NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कठोर निर्णयबारे

 केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा ‘कठोर निर्णयको मोडमा’ लेखेपछि थुप्रै साथीहरूको प्रतिक्रिया आएको छ । त्यो ‘कठोर निर्णय’ के हो भन्नेबारे आज उल्लेख गर्दैछु ।

यो निर्णय हार्डवेयरमा होइन, सफ्टवेयरमा हो । कतिपयले पार्टी छोड्न लागेको हो कि भनेर आशंका गरेको पनि देखियो । पार्टीमा लाग्नु कुनै डकैती नभएकाले रातारात अनायासै पार्टी छोड्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा भयो । कुनै व्यक्ति पार्टीमा सहभागि हुने भनेको पार्टीको दर्शन, विचार, सिद्धान्त, राजनीति, संगठन, कार्यशैलीको कारण हो । आधारभूत रूपमा सहमत भएर नै पार्टीमा रहन्छ र रहनुपर्दछ ।

मेरो सवाल फरक हो । कोरोनाकाल यता म अलि बृहत् ढंगले सोचिरहेको छु । यो पृथ्वीमा रहेका सर्वोत्तम मस्तिष्कले कसरी सोचिरहेका छन्, म ती सामग्रीहरू खोजिरहेको छु । दर्शन, विज्ञान, अर्थशास्त्र, इतिहास, राजनीति आदि । मानव जातिको इतिहासमा ज्ञान यति बृहत् र साझा यसअघि कहिल्यै गरिएको थिएन । मानव एक जिज्ञासु जाति हो । यसले उन्नत प्रश्नहरू गर्दछ र उत्तरहरू समेत खोज्दछ । हामी कम्युनिस्टहरू साँचो अर्थमा कम्युनिस्ट भइरहने हो भने वा योग्य मान्छे हुने हो भने कुनै अहंकार र जडता नपालीकन मानव जातिले आर्जन गरेका सर्वोच्च ज्ञानले लैस हुनै पर्दछ । मेरो कठोर निर्णय यही हो : ज्ञानको भोक र अनन्त खोज ।

हाम्रो घरलाई ‘स्यालपानी’को भन्छन् । गाँउ जगतिपुर हो । त्यो ११ नम्बर वडामा पर्छ । जिल्ला जाजरकोट, भेरी नगर पालिका । कर्णाली प्रदेश । नेपाल देश । भारतीय उपहाद्वीप अर्थात् दक्षिण एसिया । महादेश एसिया । गोलाद्र्ध दक्षिण । ग्रह पृथ्वी । मध्यमस्तरको ताराको सौर्य प्रणाली । तारापुञ्ज आकाशगंगा । अवलोकन योग्य ब्रह्माण्ड र अनुमान योग्य बहुब्रह्माण्डहरू । यसरी विस्तार हुन्छ हाम्रो कहानी र हाम्रो परिचय, सानोबाट ठूलो तिर ।

कोरोनाकाल यता म अलि बृहत् ढंगले सोचिरहेको छु । यो पृथ्वीमा रहेका सर्वोत्तम मस्तिष्कले कसरी सोचिरहेका छन्, म ती सामग्रीहरू खोजिरहेको छु ।

सत्यको खोज सुरुमा बेवास्ता गरिन्छ । बीचमा संशयकोे दृष्टिले हेरिन्छ र अन्ततः स्वीकार गरिन्छ ।

सत्यको खोजका लागि आफैंभित्र लड्न सक्नु पर्दछ, आत्मकेन्द्रित व्यक्तिवादविरुद्ध । मेरो कठोर निर्णय आफैं विरुद्धको निर्णय हो । म यहाँ मुख्य शीर्षकहरूमा छलफल गर्नेछु, जुन आजको मानव जातिले मुख्य सवालको रूपमा बहस गरिरहेको छ ।

१. ब्रह्माण्डबारे

हजारौं वर्षदेखि ब्रह्माण्डको उत्पतिबारेमा मानव जातिले बहस गर्दै आइरहेको छ । हामीले ब्रह्माण्ड अर्थात् प्रकृतिको नियमहरू किन जान्नु पर्दछ ? किनभने, आफ्नो हितमा प्रयोग गर्न । जति गहिराइमा गएर हामीले प्रकृतिका नियमहरू जान्दछौंँ, त्यति नै तिनलाई प्रयोग गर्न सक्षम हुन्छौं । हाम्रो अवलोकनयोग्य ब्रह्माण्डको बारेमा तीनथरी मतहरू छन्–सृष्टिकालीन, सदाकालीन र महाविस्फोटवाला । सृष्टिकालीन मतअनुसार ब्रह्माण्डको सृष्टि भगवानले गरेका हुन् । तर यस मतले भगवानले कहिले सृष्टि गर्नुभयो ? किन सृष्टि गर्नुभयो ? सृष्टि गर्नुअघि भगवानको पेसा के थियो ? भगवानका आमा बुवा थिए वा थिएनन् ? कही भन्दैन । थिएनन् भने भगवानको सृष्टि कसले गर्यो ? उहाँले किन यसको नष्ट गर्नुहुन्छ, त्यो पनि भन्दैन ।

सदाकालीन मतअनुसार, यो ब्रह्माण्डको कसैले सृष्टि गरेका होइनन् । न त यसको कसैले अन्त नै गर्नेछ । बरु सदाकालदेखि यो ब्रह्माण्ड यस्तै थियो र यस्तै रहनेछ । भौतिकवादकोे एउटा शाखाले यसै मतसँग आफ्नो साइनो गाँसेको छ ।

सत्यको खोजका लागि आफैंभित्र लड्न सक्नु पर्दछ, आत्मकेन्द्रित व्यक्तिवादविरुद्ध । मेरो कठोर निर्णय आफैं विरुद्धको निर्णय हो ।

महाविस्फोटवाला दृष्टिकोण अनुसार लगभग तेह्र अर्ब ८० करोड वर्षअघि अत्यन्तै संघनीत सुक्ष्मतम् वस्तुबाट यो ब्रह्माण्डको सृष्टि भएको हो । त्यससँगै पदार्थ, ऊर्जा, समय र स्थानको उत्पति भएको हो । अर्को शब्दमा, ब्रह्माण्ड बन्नको लागि तीनवटा वस्तु चाहिन्छ– पदार्थ, ऊर्जा र स्थान । विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पदार्थ ऊर्जामा र ऊर्जा पदार्थमा रूपान्तरण हुन्छ भन्ने पुष्टि गरे । अब हामी भन्न सक्छौं कि ब्रह्माण्ड बन्नको लागि ऊर्जा र स्थान चाहिन्छ ।

महाविस्फोट भएको समयलाई जिरो सेकेन्ड मान्ने हो भने त्यसको एकको पछाडि माइनस छत्तीस शून्य सेकेण्डमा ब्रह्माण्डको तापक्रम सात खर्ब डिग्री सेन्टिगे्रड थियो । महाविस्फोट भएको एक सेकेण्डपछि तापक्रम दस अर्ब डिग्रीमा झर्यो भने सय सेकेण्डपछि एक अर्ब डिग्रीमा झर्यो । त्यतिबेला ब्रह्माण्डको विस्तारको गति प्रकाशको भन्दा पनि तीव्र थियो । त्यसयता ब्रह्माण्ड निरन्तर विस्तार हुँदै गइरहेको छ र निरन्तर चिसो हुँदै गइरहेको छ ।

आजकाल महाविस्फोटको सिद्धान्त वैज्ञानिकहरूका बीचमा सर्वस्वीकृत सिद्धान्त बन्न गएको छ ।

२. जीवको उत्पति

प्रकृतिका सबैभन्दा ठूला रहस्यमध्ये एक हो, जीवको उत्पति । अहिलेसम्म हाम्रो ग्रह पृथ्वीमा बाहेक अन्यत्र जीवको अस्तित्व रहेको पत्ता लागेको छैन । हाम्रो सूर्य मध्यमस्तरको तारा हो । यसका वरिपरि आठवटा ग्रहहरू छन् । यो सूर्य आकाशगंगा तारापुञ्जभित्र पर्दछ । आकाशगंगाभित्र १०० अर्ब ताराहरू रहेका छन् भनिन्छ । त्यस्ता तारापुञ्जहरूको संख्या पनि एक सय अर्ब छन् । अब ताराहरू र ग्रहहरूको औसतमा हेर्दा यो ब्रह्माण्डमा रहेका ग्रहहरूको संख्या दुई अर्ब अनुमान गरिन्छ । हाम्रो पृथ्वी र सौर्यमण्डल साढे चार अर्ब वर्ष पहिले बने । जबकि, प्रथम ताराहरू १२ अर्ब ८८ करोड वर्षअघि नै बनिसकेका थिए । हुन सक्छ, केही ताराहरू लोप भएपछि यी नयाँ ताराहरू बनेका होलान् ।

कुनै ग्रहमा हामीभन्दा लाखौं वा करोडौं वा अर्बौं वर्षअघि विकसित जीवहरू वा सभ्यता हुन सक्दछ । तिनीहरू कस्ता होलान् ? दुई खुट्टाले, तीन खुट्टाले, चार खुट्टाले वा अझ धेरै खुट्टाले हिड्छन् होला ? तिनीहरू चराजस्तै आकाशमा उड्छन होला या माछाजस्तै पौडिन्छन् होला ? तिनीहरू कस्तो भाषा बोल्छन् होला ? तिनीहरूसँग सभ्यता कस्तो होला ? कस्ता खाले प्रविधिहरू प्रयोग गर्छन् होला ? खानेकुरा के–के खान्छन् होला ? ऊर्जाको रूपमा के–के प्रयोग गर्छन् होला ? हामीजस्तै १५ करोड किलोमिटर टाढाबाट आएको प्र्रकाशलाई ऊर्जामा रूपान्तरण गर्छन् होला वा सिंगो आकाशगंगाको प्रकाशलाई ऊर्जाको रूपमा प्रयोग गर्छन् होला ? के तिनीहरूसँग कुनै दिन हाम्रो भेट होला ? हामीले एकआपसमा कुन भाषामा कुरा गर्ने होला ? दोभासे को होला ? कूटनीतिक मर्यादा कसरी कायम गर्ने होला ? हाम्रो राष्ट्रपति र उसको प्रोटोकल के हुने होला ? कतै ती एलियनहरू हामीभन्दा अति नै विकसित अवस्थामा रहेका र कुरा नमिल्दा हामीहरू पृथ्वी निवासी सबैलाई क्षणभरमै सखाप पार्ने त होइनन् ? आदि । त्यसैले विख्यात वैज्ञानिक स्टेफन हकिंगले सजिलै एलियनहरूसँग सम्पर्क नगर्न भनेका छन् । मानव जातिले समयक्रममा यी प्रश्नहरूको जवाफ फेला पार्नेछ ।

यस ग्रहमा हामी जीवहरू रहनु अनन्त संयोगहरूको श्रृंखला हो । यदि हाम्रो सूर्य अहिले भएको भन्दा बीस प्रतिशत ठूलो वा सानो भएको भए हामी यहाँ हुने थिएनौं या हामी धेरै चिसोले कठांग्रिन्थ्यौं वा धेरै तातोले पग्लिन्थ्यौं ।

कुनै ग्रहमा हामीभन्दा लाखौं वा करोडौं वा अर्बौं वर्षअघि विकसित जीवहरू वा सभ्यता हुन सक्दछ । तिनीहरू कस्ता होलान् ? दुई खुट्टाले, तीन खुट्टाले, चार खुट्टाले वा अझ धेरै खुट्टाले हिड्छन् होला ?

भनिन्छ, अहिले हामी छैठौं महाविनाशको नजिक छौं । यसअघि पाँचवटा महाविनाश भइसकेका छन् । अन्तिम महाविनाश करीब छ करोड वर्षअघि एउटा उल्कापिण्ड पृथ्वीमा ठोक्किँदा भएको थियो । जसको कारण पृथ्वीमा भुईँचालो आयो, आगलागी भयो , ज्वालामुखी विस्फोट भयो, वर्षाैंसम्म आकाश कुहिरोले ढाकिँदा बरफ जम्यो र लगभग नब्बे प्रतिशत जीव जन्तुहरू सखाफ भए । जसमा डायनोसर पनि पर्दछ ।

हामीलाई १५५ वर्षअघि नै चाल्र्स डार्बिनले भनिसकेका छन् कि जीव र वनस्पतिको कोही सृष्टिकर्ता छैन । प्राकृतिकतवरले यसको विकास भएको हो । साढे चार अर्ब वर्षको रहस्यको जवाफ उनले हामीलाई दिएका छन् ।

३. मान्छे कसरी बन्यो त ?

पृथ्वी बनेको एक अर्ब वर्षसम्म यहाँ कुनै जीवहरू थिएनन् । त्यसपछि एककोषीय जीवहरू बने । निर्जीव वस्तुबाट एककोषीय जीव । दुई अर्ब वर्षसम्म मात्रै एककोषीय जीवहरू । करीब ६० करोड वर्षअघि बहुकोषीय जीव । पचास करोड वर्षअघि सरिसृपहरू । बीस करोड वर्षअघि स्तनधारीहरू । करीब ६० लाख वर्षअघि पशु जगत्बाट मान्छे अलग हुने प्रक्रिया सुरु ।

यस पृथ्वीमा अहिलेको मान्छे होमो सेपियन्सजस्तै अन्य प्रजातिका मान्छेहरू पनि थिए, जो विभिन्न कालखण्डमा लोप भए । होमो नियण्डरथल, होमो डेनिसोभन, होमो इरेक्टस आदि । पुरातत्व वैज्ञानिकहरूले रेडियो कार्बन डेटिंगमार्फत् भन्न सक्छन् कि लुप्त प्रजातिका भेटिएका हड्डीहरू कति पुराना हुन् । लगभग ३३ लाख वर्षअघिदेखि मान्छे ढुंगे युगमा प्रवेश गरेको मानिन्छ ।

मान्छे कसरी मान्छे बन्यो ? यसको जवाफ हामीले सही ढंगले दिन सक्यौं भने मात्रै मान्छेसँग हामीले सही व्यवहार गर्नेछौं । चार खुट्टाले हिँड्नुको सट्टा दुई खुट्टाले हिँड्न सुरु गर्यो । जसले मस्तिष्कको विकासमा सहयोग पुर्यायो । औजारको प्रयोग मान्छेको कमालको विशेषता हो ।

कार्ल मार्क्सले त मान्छेलाई औजार बनाउने पशु भनेका छन् । भाषाको विकास जसले विशाल मात्रामा सहकार्यलाई सम्भव बनायो र अन्तमा सामुहिकता जसले यसलाई शक्तिशाली बनायो । अब मान्छे यो पृथ्वी बनेयताका पचास अर्ब प्रजातिका जीव जन्तुहरूमध्ये सबैभन्दा शक्तिशाली र सबैभन्दा बौद्धिक प्राणी हुन गयो ।

अब मान्छेलाई आफ्नोबारेमा मात्रै थाहा छैन कि यो पृथ्वीको बनौट, तौल आयुदेखि ब्रह्माण्डको उत्पति, बनौट, आयुको बारेमा भन्नसक्ने भएको छ । अब हामी सजिलै भन्नसक्छौं कि विस्तारमान् ब्रह्माण्डको अहिलेको परिधि ९२ अर्ब प्रकाश वर्ष छ । प्रकाशले एक वर्षमा पार गरेको दूरीलाई एक प्रकाश वर्ष भनिन्छ । अन्तरिक्षमा दूरीलाई प्रकाश वर्षमा नापिन्छ । पृथ्वीको एक वर्षमा तीन करोड पन्ध्र लाख छत्तीस हजार सेकेण्ड हुन्छ । प्रकाशले एक सेकेण्डमा तीन लाख किलोमिटर दूरी पार गर्दछ अर्थात् पृथ्वीको साढे सात फन्को । एक वर्षमा प्रकाशले चौरानब्बे खर्ब साठी अर्ब असी करोड किलो मिटर दूरी पार गर्दछ । अब अनुमान गरौं कि बयानब्बे अर्ब वर्षमा कति दूरी पार गर्दछ होला ? आजको दिनमा यो ब्रह्माण्ड त्यति नै ठूलो छ । यो चेतनशील मान्छेको दिमागी कमाल हो । पत्ता लगाउने ।

४. मानव मस्तिष्क

मानव जातिले दुई ठूला रहस्यहरूको निरन्तर जवाफ खोजिरहेको छ । ब्रह्माण्ड कसरी बनेको हो र यसले कसरी काम गर्दछ, यसलाई बाहिरी अन्तरिक्ष भनिन्छ । मानव मस्तिष्क कसरी बनेको छ र यसले कसरी काम गर्दछ ? यसलाई भित्री अन्तरिक्ष भनिन्छ । संसारमा अनुसन्धानको क्षेत्रमा खर्च भएको रकमको सबैभन्दा धेरै हिस्सा यिनै दुईवटा शीर्षकले ओगट्दछन् ।

हाम्रो शरीरको मात्रै दुई प्रतिशत भाग ओगट्ने तर शरीरमा खपत हुने ऊर्जाको बीस प्रतिशत हिस्सा ओगट्ने मस्तिष्कबारे हामीले सही ढंगले जान्न जरुरी छ । हाम्रो मस्तिष्क कसरी बनेको छ र यसले कसरी काम गर्दछ ? हाम्रो मस्तिष्कमा एक खर्ब न्युरोनहरू र तीस खर्ब स्न्याप्सहरू हुन्छन् । मस्तिष्कको हरेक न्युरोनले कसरी काम गर्दछ भन्ने जान्नु जरुरी छ । मस्तिष्कको कुन भागले कुन भागलाई नियन्त्रण गर्दछ भन्ने जान्ने हो भने आधारभूत रूपमा हामी सही समझादारीमा पुग्ने छौं । रेप्टालियन दिमाग जसलाई पुरानो दिमाग पनि भनिन्छ, तीस प्रतिशत भाग ओगट्दछ भने म्यामेलियन दिमाग, अथवा न्युओकोर्टेक्स वा नयाँ दिमाग जसले सत्तरी प्रतिशत भाग ओगट्दछ । यही नयाँ दिमाग हो हाम्रो विचार, दर्शन, ज्ञान विज्ञानको कुरा गर्ने बौद्धिक क्षेत्र । हामी कसरी सोच्दछौँ भन्ने जान्न न्युओकोर्टेक्सले कसरी काम गर्दछ भन्ने जान्नु पर्दछ । यसले हजारौं वर्षदेखिको अस्तित्व र चिन्तनसम्बन्धी बहसको अन्त्य गर्नेछ । हामीले अरूका बारेमा जान्नुअघि आफ्नै दिमागले कसरी काम गर्दछ भन्ने जान्नु पर्दछ ।

४. क्वान्टम भौतिकी

बीसौं शताब्दीको सबैभन्दा ठूलो बौद्धिक क्रान्ति भनेर चिनिएको क्वान्टम भौतिकीबारे वैज्ञानिक जगतबाहेक खासै चर्चा हुने गरेको छैन । सापेक्षताको सिद्धान्त जसले स्थुल जगतको अध्ययन गर्दछ । कति ठूलो ? बयानब्बे अर्ब प्रकाश वर्ष टाढाको ब्रह्माण्डसम्मको अध्ययन गर्दछ । क्वान्टम भौतिकीले कति सानो भन्ने सूक्ष्म जगत्को अध्ययन गर्दछ । नानो प्रविधिको आधारमा । उपसर्ग नानोले अर्बौँ भागमध्ये एक भागको प्रतिनित्व गर्दछ । जस्तै नानोमिटर भनेको एक मिटरको एक अर्ब भागको एक भाग हो । नानोसेकेण्ड भनेको एक सेकेण्डको एक अर्ब भागको एक भाग हो । अब हामी अनुमान गर्न सक्छौं कि हाम्रो डिएनए साढे दुई नानो मिटर मात्रै छ । तुलना गरौं कि हाम्रो डिएनएभन्दा हामी त्यति ठूला छौं जति हामीभन्दा सूर्य ठूलो छ । हाम्रो पृथ्वीभन्दा १०० आठ गुणा ठूलो । हाम्रो कपाल पचास हजारदेखि १०० नानोमिटर हुन्छ रे । हाम्रो हातको नगं प्रति सेकेण्ड एक नानोमिटर बढ्छ रे ।

नानो ट्युब, नानो पार्टिकल, नानो संरचना, नानो औजार, नानो ग्राम आदि जसले हाम्रो सिंगो सोच्ने तरिका र जीवन पद्धतिलाई अकल्पनीय रूपमा बदलिरहेको छ । अहिलेको डिजिटल क्रान्तिको रहस्य भनेकै क्वान्टम क्रान्ति हो ।

अनुमान गरौँ कि अहिलेको सुपर कम्प्युटरभन्दा क्वान्टम कम्प्युटर एक अर्ब गुणा शक्तिशाली हुनेछ । नानो प्रविधिकै कारण कुनै दिन हाम्रो मस्तिष्कलाई इन्टरनेटमा जोड्न सकिनेछ । हामीले एक अर्काको दिमाग पढ्न सक्नेछौं । हिजोको कटुवालेको खबर, हुलाक, आकाशवाणी (आवा) खबर, जमिनी फोन, मोबाइल फोन, इन्टरनेट जडित कपडा र अन्तमा इन्टरनेट जडित मस्तिष्क ।

क्वान्टम भौतिकीले मुख्य गरी तीनवटा क्षेत्रमा क्रान्ति ल्याउँदैछ । एक, नानो प्रविधि, जसको व्याख्या माथि गरिसकिएको छ । दुई, जेनेटिक इञ्जिनियरिंग जसले साढे चार अर्बअघिको चाल्र्स डार्बिनको सिद्धान्तमा क्रमभंगता ल्याउँदैछ । अब मान्छे प्राकृतिक छनौटद्वारा होइन कि मान्छेको छनौटद्वारा तय गर्न सकिनेछ । जीन सम्पादनद्वारा । यसले अकल्पनीय परिणाम ल्याउनेछ ।

तीन, कृत्रिम बौद्धिकता । मान्छेभन्दा मेसिन बौद्धिक हुने अवस्था । त्यस्तो बौद्धिक मेसिन जसले आफैंलाई निरन्तर परिष्कृत र विकसित गरिरहनेछ । जब मान्छे यो ग्रहको सबैभन्दा बौद्धिक प्राणी रहनेछैन तब के होला ? यो आजको वैज्ञानिक जगत्मा हलचल ल्याइदिएको सवाल हो । कृत्रिम बौद्धिकता जान्नुअघि हामी फेरि मानवीय बौद्धिकतामै फर्कनु पर्दछ ।

क्वान्टम भौतिकीले आजको र सधैंको ज्वलन्त सवाल खाद्यान्नको बारे, ऊर्जाको बारे, हाम्रो आफ्नै भविष्यकोबारे बताउनेछ । अहिलेसम्म हामी खानाको लागि माटो र सूूर्यको प्रकाशमा भर परेका छौं । अब हामी ती दुईबिना पनि खानेकुरा तयार गर्न सकौंला ? अहिलेसम्म हामीले रोगको उपचार गरिरहेका छौं, अब हामी मृत्युको उपचार गर्न सकौंला ? अब हाम्रो विश्व दृष्टिकोणलाई ब्रह्माण्डीय दृष्टिकोण बनाउदैछौं । वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको चतुर दिमागको सफलताकोे कारण के होला भन्नेबारे अर्का वैज्ञानिक स्टेफन हकिंगले भनेका छन्, कल्पनाशीलता । हो, हामी सबैसँग कल्पनाशीलता हुन आवश्यक छ ।

हामी सबै लगभग आठ अर्ब मान्छेहरू असाधारण छौं । हामी सबैले कठोर निर्णय गर्नुपर्ने भएको छ । हामी जान्नेछौं र हामी बदल्नेछौं ।

ताजा अपडेट

नेपालवाच विशेष