NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

‘प्रदीप दाइको क्षेत्रबाट चुनाव लड्छु’

काठमाडौं । कांग्रेस, कम्युनिष्टसहितका सबै विचारधारा मान्नेले मान्ने समाजवादी चिन्तक एवं कांग्रेस नेता प्रदीप गिरीको निधन भएको पाँच दिन बितेको छ । समाजवादी चिन्तक, विचारक मात्रै नभएर पछाडि पारिएका वर्ग र समुदायको लागि खबरदारी गरिरहने नेता हुन् गिरी । गलत काम गर्दा आफैं सहभागी भएको कांग्रेसकै नेतालाईसमेत उनी आलोचना गर्न डराउँदैनथे ।

तर गिरीको निधनपछि उनले अघि बढाएका कार्यक्रम र अभियान के होला भन्ने भइरहेको छ । यही बेला नातामा बुहारी पर्ने सरिता गिरीले प्रदीप दाइको इच्छा भन्दै सद्भावना पार्टीबाट स्वतन्त्र भएको जनाएकी छिन् । साथै, गिरी सक्रिय हुँदै आएको सिरहाबाट चुनाव उठ्नेसहितका घोषणा गिरीले नेपालवाचसँग गरेकी छिन् ।

तपाईंले नेपाल सद्भावना पार्टी किन छोड्नुभयो ?

छोडेको भन्दा अलग हुँ । तर यो पार्टीको सम्मान राख्नुपर्छ । केही दिनमा म अझै व्याख्या गर्छु ।

प्रदीप दाइको इच्छा अनुसार सद्भावनाबाट स्वतन्त्र भएको भन्नुभएको छ । के भन्नुभएको थियो उहाँले ?

प्रदीप दाइसँग राजनीतिक कुरा हुन्थ्यो । राजनीति सम्हाल्न सरितालाई मेरो आशिर्वाद छ भन्नुभएको थियो । उहाँका अन्तिम दिनहरूमा पनि पनि सधैं जस्तो निकट भएर बसें । अस्पतालमा पनि दिन बिराएर दुई घण्टा दिनहुँ बसें । ४ गते उहाँको देहान्त भयो । आज भर्खर ८ गते भइसक्यो । म अत्यन्त तनावमा छु ।

तर पार्टी छोड्नुको कारणमा प्रदीप गिरीलाई उल्लेख गर्नुभयो नि ?

गजेन्द्रनारायण सिंहलाई पार्टी खोल्ने प्रेरणा दिने प्रदीप गिरी दाइ हो । गजेन्द्रबाबुहरू कुण्ठा लिएर बस्नुभएको थियो । आन्दोलन अघि बढाउने हो कि पार्टी खोल्ने भन्नेमा उहाँहरू हुनुहुन्थ्यो । तर प्रदीप दाइको प्रेरणामा गजेन्द्रबाबु १९९० मा सदभावना पार्टी खोल्न तयार हुनुभयो ।

आफू पहिलेदेखि नै लागेको पार्टीबाट स्वतन्त्र हुनु किन हुनुभयो त ?

सद्भावना पार्टी गठनमा प्रदीप दाइले प्रेरणा दिनुभयो । जुन कारणले सद्भावनाको जन्म भयो । आज धेरै कुरा भएको छ । अब गजेन्द्रबाबुले भने अनुसार मधेसका माग अधिकांश पूरा भएको छ । मधेसमा निर्वाचन क्षेत्र बढेको छ । नागरिकताको समस्यामा समस्या समाधान ढिलोचाँडो समाधान हुने बाटोमा पुगेको छ । भारतसँगको सम्बन्ध आफ्नो ठाउँमा छ । नयाँ नेताहरू जन्मिरहनुभएको छ । तर अझै मधेसको पूरा अधिकार पूरा भएको छैन ।

मेरो ससुराले राणाकालमा उनीहरूसँग लड्दै, लहानमा झण्डा गाडेर जमिन कब्जा गर्दै हिड्नुभयो । मिलेर सिरहाको बस्तीपुरमा कांग्रेसको गाउँ बनाउनुभयो । आज मधेसका समस्या समाधान हुने बाटोमा पुगेको र अरु केही नवीन काम गर्न बाँकी भएकोले म अब नयाँ अभियानका साथ अघि बढ्दैछु ।

भनेपछि चुनाव लड्ने गरी अगाडि बढ्ने हो अब ?

म प्रजातान्त्रिक मुभमेन्टबाट आएँ । यो स्टेजमा प्रदीप दाइको मृत्यु भयो । अब समाजवादको आधार तयार भयो । प्रदेश पनि स्वयत्त छ । प्रदीप दाइको समाजवादको सपना पूरा भएको छैन । त्यसैले नयाँ उर्जाका साथ अघि बढ्न खोजेकी हुँ ।

भनेपछि कांग्रेसबाटै चुनाव लड्ने तयारीमा हो तपाईं ?

म योपटक स्वतन्त्र रुपले चुनाव लड्छु । सद्भावनाको चुनाव चिन्ह लिन पनि लिन सक्छु । अरु दलको पनि चिन्ह लिन सक्छु । मधेसवाद, समाजवाद र डेमोक्रेसीे तीनवटा धारलाई फ्युजन गर्न नयाँ प्रयोग गर्छु । प्रदीप दाइ काँचुली फेर्न सक्नुपर्छ भन्नुहुन्थ्यो । अब म उदारवादी धारबाट अघि बढ्छु । उग्र राष्टवादको समस्याले मधेसलाई आज पनि थिचेको छ । जातीयसहितका समस्या पनि छन् । यी सबै समस्याबाट अब माथि उठ्नुपर्छ ।

भनेपछि सिरहा १ जहाँबाट प्रदीप गिरी चुनाव उठ्नुभएको थियो । त्यहीबाट तपाईं चुनाव उठ्ने तयारीमा लाग्नुभएको हो ?

हो म प्रदीप दाइकै चुनाव क्षेत्र सिरहा १ बाट निर्वाचन लड्छु ।

प्रदीप गिरीको इच्छा भन्दै सरिता गिरीले सद्भावना पार्टी त्याग्नुको कारण के ?

सरिता गिरीको खुलासा : प्रदीप दाइले भागौं भनेको दुई वर्षपछि उहाँकै भाइसँग विहे भयो