबन्धनभित्रै वाम–समाजवादी दलहरूको उपगठबन्धन बनाएर सिट बाँडफाँटमा बार्गेनिङ गर्ने गरी प्रचण्डले तयारी तीव्र बनाएका छन् । बाबुराम र वामदेवले माओवादीकै निर्वाचन चुनाव चिन्हबाट उठ्ने सहमति गरेका छन् । एससँग पार्टी एकता गर्नेगरी एकता संयोजक समिति बनाउने कसरत गरिरहेका छन् । माओवादीसँग निर्वाचनपछि पार्टी एकता गर्ने यसअघि नै एसले निर्णय गरिसकेको छ ।

सोमबार ललितपुरस्थित प्रचण्डको नातेदारको घरमा भएको प्रचण्ड र माधवबीचको भेटवार्तामा एउटै घोषणापत्र बनाउने, सिट बाँडफाँट र एकताका लागि उच्चस्तरीय कार्यदल बनाउने सहमति भएको छ ।

‘दुई पार्टीबीच एकता संयोजन समिति बनाएर जाने, एउटै घोषणापत्रमा निर्वाचनमा भाग लिने, उम्मेदवार छनोट संयुक्त कार्यदलले गर्न विषयमा सहमति भएको छ’, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘गठबन्धन दलहरूबीच भागबण्डा मिलेपछि दुवै दलको एकता संयोजक समितिमार्फत यी सबै विषयमा सहमति जुटाउँछौं ।’

यीबाहेक जसपा र राजमोसँग चुनावी तालमेल गर्नेगरी गृहकार्य भइरहेको माओवादीका उपमहासचिव हरिबोल गजुरेलको भनाइ छ । उनका अनुसार विचार मिल्ने सबैसँग हाम्रो सहकार्य हुन्छ । यी सबै परिदृश्यले सत्तागठबन्धन भनिएपनि कांग्रेस एकातिर र वाम–समाजवादी गठबन्धन एकातिर रहेका छन् । वाम–समाजवादीका कारण सिट बाँडफाँटमा कांग्रेस निकै दबाबमा देखिन्छ ।

प्रचण्डको गतिविधिले झस्किएको कांग्रेसले लोसपा र राप्रपालाई निर्वाचनअघि गठबन्धनमा ल्याउने तयारी गरेका छन् । लोसपालाई त प्रधानमन्त्री देउवाले सरकारमै सामेल गर्न चाहेका थिए । तर उपेन्द्र यादवको असहयोगका कारण लोसपालाई सरकारमा ल्याउने देउवाको चाहना पूरा भएको छैन ।

स्थानीय तह निर्वाचनमा केही स्थानमा एमालेसँग तालमेल गरेका यी दुई पार्टी अहिले पर्ख र हेरको रणनीतिमा छन् । यद्यपि गठबन्धन बाहिरका दलहरूसँग गठबन्धन गर्ने वा एक्लै निर्वाचनमा जानेबारे एमालेले निर्णय गरिसकेको छैन । एमालेले निर्वाचनसम्बन्धी रणनीति तय गर्न स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समिति बैठक बोलाएको छ ।

कांग्रेसइतर वामसमाजवादी पार्टीभित्र कसलाई कति सिट ?

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचका लागि गठबन्धन दलहरूबीच कार्यदल स्तरमा सिट बाँडफाँटबारे छलफल भइरहेको छ । अघिल्लो निर्वाचनमा दलहरूले जितेको स्थान छोड्न करिब सहमत भएपनि एमालेले जितेको क्षेत्रमा कसरी भागबण्डा मिलाउने भन्नेमा सहमति जुटेको छैन ।

यसको अतिरिक्त स्थानीय तहमा दलहरूले प्राप्त गरेको मतपरिणामलाई पनि आधार बनाउने गरी छलफल अगाडि बढेको कार्यदलका सदस्य देव गुरुङले बताएका छन् । सिट बाँडफाँटमा दलहरू सहमति नजिक पुगेपनि निष्कर्षमा पुगिनसकेको उनले बताए । भागबण्डामा गठबन्धनबीच सहमति नभएपनि कांग्रेसइतर उपगठबन्धनका दलहरूले आफ्ना सिट संख्या दाबी गरेका छन् । माओवादी, एस, नेसपा र नेकपा एकता राष्ट्रिय अभियानबीचमा भागबण्डामा मोटामोटी सहमति भइसकेको छ ।

माओवादीका उपमहासचिव गजुरेलका अनुुुसार सिट बाँडफाँटमा माओवादीले ५५ सिट दाबी गर्ने बताइसकेका छन् । अघिल्लो निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादीको भागमा ६० सिट परेको थियो । ६३/३६ प्रतिशतको सिट भाग लगाएर एमाले र माओवादीले कांग्रेसँग चुनावी प्रतिस्पर्धा गरेका थिए ।

६० क्षेत्रमा उम्मेदवारी दिएको माओवादी ३७ क्षेत्रमा विजयी भएको थियो । त्यस्तै १०३ क्षेत्रमा उम्मेदवारी दिएको एमालेले २३ सिट गुमाउँदै ८० सिट जितेको थियो । समानुपातिकसहित एमालेबाट २३ जना सांसदले विद्रोह गरी एकीकृत समाजवादी रोजेका छन् । २३ मध्ये १२ जनामात्र प्रत्यक्ष निर्वाचित रहेका छन् । आगामी निर्वाचनमा एसले न्यूनतम ३० सिट दाबी गरेको छ ।

‘हामी एमालेबाट विद्रोह गरी आएका विद्रोही शक्ति हौं । हाम्रै विद्रोहका कारण वर्तमान सरकार बन्न सफल भएको हो’, एसका उपमहासचिव प्रकाश ज्वालाले भने, ‘आगामी निर्वाचनमा न्यूनतम ३० सिटमा हाम्रो दाबी रहन्छ ।’

जसपाबाट विद्रोह गरी बनेको नेसपाले प्रतिनिधिसभामा २ सिट दाबी गरेको छ । २०७४ मा नयाँ शक्तिबाट निर्वाचनमा भाग लिए पनि बाबुराममात्र विजयी भएका थिए । जसपासँग विद्रोह गर्दा महेन्द्रराय यादव बोनसका रुपमा थपिएका छन् । अघिल्लोपटक १२३ क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

अघिल्लो निर्वाचनमा संघीय समाजवादीबाट चुनावमा भाग लिएको जसपाले योपटक ३० सिट दाबी गरेको छ । २०७४ उसले १०७ क्षेत्रमा उम्मेदवारी दिँदा जम्मा १० सिट जितेको थियो ।

अघिल्लो निर्वाचनमा वामगठबन्धनबाट एक सिट जितेको राष्ट्रिय जनमोर्चाले योपटक ५ सिट दाबी गरेको छ । २०७४ मा राजमोले ८९ क्षेत्रमध्ये दुर्गा पौडेलमात्र निर्वाचित भएकी थिइन् ।

सत्ता नेतृत्व दल कांग्रेसले अघिल्लोपटक १५४ स्थानमा आफ्नो उम्मेदवारी दिएको थियो । योपटक १०० सिट लिने तयारी गरेको छ । तर भागबण्डामा सबैलाई मिलाएर लैजानुपर्ने जिम्मा कांग्रेसकै भएकाले ९० बाट ८५ सिटसम्ममा झर्न सक्ने अनुमान गरिएको छ ।

गठबन्धन र एमाले कुनैपनि गठबन्धनमा नरहेका लोसपाले ६६ मध्ये ११ सिट जितेको थियो । राप्रपा ६ मध्ये १ सिटमा निर्वाचित भएको थियो ।
स्रोतका अनुुुसार आगामी निर्वाचनमा वाम–समाजवादीको तर्फबाट ८० सिट दाबी गरिएको छ । कांग्रेससँग ८५/८० को भागबण्डा मिलाउन सकिए निर्वाचनपछि पनि राज्यसत्ताको चाबी आफ्नै हातमा आउन सक्ने प्रचण्डको अनुमान गरेको देखिन्छ । ४२ सिट आफूलाई राखेर बाँकी कांग्रेसबाहेका चार दललाई दिन प्रचण्ड लगभग तयार देखिएका छन् ।

नेसपालाई २ र राजमोलाई १ सिट छाड्न उनी राजी देखिएका छन् । यसअघि एमालेले जितेका क्षेत्रमा दाबी गरेको एस सहमतिमा २५ सम्म झर्न तयार देखिएको छ । ३० सिट दाबी गरेको जसपाले बढीमा १५ सिट पाउने देखिएको छ । यद्यपि लोसपा पनि गठबन्धनमा आए सिट संख्या केही तलमाथि हुने गठबन्धनका एक नेताले बताएका छन् । गठबन्धनकै सहयोगमा दास्रो ठूलो दल बन्ने गरी राजनीति गोटी चालेका प्रचण्डले निर्वाचनपछि माओवादीले नेतृत्व गर्ने दाबी गर्दै आएका छन् ।