NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

‘नायकशैली’मा बालेन : दुई दिनमै गरे यी काम तमाम

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाह दुई दिनदेखि ‘एक्सन’मा उत्रिएका छन् ।

मंगलबार बिहानदेखि आफैँ कार्यक्षेत्रमा खटिएका बालेन रोकिएका छैनन् । बरु एकपछि अर्को एक्सन लिइरहेका छन् । बालेनको नजर यतिबेला नक्सा पास नगरी अनधिकृत रुपमा बनाएका टहरातिर छ । जहाँ एउटा काम गर्ने भनेर अर्कै काम गरेको पाइएको छ ।

बालेनले कामको सुरुवातस्वरुप मंगलबार बिहान नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा अन्य प्रयोजनका काम गरिराखेका पसल हटाउन लगाए ।

दोस्रो दिन आज बालेनले सुन्धारा, न्युरोड र दरबारमार्ग क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काए । जसको निसानामा काठमाडौं मल, आरबी कम्प्लेक्स र नबिल बैंकका अवैध संरचना परे । ती संरचना डोजर लगाएर भत्काइदिए ।

बालेनको नजर बबरमहल क्षेत्रका अनधिकृत रुपमा बनाइएको काठमाडौं जिल्ला अदालतको पार्किङमा पनि पर्यो । सो भवन जिल्ला अदालत काठमाडौंको हो ।

काठमाडौं मलको अवैध संरचनामा बुधबार डोजर चलाउने क्रममा मेयर बालेनले जिल्ला अदालतको अण्डरग्राउण्ड खाली गराउने अभिव्यक्ति दिए ।

‘कानुन सबैलाई बराबर हुन्छ उल्लंघन गरे अदालतमा पनि डोजर चल्छ,’ उनले यस्तो कडा अभिव्यक्ति दिएका थिए ।

यसलगत्तै मेयर बालेनले जिल्ला अदालतलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखे ।

बालेनले यो अभियान सुरु गरेको भने गत महिनादेखि नै हो । उनले थापाथलीस्थित नर्भिक अस्पतालका अवैध संरचना भत्काउन खोजे । तर, त्यसलाई सर्वोच्च अदालतले रोकिदियो । त्यसपछि बालेन केही समय फोहर व्यवस्थापनमा लागे ।

जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख नभेटिएकाले त्यसको विवरण पठाउन भनेर पत्र काटिएको महानगर स्रोतले जनाएको छ ।

बालेन आजै दरबारमार्ग पुगेका थिए । सो क्षेत्रमा सडकमै जथाभावी पार्किङ गरिएको पाइएपछि उनी त्यहाँ पुगेका हुन् ।

साथै, उनी आजै कोटेश्वर क्षेत्रको फुटपाथ र पार्किङको अनुगमनमा गए ।

उनकै निर्देशनअनुरुप कोटेश्वर क्षेत्रमा फुटपाथ ओगटेर व्यापार–व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूको सामान हटाउने, जफत गर्ने काम महानगर प्रहरीले गर्यो ।

बालेनले यो अभियान सुरु गरेको भने गत महिनादेखि नै हो । उनले थापाथलीस्थित नर्भिक अस्पतालका अवैध संरचना भत्काउन खोजे । तर, त्यसलाई सर्वोच्च अदालतले रोकिदियो । त्यसपछि बालेन केही समय फोहर व्यवस्थापनमा लागे ।

May be an image of 7 people and people standing

अहिले बालेनले अनधिकृत संरचना हटाउने दोस्रो इनिङ्स सुरु गरेका छन् । उनी नक्सा पासविपरीत बनाइएका संरचना हटाउन लागिपरेका छन् । उनी महानगरको टोली र प्रहरीसहित डोजर लिएर संरचना भत्काउन पुग्ने गरेका छन् ।

व्यापारीहरूले यसको विरोध गरिरहेका छन् । तर, बालेन पछि हटेका छैनन् । अवैध संरचनाका दोषी घरधनी भएको व्यापारी नभएको उनको भनाइ छ । व्यापारीहरूलाई आफूले मर्कामा नपार्ने उनले आश्वासन दिइरहेका छन् ।

३५ दिने सूचना जारी गर्दा पनि सो अवधिमा कुनै पनि किसिमको छलफल र सरसल्लाहका लागि कोही पनि सम्पर्कमा नआएकाले बाध्य भएर एक्सनमा उत्रनु परेको बालेनको भनाइ छ ।

‘हामीले एक्कासी अनधिकृत संरचना भत्काउन सुरु गरेका होइनौँ, ३५ दिने सूचना जारी गरेका थियौँ । तर सो अबधिमा कुनै पनि किसिमको छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनु भएको तितो अनुभव हामीसँग छ,’ उनले बुधबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनधिकृत संरचनाका भाडावालहरूलाई पर्न गएको असुविधाप्रति हामी दुख व्यक्त गर्दछौँ । साथै, त्यस्ता संरचना भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याएवापत् हुन सक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरूबाट क्षतिपूर्ति गराउने तर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउँन चाहन्छौँ ।’

दुई दिनमा बालेनले जे गरे त्यसको सर्वसाधारणले प्रशंसा गरिरहेका छन् । कतिपयले हिन्दी चलचित्र ‘नायक’लाई सम्झिरहेको पाइन्छ ।

‘नायक’मा शिवजी नामक टेलिभिजन पत्रकारको भूमिका निभाएका अनिल कपुरले मुख्यमन्त्रीलाई आफूलाई एक दिनको मुख्यमन्त्री बनाउन चुनौती दिन्छन् ।

सो चलचित्रमा ‘जनताको पक्षमा किन काम गर्नुहुन्न ? सुशासन दिन किन सक्नुभएन ? भन्ने प्रश्न पत्रकारले मुख्यमन्त्रीलाई गर्छन् । प्रश्नले मुख्यमन्त्री रिसाउँछन् । काम गर्न सजिलो नभएको जवाफ दिँदै उनले अनेक बाहानाबाजी गर्छन् । त्यसपछि पत्रकारले आफूलाई मुख्यमन्त्री बनाए गर्नसक्ने चुनौती दिन्छन् । मुख्यमन्त्रीले पनि राजी हुन्छन् । एक दिनको मुख्यमन्त्री भएका पत्रकारले एकै दिनमा धेरै परिवर्तन ल्याउँछन् ।

बालेनको अहिलेको कदमलाई कतिपयले यसै ‘नायक’ चलचित्रमा पत्रकारले खेलेको भूमिकासँग तुलना गरिरहेका छन् । किनकि, गैरराजनीतिक छवि भएका बालेनले स्वतन्त्र उठेर पनि अप्रत्यासित रुपमा काठमाडौंजस्तो ठूलो महानगरको मेयरमा जितेर सबैलाई चकित पारेका थिए ।

‘हिन्दी फिल्म नायक कति पटक हेर्नु भयो बालेनजी झल्को आइरा छ,’ विकास शाहीले लेखेका छन् ।

जिल्ला अदालतलाई महानगरको चेतावनी, ‘नक्सा पासको विवरण पठाऊ नत्र कारबाही हुन्छ’

ताजा अपडेट

नेपालवाच विशेष